arrow

परराष्ट्रमन्त्री डा महतद्धारा नेपालको समृद्धिमा सघाउन विश्वमा रहेका नेपालीलाई आग्रह

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
prakash-saran-maht.jpg.jpeg
काठमाडौं। परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले शनिबार थाइल्याण्डको राजधानी बैंककमा नेपाली दूतावास, एनआरएनए थाइल्याण्ड र एआइटी नेपाली समाज थाइल्याडद्धारा आयोजित बडादशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गरे। 
 
विजयादशमी तथा दीपावलीको अवसर पारेर बैंककमा रहेका नेपाली नागरिकबीच शुभकामना आदानप्रदानस्वरुप सो कार्यक्रमको आयोजना गरिएको थियो। 
 
मन्त्री डा महत एसिया कोअपरेशन डाइलग, एसिडीको दोस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै शुक्रबार बैंकक पुगेका छन्। 
 
बैंककमा रहेका नेपालीहरुको ठूलो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले संसारमा रहेका नेपालीहरुले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको धारणा राखे। 
 
विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरे ।   
 
जुन देशमा रहेको भएपनि आफूलाई त्यो स्थानमा पुर्याउन आफ्नो मातृभूमिको योगदान र लगानी रहेकोतर्फ सोचेर आफ्नो भूमिका लागि केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्न उहाँले विश्वमा रहेका नेपालीलाई आग्रह गरे । 
 
नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक विकासको चरणमा अब अघि बढ्न लागेको बताउँदै मन्त्री डा महतले यो अभियानमा विश्व समुदायको सहयोग र सद्भाव रहेको र त्यसमा संसारमा रहेका नेपालीको पनि आ आफ्नो ठाउँबाट सक्रिय सहयोग आवश्यक रहेको बताए । 
 
संविधानमा देखिएका कतिपय असन्तुष्टिहरुलाई सम्बोधनको प्रक्रिया नेपालले सुरु गरिसकिएको जानकारी दिँदै मन्त्री डा महतले आगामी दिनमा राष्टिय सहमति र सहकार्यका साथ अघि बढ्न वातावरण सरकारले निर्माण गर्ने धारणा राखे। 
 
सो कार्यक्रममा एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्र प्रसाद ढकालले थाइल्याण्डमा रहेका नेपाली समुदायका तर्फबाट शुभकामना व्यक्त गरेका थिए। 
 
मन्त्री डा महतले आजै साँझ एसिडी सम्मेलनमा सहभागिताका लागि त्यहाँ गएका उक्त मञ्चका विदेशमन्त्रीहरुको रात्रिभोजसहितको बैठकलाई सम्बोधन गर्दै छन्।
 
उनले उक्त एसिडी सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेताका हैसियतमा सोमबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका विभिन्न सत्रहरु आइतबार बाट सुरु हुदैछन्।
 
उक्त मञ्चमा एसियाका ३४ देश सदस्य छन् । बैंककमा सुरु हुन लागेको यो सम्मेलन दोस्रो हो । यसअघि यसको पहिलो सम्मेलन सन् २०१२ मा कुबेतमा भएको थियो । 
 
उक्त सम्मेलनमा एसियाका ३४ देशका राष्टाध्यक्ष, सरकार प्रमुख तथा विदेशमन्त्रीहरुको सहभागिता रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ