arrow

बाजुराको स्याउले बजार पाएन

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
apple-size.jpg.jpeg
भीमदत्तनगर । पाँच वर्षअघि सरकारले दीर्घकालीन कृषि आयोजना सहयोग कार्यक्रममार्फत बाजुराका स्याउ खेती गर्ने किसानलाई बिरुवा वितरण गर्‍यो । त्यहाँका छवटा गाविसमा स्याउ खेती फष्टायो । तर उत्पादन भएको स्याउ किसानले बिक्री गर्न भने पाएनन् । 
 
जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार कुल २०० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ । जुकोट र पाण्डुसेन गाविसमा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको कार्यालयका बागवानी विकास अधिकृत सविता जोशी बताउछिन् । “उत्पादन प्रशस्त भए पनि किसानले बजारमा पुर्‍याउन सकेका छैनन्,” उनले भनिन् । 
 
जिल्लामा यातायातको पहुँच नहुँदा किसानले स्याउ बजारसम्म ढुवानी गर्न सकिरहेका छैनन् । कोल्टी बजारसम्म स्याउ ढुवानी गर्न एक दिन पैदल हिँड्नुपर्ने स्थिति छ । गत वर्ष बाजुरामा ४९० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढ्ने सम्भावना रहेको जोशीको भनाइ छ । 
 
दुई सय हेक्टरमा स्याउ खेती गरिए पनि ९८ हेक्टरमा मात्र स्याउ उत्पादन भएको छ । बिक्री गर्न समस्या भएपछि किसानलाई चाना बनाउन अनुदान उपलब्ध गराएको अधिकृत जोशीले बताइन् । कार्यालयले गत वर्ष चाना बनाउने मेसिन ५० किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । यस वर्ष पनि कार्यालयले ५० किसानलाई सो मेसिन अनुदानमा दिने तयारी गरेको छ । 
 
जिल्लाका जुकोट, पाण्डुसेन, वाई, जगन्नाथ, गोत्री, साप्टा गाविसमा स्याउ उत्पादन हुन्छ । गाउँमा किसानले प्रतिदाना स्याउ  पाँच मा बिक्री गर्र्दैआएका छन् भने सदरमुकाम मार्तडी र कोल्टी बजारमा प्रतिदाना  १५ देखि २० मा बिक्री हुने गरेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ