arrow

परराष्ट्रमन्त्री डा.महत एसियाली मञ्चमा भाग लिन बैंकक प्रस्थान

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
prakash-saran-maht.jpg.jpeg
काठमाडौं। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने एसियाली सहयोग मञ्चको दोस्रो सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी शुक्रबार त्यसतर्फ प्रस्थान गरे।
 
यही अक्टोबार ८ देखि १० सम्म बैंककमा हुने सो सम्मेलनमा उक्त मञ्चका सदस्य रहेका ३४ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता हुने कार्यक्रम रहेको छ। 
 
नेपाल र टर्की सो मञ्चका नयाँ सदस्य राष्ट्र हुन्। यस वर्षको यो सम्मेलन दोस्रो हो। यसअघि यस मञ्चको पहिलो सम्मेलन सन् २०१२ मा कुवेतमा भएको थियो। 
 
यस दोस्रो सम्मेलनको नारा एक एसिया विविध शक्ति भन्ने रहेको छ। यस सम्मेलनमा खासगरी एसियाली देशहरुमा व्याप्त विविध समस्या र सम्भावनाका बारेमा एसियाका नेताहरुबीच व्यापक मात्रामा छलफल हुनेछ। 
 
एसियाको विकास र सहयोगका क्षेत्रहरुलाई समन्वयात्मक रुपमा अघि बढाई एसिलायी क्षेत्रमा सामुहिकताको विकास गर्ने उद्देश्य राखी स्थापित यस मञ्चको आसन्न सम्मेलनमा आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विविध क्षेत्रमा आवश्यक छलफल हुनेछ।
 
उक्त सम्मेलनलाई परराष्ट्रमन्त्री डा महतले सम्बोधन गर्दैछन्। आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले आफूले उक्त सम्मेलनमा एसियाका साझा समस्याका बारेमा कुरा उठाउने जानकारी दिए। 
 
एसियाका देशहरुलाई के कसरी सडक सञ्जालबाट जोड्न सकिन्छ र यस क्षेत्रमा देखा परिरहेका आतंकवादका साथै अन्य क्षेत्रीय समस्याको सामुहिक समाधानका बारेमा आफूले उक्त मञ्चमा कुरा राख्ने मन्त्री डा महतले बताए। 
 
सो मञ्चमा सम्बोधनका क्रममा आफूले जलवायु वरिवर्तनको असर, आर्थिक विकास, दिगो विकास, एसियाली देशमा आवश्यक सडक सञ्जालको विस्तारजस्ता विषयमा एसियाली राष्ट्रहरु आपसी सहयोग र समन्वयका साथ के कसरी अघि बढ्नसक्छन् भन्ने बारेमा कुरा राख्ने जानकारी पनि दिए।  
 
उनले सो मञ्चमा आगामी सोमबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। मन्त्री डा महत यही असोज २५ गत स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ