चरिकोट । दोलखामा रेबिजले एकै परिवारका तीन जनाको मृत्यु हुँदासमेत रेबिज रोकथामका लागि सरकारले कुनै पहल नै गर्न सकेको छैन ।
दोलखा सुनखानी गाउँविकास समिति वडा नम्बर ३ मलेपुमा गत बैशाखदेखि अहिलेसम्म माझी परिवारका तीन जनाको निधन भइसकेको छ ।
त्यहाँ रेबिज भयावह भइसकेको भन्दै स्थानीय वासिन्दा चिन्तित बनेका छन् ।
यसको उपचारसमेत महङ्गो हुने भएपछि संक्रमणको परीक्षणसमेत नहुँदा मलेपुका वासिन्दा त्रसित बनेका छन् ।
सबैभन्दा नजिकको उपस्वास्थ्य चौकी सुनखानीले तत्काल थाहा पाए पनि थप पहल गर्न सकेन ।
अनुसन्धानका लागि काठमाडौंबाट अनुसन्धानकर्ता गए पनि संक्रमण नदेखिएसम्म कुनै इन्जेक्सन दिनु राम्रो नभएको भन्दै फर्किएका थिए ।
कुकुरले टोकेको लामो समयसम्म केही भएन भने इन्जेक्सन लगाउनु नपर्ने भनी ती अनुसन्धानकर्ताले भनेपछि मृतक ढालबहादुर माझी फर्किएका थिए ।
तर उनको गत कार्तिक ६ गते निधन भयो ।
त्यसअघि गत बैशाख ६ गते सुकवीर माझीको मृत्यु भएको थियो । त्यसैगरी सुकदेवकी छोरी गंगाको साउन १७ गते मृत्यु भएको थियो ।
गंगाको गाउँमै मृत्यु भएकाले उनको कतै रिपोर्टसमेत नभएको गाउँलेले बताएका छन् ।
अहिले सो गाउँमा संक्रमण देखिएको छैन । तर संक्रमण नदेखिए पनि रेबिज हुने सम्भावना भने बढी छ ।
संक्रमितसंग लसपस हुँदा पनि उनीहरुमा संक्रमण हुने भएकाले यसको स्थिति भयावह हुने देखिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयसलेसमेत खासै चासो देखाउन सकेको छैन ।
सो गाउँमा गत बैशाखमा ५ वटा कुकुर मारिसकिएको छ । तर ती मारेका कुकुरलाई तामाकोशी नजिकै खोलामा बगाइएको थियो ।
त्यसपछि कुकुर बौलाउने त भएको छैन तर पशुचौपाया पनि मरेकाले स्थिति साम्य अवश्य भएको छैन ।
स्थानियले भने सरकारले नै यसलाई गम्भीर रुपले हेरिदिए हुन्थ्यो भनी अनुनय विनय गरिरहेका छन् ।
स्थानियले स्वास्थ्य मन्त्रालयलाई विशेष टोली पठाएर शिविर संचालन गर्नसमेत आग्रह गरेका छन् ।