arrow

धुर्मुस–सुन्तली बस्ती हस्तान्तरण कागतिहारका दिनमा

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
dhurmus-suntali.jpg.jpeg
मेलम्ची । सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई शुक्रबार सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । 
 
काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् । 
 
एकीकृत नमुना बस्ती विस्तारबाट देश विकास हुने भएकाले क्लिन सिटी र ग्रिन सिटीको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री सहितको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो । 
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको थियो । 
 
आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित विपन्न वर्गको चयन गरेर ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरिएको हो । 
 
पैँसठ्ठी घरधुरीका एक एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयंसेवक गरी सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको हो । 
 
हेलम्बु राजमार्ग अन्तर्गतको सिन्धुखोलाबाट करिब छ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । 
 
नमुना बस्तीमा खानेपानीका लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब आठ सय मि गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउने समेत व्यवस्था मिलाइएको छ । 
 
एकीकृत नमुना बस्ती निर्माण सरकारलाई सघाउने अभियान भएको कट्टेलले बताए । 
 
विभिन्न डाँडाकाँडामा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने कट्टेलको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ