arrow

स्वास्थ्य मन्त्रालयले भन्यो–डेंगुबाट सतर्क रहनुस्, त्रसित नहुनुस्

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
health-ministry.jpeg
काठमाडौं । विभिन्न १३ जिल्लामा डेंगु प्रभावितहरुको संख्या बढ्दै गएकाले सतर्क हुन तर, त्रसित नहुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
 
मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भिम आचार्यले आईतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिए । 
 
आचार्यका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको संख्या १०० पुगेको छ । यो संख्या अझै बढ्ने देखिएपनि त्रसित हुन भने नपर्ने उनले बताए । 
 
ज्वरो आउने र शरिर सिथिल भएमा तत्काल अस्पताल जान समेत उहाँले सवैलाई आह्वान गर्नु भएको छ । उनले लामुखट्टेको टोकाईबाट सर्ने रोग भएकाले घर वरीपरी लामखुट्टे नआउने वातावरण बनाउन र टोकाईबाट बच्न आग्रह गरे । 
 
झापा, चितवन लगायतका केही जिल्लामा डेंगुको संक्रमण पुष्टी हुनासाथ स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा डेंगुविरुद्धको विशेष अभियान चलाइएको छ ।
 
महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा ३, काठमाडौं, रुपन्देही र कैलालीमा २, २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ्ग, काभ्रे, कास्की, स्याङ्गजा, बाग्लुङ्ग, बारा र सप्तरीमा एक–एक जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । यो संख्या अझ बढ्न सक्ने भएकाले सतर्क हुन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।
 
डेंगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सवै ठाउमा आवश्यक किट, औषधी लगायतका उपचार सामग्री सहित चिकित्सकहरुको टोली खटाइएको डा. आचार्यले जानकारी दिए । झापाको दमक नगरपालिकासहित तोपगाछी र लखनपुर गाविसमा प्रभावितहरु भेटिएका छन् ।
मन्त्रालयले काठमाडौंबाट डा.यदुचन्द्र घिमिरे र ल्याव टेक्निसियन डबल बहादुर विसिको टोलीलाई प्रभावित ठाउमा यसअघि नै पठाइएकोमा मंगलबार किट विशेषज्ञ प्रमोद मेहतालाई पनि पठाउने भएको छ ।
 
मन्त्रालयबाट गएको टोली, जिल्ला जनस्वास्वास्थ्य कार्यालयको टोली, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली खटिएको ठाउँमा एक दुई दिनपछि विश्व स्वास्थ्य संगठनका विशेषलाई पनि पठाउने तयारी भएको छ ।
 
महाशाखाका निर्देशक डा.आचार्यले सोमबार संगठनका नेपाल प्रतिनिधिलाई भेटेर विशेषज्ञ र किट सहयोगका लागि आग्रह गरेकोमा उनी तयार भएको आचार्यले बताए । उनले प्रभावितहरुको संख्या निकै बढेको खण्डमा सुरक्षा निकायसँग समेत सहयोग माग्न सकिने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ