arrow

हिन्दू महासम्मेलन : माग्दै नमागी आयोजक भन्छन्– सरकारले सुरक्षा दिन मानेन

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
Bishwo-Hindu-Mahasangh.jpeg
काठमाडौं । बिहीबारदेखि राजधानीमा आयोजना हुन लागेको विराट हिन्दू महासम्मेलनको आयोजकले सरकारबाट नै आफूहरुलाई सुरक्षा थ्रेट रहेको दाबी गरेको छ । विश्व हिन्दू महासंघ अन्तराष्ट्रियको आयोजनामा हुन लागिरहेको महासम्मेलन काठमाडौंमा गर्दा पर्याप्त सुरक्षा दिन सरकारले अस्वीकार गरेको पनि आयोजक समितिले जनाएको छ । तर, कुनैपनि सरकारी सुरक्षा निकायमा सम्पर्क गर्दा आयोजकले सुरक्षाको माग नै नगरेको स्पष्ट भएको छ । 
 
आयोजकका अनुसार सरकारले उक्त सम्मेलनमा पर्याप्त सुरक्षा दिन नसकिने भन्दै महासम्मेलन आयोजन नगर्न आयोजकलाई आग्रह समेत गरेको थियो । तर, सरकारले पर्याप्त सुरक्षा नदिएपनि आफूले आँटेको कार्यक्रम स्थगित गर्न नसकिने जनाउन दिएको थियो । 
 
सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंको बनकालीमा उद्घाटन गर्दैछन् । नेपाललाई सनातन हिन्दूराज्य स्थापनाको माग गर्दै आयोृजना गर्न लागिएको उक्त महासम्मेलनबाट नेपालमा पछिल्लो समय बढ्दै गएको जवर्जस्ती धर्म परिवर्तनको समस्या कसरी हल गर्नैृ भन्ने विषयमा पनि उपस्थितहरूको सुझाव संकलन गरिने आयोजक समितिका संयोजक भरत केशर सिंहले जानकारी दिए । 
 
उनले सरकारले पर्याप्त सुरक्षा दिन नसक्ने जनाउ दिएका कारण विदेशबाट आउने प्रतिनिधिहरू समेत निराश भएको भन्दै ९० प्रतिशत भन्दा बढी ओमकार परिवार रहेको मुलुकमा सरकारले हिन्दूहरु प्रति देखाएको अपमानको सरकारले कुनै समयमा ठूलो मूल्य चुकाउनुपर्ने दाबी पनि गरे । 
राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति रहँदा रहँदै पूर्वराजालाई कार्यक्रमको उद्घाटन किन गराईँदै छ ? भन्ने प्रश्नमा सिंहले भने हिन्दू धर्मशास्त्रमा राष्ट्रपतिको कुरा काहिँपनि रहेको छैन । हिन्दूधर्ममा राजाको कुरालाई मात्रै उल्लेख गरिएको छ । ‘त्यसैले हामीले राजालाई नै यसमा उद्घाटनको लागि ल्याएका हौं ।’ उनले भने । यो राजनीतिक कार्यक्रम नभएकोले राजसंस्था ढल्दैमा राजाको महत्व घट्यो भन्न नसकिने संयोजक सिंहको भनाई थियो ।    
 
तर, महानगरीय प्रहरी परिसरका प्रमुख विक्रम सिह थापाले प्रहरी सुरक्षा दिनको लागि बसेको भन्दै प्रक्रियागत ढंगले सुरक्षा माग गरेको खण्डमा प्रहरी जुनसुकै ढंगको सुरक्षा दिन पनि तयार रहेको बताए । उनले यस विषयमा आफूहरूलाई अहिलेसम्म पनि कुनै जानकारी नरहेको पनि स्पष्ट पारे । 
 
त्यस्तै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले सुरक्षाको पाटोमा कसैलाई पनि सुरक्षा नदिने कुरा नै नआउने बताएका छन् । कसैले पनि कार्यक्रम गर्न लागेको छ र प्रक्रियागत ढंगले सरकारसँग सुरक्षाको माग गरेको छ भने सुरक्षा नदिने कुरै नहुने स्पष्ट पारे । तर, उक्त कार्यक्रमको विषयमा जिल्लामा कुनैपनि सुरक्षाको माग गरेर पत्र आएको आफूले थाहा नपाएको पनि सुवेदीले स्पष्ट पारे । 
 
२०४४ सालमा स्थापना भएको महासंघले अहिले तेस्रो पटक महासम्मेलन गर्दैछ । माओबादी सशस्त्र द्वन्द्वको समयमा माओबादीबाट असुरक्षित महसुश गरेर महासम्मेलन गर्न नसकेको बताउने महासंघले यस पटक सरकारबाट समेत सुरक्षा थ्रेट रहेको भएपनि महासम्मेलन गर्न खोजिएको जनाएको छ । 
 
महासम्मेलनमा भारत लगायत १ दर्जन भन्दा बढी मुलुकबाट प्रतिनिधिहरू आउन लागिरहेका छन् । यसरी विभिन्न मुलुकहरूबाट आउने पाहुनाहरूलाई राजधानीको विभिन्न होटलहरूमा बस्ने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ