arrow

दिल्लीमा तीनबुँदे प्रस्तावको अन्तरकथा र श्रीश्री रविशंकरदेखि सुष्मा स्वराजसम्म

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
KamalThapa_india_visit.jpg.jpeg
काठमाडौं । नयाँ पत्रिकामा पर्शुराम काफ्लेको दिल्ली डायरी यसरी प्रकाशन भएको छ । 
 
१५ मंसिर : कमल थापा र रविशंकर बेंग्लोरदेखि दिल्लीसम्म 
प्रचार–प्रसारका साथ सुरु भएको दिल्ली भ्रमण अघिल्लोपटक असफल भएपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसपालि निजी भ्रमण भन्दै भारततिर लागेका थिए । उनी पहिले बेंग्लोर गए, जहााबाट आफ्ना गुरु श्रीश्री रविशंकरलाई साथै लिएर नयाँदिल्ली फर्किए । जहाजमै उनी भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमसँग दुई घन्टा गफिएका थिए । थापा इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएपछि कफी पसलमा रविशंकरसँग आधा घन्टा बिताए । थापाले भोलिपल्ट भारतीय समकक्षी सुष्मा स्वराजलाई भेट्ने तय भइसकेको थियो । तर, उनी सकेसम्म मोदीलाई नै भेट्न चाहन्थे । ६ वर्षअघि थापाले श्रीश्री रविशंकरकै सूत्र लगाएर मोदीलाई गुजरात पुगेर भेटेका थिए । त्यसवेला मोदीलाई भेट्न थापाले आफ्नो बायोडाटासमेत पठाएका थिए । यसपालि पनि भेट्ने आशामा थापाले अप्ठ्यारो मान्दै भने, ‘नेपालको उपप्रधानमन्त्री थापा दिल्लीमा छ, भेट्दा हुन्छ भनेर कुरा राख्नुस् । भेटौँ न त भन्नुभयो भने मलाई खबर गर्नुस् ।’ रविशंकरले भोलिपल्ट मोदीलाई भेटे । तर, थापालाई भने समय दिएनन् । दिल्ली फर्केको साँझ नेपाली दूतावासमा नेपालका हितैषी मानिने सीताराम येँचुरी, विजय जोली, डी राजा, पवन बर्मालगायतका सांसद र भाजपाका केही नेतासहितको जमघट भयो । त्यो जमघटमा थापाले नाकाबन्दी भारतबाटै भएकोमा आफू कहीँ–कतै द्विविधामा नभएको भनिरहँदा भाजपाका नेताहरूसँग भनाभन भयो । थापाको जवाफ थियो, ‘रोटी–बेटीको सम्बन्ध भन्ने, नाकाबन्दी लगाउने ? यो मिल्दैन ।’ 
 
१६ मंसिर : सुष्मा स्वराजसाग एकै दिन दुई वार्ता, पहिलो भने तनावपूर्ण 
दिउँसो १ देखि २ बजेसम्म दुई परराष्ट्रमन्त्रीबीच भेट भयो । भारतीय विदेशमन्त्री स्वराजको प्रस्तुति सहज थिएन । उनले भातविरोधी भावना फैलिएको, भारतमाथि धम्की दिइएको भन्दै नेपालले चाहिँदैन भनेमा भारतमा रोकिएका ११ हजार गाडी फर्काइदिने कुरा गरिन् । उनले भारतसँग सम्बन्ध चााहेको छ कि छैन भनेर प्रश्न गरेर नेपालले चाँडै यसको जवाफ दिनुपर्ने भन्दा नेपाली पक्ष छक्क पर्‍यो । तर, भारतीय नेतासँगको कुराकानीका क्रममा थापाले मधेसी दलहरूका माग पूरा गर्ने तीनबुँदे ‘रोडम्याप’ बताए । वीरगन्जबाहेकका नाका खोलिदिन पनि आग्रह गरे । स्वराजको रेडिमेड जवाफ थियो, ‘पहिला आन्तरिक मामिला सुल्झाउनुस्, त्यतैबाट सबै समाधान हुन्छ, हामीले गरेकै केही छैन ।’ स्वराजसँग तीनबुँदे प्रस्ताव सेयर गरेर नेपाली टोली फर्कियो । त्यही दिन साँझ ६ बजे प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटमा थापाले स्वराजलाई दिएकै तीनबुँदे प्रस्ताव सेयर गरे । संवादमा ‘टर्निङ प्वाइन्ट’ यही थियो । सो भेटपछि साँझ ८ बजेको जहाजमा काठमाडौं जान थापा होटेल ली मेरिडियनबाट एयरपोर्टतिर जाँदै थिए । डोभालको फोन आयो, ‘आज एक रात बसिदिनुस् ।’ थापा एयरपोर्टबाट सोझै बाह्रखम्बारोडस्थित दूतावास फर्किए । त्यहीँ रात्रिभोज गरे । दूतावास पुगेका नयाा पत्रिका संवाददातासँग थापाले यत्ति भने, ‘जहाज छुटेछ, त्यसकारण बस्नुपर्‍यो भनेर लेखिदिनुस् न ।’ तर, डिनर लिइरहँदा उनलाई स्वराजको फोन आयो, प्रतीक्षा त्यसैको थियो । थापाले निकटस्थलाई सुनाए, ‘सुष्माजीसँग राम्रो कुराकानी भयो । थप कुराकानी भोलि हुनेछ, यसले जारी संकट समाधान हुने विश्वास बढेको छ ।’
 
१७ मंसिर : तीनबुादे प्रस्तावले दिल्ली शान्त, मधेसी अशान्त
प्रधानमन्त्री मोदीसँग भेट भएन । तर, बिहान स्वराजको निवासमै पुगेर उपप्रधानमन्त्री थापाले कुराकानी गरे । त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज सम्भवत: आश्वस्त भइन् । मोर्चाका शीर्ष नेतालाई बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले दियो । त्यही बिहान थापा काठमाडौं फर्किए । जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो, नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने थापाले अगाडि नै भारतीय मिडियामार्फत सार्वजनिक गरिदिए । सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए । उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब दिने रणनीतिमा लाग्यो । 
 
१८ मंसिर : बालुवाटारको बैठक बहिष्कार, लैनचौरमा सहभागी 
मधेसी मोर्चाका शीर्ष नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादव १८ मंसिरमा बालुवाटार वार्ता छाडेर भारतीय दूतावास लैनचौर गएपछि दिल्ली दौडको तारतम्य बन्यो । १९ मंसिरको साँझ अबेरसम्म बालुवाटारमा बैठक बोलाइएको थियो, तर दिल्ली जाने मुड बनाएका नेताले बालुवाटारप्रति चासो दिएनन् । तीन दलका नेता बालुवाटारमा पर्खिए र फर्किए । 
 
२० मंसिर : नाकाबन्दी कसले लगायो ? भारतीयसँग नेपालीको बहस 
महन्थ ठाकुर र उपेन्द्र यादव बिहान नयाँदिल्ली ओर्लिए । इन्दिरा गान्धी विमानस्थलमा नेताद्वयलाई विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरले स्वागत गरे । होटेल ताजमा माला लगाइदिएर उनीहरूलाई सातौँ तलामा बस्ने बन्दोबस्त मिलाइयो । सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र यादव १९ मंसिरकै राति पटनाबाट दिल्ली आइसकेका थिए । भारतको माथिल्लो सदन राज्यसभामा भोलिपल्ट २१ मंसिरमा नेपालबारे बहस हुँदै थियो । २० मंसिरमा भारत सरकारको समन्वयमा मधेसी शीर्ष नेताको दौड तीनै सांसदहरूसँग भयो जसले भोलिपल्ट नाकाबन्दीविरुद्ध भारत सरकारको चर्को आलोचना गर्दै थिए । नाकाबन्दी भारतले होइन, मधेसीले लगाएका हुन् भन्ने सन्देश दिने प्रयत्न थियो, तर भारतीय सभासद्हरू प्रभावित भएनन् । जेडियू महासचिव त्यागीले मधेसी मोर्चाको ब्रिफिङ सुन्नासाथ एमाओवादी अध्यक्ष प्रचण्डलाई फोन गरे । प्रचण्डले जेडियू अध्यक्ष यादवलाई फोन गरेर नाकाबन्दी भारतले नै लगाएको बताए । 
 
२१  मंसिर : कमल थापा र रविशंकर बेंग्लोरदेखि दिल्लीसम्म 
मधेसी मोर्चा अघि सरे पनि राज्यसभाको बहस प्रभावित भएन । कंग्रेसका मणिशंकर ऐयर, राष्ट्रवादी कंग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका पवन बर्माले भूकम्पपीडित नेपालमा मानवीय संकट निर्यात गरेको भनेर भारतीय संस्थापनको कडा आलोचना गरे । कंग्रेसका मणिशंकर ऐयरले त यतिसम्म भने, ‘नाकाबन्दी भारतले होइन, मोदी सरकारले गरेको हो ।’ आन्तरिक राजनीतिमा हस्तक्षेप भएको, सरकार विदेश मामिला सञ्चालनमा असफल भएको चर्को आवाज संसद्मा आयो । विदेशमन्त्री स्वराजको जवाफ रक्षात्मक बन्यो । फाइल:तस्वीर 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ