arrow

काँग्रेसलाई मनाउन संसद बैठक दुई साता स्थगित

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
samsad-baithak.jpeg
काठमाडौं । व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबारदेखि सुरु भए पनि त्यसलाई १५ दिनसम्म पर धकेलिएको छ ।  
 
छलफलमा बोल्न धेरै सांसदले नाम लेखाए पनि सभामुखले २५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेकी हुन् । तर, सभामुख ओनसरी घर्तीमगर एक्लैले यति लामोसमयसम्म बैठक सार्ने निर्णय भने लिएकी होइनन् । 
 
प्रमुख दलहरूकै सुझावमा सभामुखले बैठक पर सारेकी हुन् । नजिकिँदै गरेको तिहार, छठ पर्वलगायत कारण देखाउँदै संसद् बैठक १५ दिनपछि बोलाइएको हो ।
 
 तर, सत्तारूढ दल कांग्रेससँग सहमति नभएका कारण संसद् बैठक लामो समयलाई स्थगित गरिएको हो ।
 
 संसद्को सबैभन्दा ठूला दल कांग्रेसले महाअभियोगको विषयमा आफ्नो निर्णय गर्न समय लगाएपछि संसदमा महाअभियोगको छलफल पनि सरेको नेताहरूले बताएका छन् । 
 
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चाडबाड पनि परेको र दलहरूबीच सहमति जुटाउन पनि समय आवश्यक परेकाले बैठक पर सारेको जानकारी दिए ।
 
नेताहरूले दलीय सहमित जुटाउन बैठक लामो समयसम्म स्थगित गरेको बताए पनि स्रोतका अनुसार कांग्रेसले लोकमान नियुक्तिको विषयमा अदालतमा विचाराधीन रहेको र संसद्मा महाअभियोग निष्कर्षमा पुग्नुभन्दा पहिला नै सर्वोच्चको फैसला आओस् भन्ने चाहेको छ । 
 
त्यसैले, कांग्रेसले यो विषयलाई लम्ब्याउन खोजेको हो । तर, महाअभियोग र सर्वोच्चको मुद्दा अन्तरसम्बन्धित छैनन् । 
 
मुद्दा योग्यताको विषयमा छ भने महाअभियोग कार्कीले प्रमुख आयुक्त भएपछि कानुनी शासनलाई चुनौती दिँदै गरेका कामसँग सम्बन्धित छ । 
 
यसबीचमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेले महाअभियोग पारित गराउन कांग्रेसलाई मनाउने पहल गर्ने बताएका छन् ।
 
कांग्रेसले अझै निर्णय लिन नसके पनि महाअभियोगको पक्षमा उभिने तीव्र दबाब परेको छ । मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पनि अधिकांश नेताले महाअभियोगकौ पक्षमा धारणा राखेका थिए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ