arrow

चार वर्षे चक्रपथ आयोजना, तीन वर्षमा १२ प्रतिशतमात्र काम

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
chakrapath.jpeg
काठमाडौं । अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ ।
 
काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ । 
 
२२ पुस ०६९ मा सम्झौता भएर २१ भदौ ०७० देखि सडक निर्माण सुरु भएको थियो । चार वर्षमा निर्माण सकेर सडक विभागलाई हस्तान्तरण गर्ने सम्झौता छ । 
 
तर, ठेकेदार कम्पनीले काम सुरु गरेको ३६ महिना बित्दा जम्मा १२ प्रतिशत मात्रै काम भएको छ ।
 
‘कोटेश्वर–कलंकी सडक निर्माण सन् २०१३ देखि सुरु भएको हो । सन् २०१७ सम्ममा काम सक्नुपर्ने हो,’ आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले भने, ‘यस अवधिमा पुल निर्माण गरिएका छन् । 
 
सडकको दायाँ–बायाँ खाल्डा खनिएका छन् । केही ठाउँमा पेटी निर्माण भएका छन् । सबै गरी १० देखि १२ प्रतिशत काम सकियो होला ।’
 
सडक निर्माणले निरन्तर गति लिएको आयोजनाले जनाएको छ । ‘सडक निर्माण निरन्तर अघि बढेको छ । कुनै ढिलाइ भएको छैन,’ आयोजना प्रमुख झाले भने, ‘पहिले भूकम्प र नाकाबन्दीले समस्या थियो ।
 
 इन्धनको अभाव थियो । अहिले ठेकेदार कम्पनीले काम गरिरहेको छ । ठेकदार कम्पनीसँग कुनै गुनासो छैन ।’
 
 
सेवाग्राही र आसपासका बासिन्दालाई सास्ती
 
कोटेश्वर–कलंकी सडक समयमा निर्माण नहुँदा सडक उपभोक्ताले सास्ती भोग्नुपरेको छ । सडकमा घन्टौँ सवारी जाम हुने गर्छ । 
 
निर्माणाधीन सडकबाट धुलो उड्दा आसपासका बासिन्दा पनि समस्यामा परेका छन् । धुलोले पैदलयात्री चर्को मारमा परेका छन् । 
सडकको दायाँ–बायाँ खनिएका खाल्डा तथा झाडीले सो खण्ड अस्तव्यस्त बनेको छ ।
 
सडक निर्माणमा प्राविधिकसहित १५० चिनियाँ कामदार
 
कोटेश्वर–कलंकीको १०।३९६ किमि सडकखण्ड निर्माण गर्न चीन सरकारले चार अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । निर्माणको ठेक्का पनि चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्सट्रक्सन ग्रुपले पाएको छ ।
 
 सडक निर्माणमा अहिले इन्जिनियर, सबइन्जिनियरसहित एक सय ५० चिनियाँ कामदार खटिएका छन् । सडक विभागका अनुसार चिनियाँ कम्पनी हेनेन प्रोभिन्सिय कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनी लिमिटेडले पूरा चक्रपथ निर्माणको सर्भेपछि नक्सा बनाएको हो । 
 
कम्पनीका तर्फबाट सर्भे टोलीको नेतृत्व चिनियाँ नागरिक डु जुनहाङले गरेका हुन् ।
 
पिच गर्न खनिएको खाल्डोमा घाँस उम्रियो
 
भूकम्प र नाकाबन्दी बाधक
चक्रपथ सुधार आयोजनाले १२ वैशाख ०७२ को भूकम्प र त्यसलगत्तैको भारतीय नाकाबन्दीका कारण सडक निर्माणमा ढिलाइ भएको जनाएको छ । 
 
भूकम्पपछि सडक निर्माणमा खटिएका चिनियाँ प्राविधिक तथा कामदार स्वदेश फर्किएका थिए । उनीहरू नआउँदा पाँच महिनासम्म निर्माण ठप्प बन्यो ।
 
कामदार आएपछि ०७२ भदौबाट सडक निर्माणले पुनः गति लिएको थियो । तर, असोजबाट भारतको नाकाबन्दी भएपछि इन्धन अभावले ६ महिना काम रोकिएको थियो ।
 
 आयोजना प्रमुख झाले भने, ‘भूकम्पका कारण रोकिएको निर्माण इन्धन अभावले थप रोकियो । अहिले कुनै समस्या छैन, काम सुचारु छ ।’
 
डेढ वर्ष समय थपियो
 
कोटेश्वर–कलंकी सडक निर्माण २१ पुस ०७३ मा सकेर हस्तान्तरण गर्नुपर्ने थियो । तर, भूकम्प तथा नाकाबन्दीलगायतका समस्याले निर्माणमा अवरोध भएकाले अब डेढ वर्ष समय थप गरिएको आयोजनाले जनाएको छ । 
 
अब ठेकेदार कम्पनीले १ जुलाई २०१८ मा सडक निर्माण सक्नुपर्नेछ । आयोजना प्रमुख झाले भने, ‘निर्धारित समयमा काम नसकिने भयो । 
 
ठेकेदार कम्पनीले डेढ वर्षको समय माग्यो, आयोजनाले समय दिएको छ ।’
 
यस्तो बन्दै छ सडक
चक्रपथ सुधार आयोजनाका अनुसार सडकको मध्यभागमा चार लेनको सडक निर्माण गरिनेछ । प्रत्येक लेनको लम्बाइ ३।५ मिटर हुनेछ । 
 
दुवैतर्फ सवारीसाधन गुड्न मिल्ने गरी बनाइने यसको बीच भागमा १।५ मिटर लम्बाइको डिभाइडर राखिनेछ । सडकमा यो मुख्य भाग रहनेछ । यस भागमा प्रतिघन्टा ५० किलोमिटरको गतिमा सवारीसाधन हाँक्न सकिने भनिएको छ ।
 
मुख्य सडकको दायाँ–बायाँ दुई–दुई लेन सडक निर्माण गरिनेछ । 
 
प्रत्येक लेन ३।५ मिटरको हुनेछ । ‘सर्भिस’ नाम दिइएको यस खण्डमा विशेषगरी भाडाका सार्वजनिक सवारीसाधन चल्नेछन् । यस खण्डमा भने प्रतिघन्टा २० किलोमिटरको गतिमा सवारी हाँक्न सकिने भनिएको छ ।
 
नक्साअनुसार मुख्य सडकको दायाँ–बायाँ १।५–१।५ मिटरको बगैँचा पनि बनाइनेछ । ‘सर्भिस’ सडकको दुवैतर्फ ‘साइकल ट्र्याक’ निर्माण गरिनेछ ।
 
 दुवैतर्फको ‘साइकल ट्र्याक’ १।५–१।५ मिटरको हुनेछ । त्यसपछि सर्वसाधारण हिँड्न मिल्ने फुटपाथ निर्माण गरिनेछ । फुटपाथ दुवैतर्फ २।५–२।५ मिटरको हुनेछ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ