arrow

कांग्रेस महाअभियोगकै पक्षमा छ, तर छापामार शैलीप्रति असन्तुष्ट : प्रदीप पौडेल

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
pradip-poudel.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तिार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोग प्रस्तावमा कांग्रेसको निर्णय आउन ढिला भएपनि कांग्रेस अन्ततः महाअभियोग प्रस्तावकै पक्षमा उभिने बताएका छन् ।  

हाम्राकुरासंगको कुराकानीमा नेता पौडेलले संसदीय प्रक्रिया चलिरहेकाले प्रक्रिया अनुरुप कांग्रेसले उचित निर्णय गर्ने बताउँदै महाअभियोग विषयलाई लिएर कसैले कांग्रेसमाथि गलत शंका उपशंका गर्न नहुने बताए ।

महाअभियोगकै विषयमा गरिएको कुराकानीको बाँकी अंश
 नेपाली काँग्रेसले अहिलेसम्म लोकमानको महाअभियोगका सन्दर्भमा कुनै टुंगो नलगाउनुको कारण के होला ?
–संसदमा प्रक्रिया चलिरहेको छ । काँग्रेस संसदीय दलको बैठक बसेर निर्णय टुंगो लगाउने भन्नेमा छ । बैठक डाक्ने अधिकार र निर्णय गर्ने अधिकार पनि दलको नेतामै हुन्छ । अब सभापतिले बैठकमा सबै माननीयहरुको राय लिएर निर्णय लिनुहुन्छ । तर हामी ढुक्क हौं, कांग्रेसले महाअभियोगको पक्षमै निर्णय गर्छ ।   
 
 तर जनतालाई त कांग्रेसले के गर्ला भन्ने कैतुहल छ नि ?
–हो पक्कै हो । लोकमानलाई महाअभियोग लगाउनु पर्छ भनेर सुरुमा मुद्धा उठाएकै कांग्रेसले हो । त्यो कुरो सबैले मनन गर्नुपर्छ । यसकारण पनि कांग्रेसले प्रतिकुल निर्णय गर्दैन । महाअभियोग प्रस्तावमाथि संसदमा भएको पहिलो छलफलमा पनि कांग्रेसका माननीय सांसदहरुले प्रभावकारी ढंगले बोल्नु भएको छ । तसर्थ कांग्रेस महाअभियोगको पक्षमै उभिन्छ ।

महाअभियोगसंगै संविधान संशोधन, कार्यान्वयन र चुनावी कुरो पनि उठ्यो भनिन्छ नि तीन दलमा ?
–हो । महाअभियोग अहिले चर्चा कमाएको विषय भएपनि एउटा संवैधानिक अंगको प्रमुखमाथि लगाइएको महाअभियोग प्रस्ताव भन्दा संविधान महत्वपूर्ण विषय हो भन्ने हामीले भुल्नुहुन्न । महाअभियोगलाई त हामीले उपयोग गर्ने बेला आएको छ । भूकम्पले राजनीतिक दललाई एक ठाउँमा ल्याइदिएको थियो र अहिले त्यो अवसर महाअभियोगले सिर्जना गरेको छ । महाअभियोगको सवालमा मात्र एक ठाउँ जम्मा हुने र फेरि आ–आफ्नो बाटो लाग्ने गरेर मुलुकको आवश्यकताको समाधान हुँदैन । तसर्थ शीर्ष तीन दलले महाअभियोगसंगै मुलुकका मुख्य एजेन्डा पनि मिलेरै समाधान गर्न लाग्नुपर्छ । अबको आवश्यकता पनि त्यही नै हो ।
 
काँग्रेसभित्र लोकमानको विषयमा देखिएको विवाद चैँ के हो ?

–कांग्रेसमा विवाद छैन । विवाद प्रक्रियामा थियो । सरकार माओवादी केन्द्रको भएपनि साझेदारीमा नेपाली कांग्रेस थियो । तर उसले कांग्रेससँग कुनै छलफल र सहमतिबिना प्रतिपक्षसँग मिलेर जुन छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरायो त्यो संसदीय मयार्दा विपरीत छ ।

महाअभियोग प्रस्ताव कांग्रेसको सहमतिविना पारित हुँदैन भनेर एमालेलाई पनि थाहा थियो । तर, यहाँ एउटा पक्षसँग गुपचुप गरेर महाअभियोग प्रस्ताव दर्ता गरियो । यो संसदीय आचरण अनुसार व्यवहारिक भएन ।   

के गर्ला त काँग्रेसले ?
–यो हामीले नै उठाएको मुद्धा भएकाले यसलाई लिएर कांग्रेसमा कुनै विवाद छ भन्ने मलाई लाग्दैन । गल्ती भएको छ र त्यसको सजाय पनि हुनुपर्छ । लोकमानको नियुक्तिकै बेला पनि विवाद थियो । उनले नियुक्तिपश्चात पनि पद मयार्दाभन्दा विपरित काम गरेर कानून भन्दा आफु बलियो हुने दुश्प्रयास गरे । ती कुराहरुलाई कांग्रेसले पनि राम्रो ठानेको छैन । यद्यपि, समस्याको समाधान हुने बेला आएको छ । तर, समाधान प्रक्रियागत ढंगबाट गर्नुपर्छ ।
 
यो महाअभियोगको प्रस्ताव त तीन दलले फिर्ता लिन्छन् पनि भनिन्छ ?

–महाअभियोग अब कुनै पनि हालतमा फिर्ता हुँदैन । सदनमा संसदीय विधि अनुसार दर्ता भएको प्रस्ताव फिर्ता हुँदैन ।

 एमाले नेताहरु अख्तियारमा लोकमान बाहेक जो आए पनि स्वीकार गर्ने बताएका छन् । के अख्तियारमा पनि कार्यकर्ता नियुक्ति हुने हो ?
–हिजोको गल्तीले आज यस्तो समस्या आइपरेको छ । अख्तियारको मात्र कुरो होइन । अब हामीले जुनै पनि राज्य संयन्त्रको आयुक्त नियुक्ति गर्दा राजनीतिक स्वार्थभन्दा बाहिर रहनुपर्छ । यद्यपि, अख्तियारको नयाँ आयुक्तमा हाल आयोगमै कार्यरत पाँच मध्ये एक जनालाई आयुक्त नियुक्ति गर्नुपर्छ । 

अब के होला ?
–अब महाअभियोग टुंगो लाग्छ । कुरो मिलाउनकै लागि संसद बैठक २५ गतेसम्म स्थगित भएको छ । यो बीचको समयमा कांग्रेसको संसदीय दलको बैठकले पनि ठोस निर्णय गर्छ भन्ने ढुक्क छु । तर कांग्रेस महाअभियोगको पक्षमा नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ