वातावरणमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रकाशित मिति : २०७३ असोज २० बिहिबार , १,६८३ पटक हेरिएको
काठमाडौँ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलैना बी टेल्लिजबीच शिष्टाचार भेटवार्ता भएको छ । 
 
मन्त्रालयमा विहिबार भएको सो भेटमा दुवैबीच मन्त्रालयका कामका प्राथमिकता र वातावरण प्रदूषण नियन्त्रणका बारेमा कुराकानी भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । 
 
भेटमा मन्त्री जोशीले नेपालको विकास प्रयासमा अमेरिकी सहयोग तथा समर्थनका लागि नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा अमेरिकी सहयोगको निरन्तरता र वृद्धिका लागि आग्रहसमेत गरेका थिए । 
 
उक्त अवसरमा वातावरण संरक्षण र व्यवस्थापन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन, नवीकरणीय र वैकल्पिक ऊर्जा प्रवद्र्धन, जल तथा मौसम विज्ञान सम्बद्ध सेवा र जनसङ्ख्या व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको हुँदा अमेरिकालगायतका विकास साझेदारबाट यी क्षेत्रमा थप सहयोग हुने आशा राखे । 
 
सो अवसरमा अमेरिकी राजदूत टेप्लिजले नेपालको वातावरण प्रदूषण नियन्त्रणका लागि भएका पहलका बारेमा चासो राख्नुका साथै वातावरणीय प्रभाव मूल्याङ्कन र विकासका परियोजना सँगसँगै कसरी जान सक्छन् भन्ने जिज्ञासा राखे । 
 
उनले आगामी दिनमा अमेरिकी सरकारले वातावरण संरक्षण, जलवायू परिवर्तन व्यवस्थापन र जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा नेपाललाई अझ बढी सहयोग गर्ने आश्वासन दिनुभएको वातावरण सचिव विश्वनाथ ओलीले जानकारी दिए । रासस 

सम्बन्धित समाचार

नयाँ