arrow

कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका कर्मचारीहरु आपसमा पोलापोल गर्दै

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
lokman-singh-karki.jpeg
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका तीन कर्मचारीहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
 
प्रशासनले उठाएको टिप्पणीका आधारमा कारबाहीको प्रस्तावमा परेका सर्वोच्च अदालतका तामेल्दार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिकाकी वडा सचिव सरिता राई र वडाका नासु भेषराज अर्याल आरोप प्रत्यारोपमा उत्रिएका छन् । 
 
सर्वोच्च अदालतमा उनीहरुले पेश गरेको लिखित जवाफमा एकले अर्कालाई आरोप लगाएका छन् । महानगरपालिकाको १० नम्बर वडा सचिव सरिता राईले तामेलदार खत्रीका कारण असोज १९ गते म्याद तामेल हुन नसकेको जनाएकी छन् भने नासु अर्यालले आफूलाई म्याद तामेलीबारे अख्तियारी नै नदिइएको दावी गरेका छन् ।
 
तामेल्दार खत्रीले भने वडा सचिवले तालिम र वृद्धभत्ता वितरणमा आफूलाई व्यस्त देखाएकाले जिम्मेवारी अनुसार काम सम्पन्न हुन नसकेको जवाफ दिएका छन् । 
 
तीनजनाले छुट्टाछुट्टै बुझाएको प्रतिवेदन हेर्दा उनीहरुबीच आ–आफ्ना दावी मेल खाँदैनन् । उनीहरुले कारबाहीबाट जोगिन एक अर्कालाई जिम्मेवार ठहर्‍याएका छन् । 
 
म्याद तामेलीमा असहयोग गरी न्याय सम्पादन प्रक्रिया अवरुद्ध पार्न खोजेको आरोपमा सर्वोच्च अदालतले तीन जनालाई १ हजार रुपैयाँ जरिबाना र १५ दिन कैद प्रस्ताव गरेको थियो । 
 
उनीहरुले आफ्नो प्रतिरक्षाका लागि एक साताको समय पाएका थिए ।
 
वडा सचिव सरिता राईले असोज १९ गते पतिको नियमित स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल जानु परेको र सोही दिन महानगरले आयोजना गरेको तालिममा पनि सहभागी भएको जिकीर गरेकी छन् ।
 
‘नासु भेषराज अर्याललाई सम्पर्क गरी म्याद तामेल सम्बन्धी कार्यमा आवश्यक सहयोग गर्नु भनी जानकारी गराएँ’ राईले पठाएको प्रतिउत्तरमा भनिएको छ ।
 
 राईले आफ्नो कार्यालयको नासु भेषराज अर्याल म्याद तामेलीका लागि घरसम्म पुगेको, त्यसक्रममा स्थानीय अवरोधले तामेल हुन नसकेको जिकीर गरेकी छन् । 
 
तर, लोकमानका घरमा समाचार संकलनका क्रममा पुगेका पत्रकार कसैले पनि दशैंअघिको म्याद तामेलीको क्रममा स्थानीय बासिन्दाको अवरोध देखेका थिएनन् । 
 
सचिव राईले ‘म्याद तामेल गर्न आएको टोली नै तामेल नगरी भोली गरौंला भनी फर्केपछि वडाका कर्मचारी पनि खासै भूमिका नभएकाले फर्केको,’ उल्लेख गरेकी छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ