arrow

काठमाडौं न्युरोडमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
Parking_lot.jpeg
काठमाडौँ। काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।
 
व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन् । ती तीन समूहले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा उपयुक्त छनोट गरी निर्माणका प्रक्रिया सुरु गरिनेछ । 
 
सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँसडकको पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ बनाइने कामपाले जानकारी दिएको छ । यस पार्किङले नयाँसडकमा हुने ट्राफिक चापलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ बनाउन करिब एक अर्ब लगानी लाग्ने महानगरपालिकाको अनुमान छ । साथै उक्त भवनमा दुईतलाको भूमिगत पार्किङसमेत हुनेछ । 
 
कानुनअनुसार निजी कम्पनीलाई पार्किङ भवन सञ्चालन गर्न बढीमा ३० वर्षको अवधि तोकिनेछ । सो अवधि पूरा गरेपछि उक्त भवन महानगरपालिकाको स्वामित्वमा जानेछ । 
 
महानगरपालिकाका अनुसार पार्किङमा माथिल्लो तलामा गाडी पार्क गर्न लिफ्टको प्रयोग गरिनेछ । मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तल माथि गर्न सकिन्छ । पार्किङ क्षेत्र सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन नमिल्ने भएकाले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ