arrow

लोकमानलाई महाअभियोग नलागे नेपालमा राजनीति नगरे हुन्छ –धनराज गुरुङ्ग

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
dhanaraj-gurung.jpeg
काठमाडौं । नेपाली काँग्रेसका सांसद धनराज गुरुङ्गले अख्यिार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग नलगाउने हो भने नेपालमा राजनीति नगरे पनि हुने बताएका छन् । 
 
हाम्राकुरासंगको कुराकानीमा सांसद गुरुङ्गले राजनीति गर्ने जनताको सेवा गर्न भए पनि जनहित विरुद्धमा उभिएका मान्छे लोकमानलाई बचाएर राजनीति गर्न सम्भव नहुनेसमेत बताए । 
 
नेता गुरुङ्गले लोकमानलाई महाअभियोग लगाउनबाट चुक्ने हो भने काँग्रेस, एमाले र माओवादी केन्द्रप्रति जनताको विश्वाससमेत गुम्ने चेतावनी दिए । 
 
अख्तियार प्रमुख कार्कीका विषयमा गरिएको कुराकानीको थप अंश–
 
नेपाली काँग्रेसले अहिलेसम्म लोकमानको महाअभियोगका सन्दर्भमा कुनै टुंगो नलगाउनुको कारण के होला ? 
–काँग्रेस संसदीय दलको बैठक बसेर टुंगो लगाउने भनेकाले ढिलाइ भएको हो । त्यो बैठक डाक्ने अधिकार दलको नेताको हो । उहाँले छिट्टै डाकेर माननीयहरुको राय लिएर निर्णयमा पुग्नुहुन्छ भन्ने लाग्छ । त्यो टुंगो पनि महाअभियोग लगाउनु पर्छ भन्नेमै हुन्छ भन्नेमा म विश्वस्त छु । 
 
संसदीय दलको बैठक बस्न ढिलाइ भएन र ? 
-पक्कै पनि ढिलाइ भयो । तर संसदीय दलका नेताको कार्यव्यस्तता नै मूल कारण हो । अहिले तीन दलको बैठक पनि चलिरहेकाले गर्दा व्यस्त हुनु स्वभाविकै हो । 
 
तीन दलको बैठकमा के हुन्छ भन्नुभन्दा काँग्रेस के गर्छ भनी जनता हेरिरहेका छन् नि ?
-हो पक्कै हो । लोकमानलाई महाअभियोग लगाउनु पर्छ भनेर मुद्धा उठाएको काँग्रेसले हो । गगन थापाले प्रस्ताव गरेर मैले र श्याम श्रेष्ठले समर्थन गरेका थियौं । त्यसैले यो विषय अरु दलले उठाएका हुन् भन्ने लाग्दैन । तसर्थ काँग्रेस महाअभियोग लगाउँछ भन्नेमा म विश्वस्त छु । 
 
महाअभियोगसंगै संविधान संशोधन, कार्यान्वयन र चुनावी कुरो पनि उठ्यो भनिन्छ नि तीन दलमा ? 
-हो । महाअभियोग लगाउने अनि सबै दल आफ्नो बाटो लाग्ने गरेर मुलुकको आवश्यकताको समाधान हुँदैन । तसर्थ शीर्ष तीन दलले महाअभियोगसंगै मुलुकका मुख्य एजेन्डा पनि मिलेरै समाधान गरौं भनेर लागेका छौं । अबको आवश्यकता पनि त्यही नै हो । 
 
काँग्रेसभित्र लोकमानको विषयमा देखिएको विवाद चाहीं के हो ? 
-यो विवादभन्दा पनि चलखेल जस्तो लाग्छ । पार्टीमा विभिन्न थरिका नेता छन् । त्यसकै प्रभाव हो यो । कोही लोकमानका नजिकका हुन सक्छन् । कोही संगसंगै उठबस गरेका हुन सक्छन् । तर त्यो पछि मिलेर जान्छ भन्ने लाग्छ । 
 
के गर्ला त काँग्रेसले ? 
-यो हाम्रो मुद्धा भएकाले यसमा काँग्रेसभित्र दुई मत हुन्छ भन्ने मलाई लाग्दैन । यो विषयमा किन्तू ! परन्तू ! भन्ने हुन्छ भन्ने नै छैन । कानुन सबैभन्दा ठूलो हो । त्यो सर्वोच्चतालाई लत्याएर कसैले वदनाम गर्छ भने त्यो सह्य हुँदैन । लोकमानले कानुनको धज्जी उडाउने काम गरेका छन् । सर्वोच्च अदालतले डाक्दा नजाने, संसदले बोलाउँदा नआउने र मनपरी गर्ने काम उनले गरे । 
सार्वजनिक लेखा समितिले कार्वाही गर्न भनी पठाएका फाइललाईसमेत असुलीको माध्यम बनाए । ‘दुहुनो गाई घरमा लुरुलुरु आई’ भनेर उनले झनै बढी भ्रष्टाचार गरे । बयानका लागि बोलाउँदा महङ्गो रकमको सेटिङ्ग मिलाए । त्यो भन्दा ठूलो राष्ट्रघाती कदम के हुन सक्छ । 
 
तर यो महाअभियोगको प्रस्ताव त तीन दलले फिर्ता लिन्छन् पनि भन्छन् नि ? 
-त्यो सम्भावना म देख्दिन । त्यसो भयो भने तीन दलविरुद्ध नेपाली जनता लाग्ने छन् । 
 
पहिले पनि त जनताले विरोध गर्दा तीन दलले बनाए अख्तियार प्रमुख, बिर्सनुभयो ? 
-हो । त्यसैले त यो त गल्ती सच्याउने बेला हो । पहिले गल्ती गरिएछ भनेर अब महाअभियोग लगाएर कार्वाही गर्नुपर्छ । यसमा तीन दल चुक्ने छैनन् । 
 
एमाले र माओवादीका नेता कार्वाहीमा पर्छन् भनेर हतारमा महाअभियोग दर्ता गरेको हल्ला पनि छ नि ? 
-होला । तर मुद्धा पहिले हामीले उठाएका हौं । गल्ती गर्नेले सजाय पाउनु पर्छ । लोकमानलाई महाअभियोग लगाउँदैमा गल्ती गर्ने कुनै पनि नेता बच्ने छैनन् । गल्ती गर्नेले सजाय पाउँछ । महाअभियोग भनेको वेथिति विरुद्धको हो । सत्ताको लुछाचुँडीमा लागेर मुलुकलाई अनिर्णयको बन्दी बनाउनु पनि हुँदैन । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतबाट फर्किएर लोकमानलाई भेटिसकेपछि लडाकु शिविरबारे कार्वाही नगर्ने प्रतिवद्धता जनाएको भनेर स्वयं प्रधानमन्त्रीले माओवादीका नेताहरुलाई जनाएको कुरा पनि त बाहिर आयो । तपाईहरुले संसदमा आवाज उठाउन पनि त सक्नु भएन ? 
-मुलुकको कार्यकारीले त्यस्तो भन्नु हुन्थेन । त्यो गलत भयो । यसबारेमा हामीले संसदमा आवाज उठाउँदै थियौं । तर सिनारियो तीव्र गतिले बदलियो । प्रधानमन्त्रीले गल्ती गरे पनि सजायको भागेदारी त हुन परिहाल्यो नि । 
 
एमाले नेताहरु अख्तियारमा लोकमान बाहेक जो आए पनि स्वीकार गर्ने बताएका छन् । के अख्तियारमा पनि कार्यकर्ता नियुक्ति हुने हो ? 
-कुनै न कुनै मान्छे त आउने नै हो । तर कुनै नेताको पूर्वाग्रहमा त्यसो हुनु हुँदैन । अख्तियारलाई स्वच्छ बनाउनु पर्छ । 
 
अब के होला ? 
-कुरो मिलाउनकै लागि संसद बैठक २५ गतेसम्म स्थगित भएको छ । यो बीचको समयमा अल्झेर बसेका राजनीतिक विषय पनि समग्रमा सुल्झिने आशा गर्न सकिन्छ । म त महाअभियोग लाग्छ भन्नेमा ढुक्क छु । यदि त्यस्तो नभए नेपालमा राजनीति नगरे हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ