arrow

मुखर्जीको भ्रमणमा नेपाली 'तरकारीवाली' हावी, भारतीयको 'तरकारीवाली' कुटनीति

logo
राजनीतिक व्यूरो,
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
kusum-shrestha-tarkariwali1.jpeg
काठमाडौं। नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको पूर्व सन्ध्यामा एकाएक तरकारीको भारी बोकेकी गोर्खाकी एक यूवती कुशुम श्रेष्ठको तस्विर नेपालका सामाजिक सञ्जालका प्रयोगकर्तामाझबाट उठेर भारतीय राष्ट्रिय मिडियाको खबर बन्यो। गोरखाको भुम्लिचोक गाविस वाङ्लिङकी कक्षा ११मा पढ्ने कुशुम न कुनै सेलिब्रेटी थिइन न नेपाल भारत सम्वन्धमा उनले कुनै बिशेष योगदान पुर्‍याएकी थिइन। तर उनी एकाएक करौडौ इन्टरनेट प्रयोगकर्तामाझ चर्चित बनिरहेकी छिन। किन त? 
 
यसको जवाफ तस्विर खिच्ने रुपचन्द्र महर्जनलाई पनि थाहा छैन। चार महिनाअघि गोरखा र चितवनकोबीचमा रहेको त्रिशूली नदीस्थित फिस्लिङ झोलुङ्गे पुलमाथि पर्यटन व्यवासायी रुपचन्द्र महर्जनले खिचेको यो तस्विर भारतीय इन्टरनेट प्रयोगकर्ताहरुमाझ भाइरल होला भन्ने उनले पनि अनुमान गरेका थिएनन्। पर्यटकहरुका लागि त्रिशूलीमा र्‍याफ्टिङ पनि सञ्चालन गर्दै आएका चाबहिलस्थित पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले कैद गरेका तस्बिर उनैले फेसबुकमार्फत सार्वजनिक गरेका थिए। चार महिनाअघी फेसबुकमा पोष्ट गरिएको सो तस्विर एकाएक मुखर्जीको भ्रमणका बेला भाइरल हुनुलाई नेपालमा पनि आश्चर्यका रुपमा लिइएको छ। 
 
भारतको तरकारीवाला कुटनीति
नेपाल र भारतको सम्वन्ध २०७२ सालमा इतिहासकै नाजुक अवस्थामा पुग्यो। भुकम्पले थिल्थिलो बनेको नेपाललाई भारतले लगाएको अघोषित नाकावन्दीले अझ आहत बनायो। नेपालमा भारत विरोधी भावना सम्भवत इतिहासमै सबैभन्दा नकारात्मक बन्यो। यो अवस्थामा दक्षिण एशियाको सबैभन्दा पुरानो मित्रदेशको नागरिकहरुमा भारत बिरोधी भड्किएको भावना भारतले नबुझ्ने कुरै थिएन। नेपालका प्रत्येक राजनीतिक घटनाक्रमहरुमा भारतीय हस्तक्षेप देखिने र देख्ने नेपाली मनोविज्ञानमा भारतप्रति सकारात्मक भावना उठ्नु निकै गाह्रो छ भन्ने स्वयै भारतीय बुझाइ छ। यस्तो अवस्थामा छिमेकी देशको नागरिकको भावना आफ्नो पक्षमा के गरि सकारात्मक बनाउन सकिन्छ वा कसरी मत्थर बनाउन सकिन्छ अथवा विररोधको आवाजलाई के कुराले घटाउन सकिन्छ भन्ने सोच्नु भारतीयहरुका लागि पनि परिक्षाकै विषय हो। 
 
कुनै पनि दे्शको भ्रमणमा जाँदा शक्तिशाली देशका प्रमुखहरुका लागि सबैभन्दा ठूलो चुनौती आतंकवाद हुन्छ। तयारी पनि त्यहि अनुसार नै हुन्छ। भारतीय राष्ट्रपति हुन वा प्रधानमन्त्रीको विदेश भ्रमणमा सोहि कुरालाई नै मध्यनजर गरेर आवश्यक तयारी हुने गरेको पाइन्छ। तर भारतीय एजेन्सीहरुले राष्ट्रपतिको नेपाल भ्रमणका सन्दर्भमा दिएको प्रतिवेदनमा आतंकवादको समस्यालाई सदा झै एक नम्वरमा नराखिएको स्रोतको दावी छ। भारतले लगाएको नाकावन्दीपछि उत्पन्न आक्रोश अझै शान्त हुन नसकेको अवस्थामा त्यो आक्रोशलाई नै उनीहरुले एक नम्वरको समस्याका रुपमा प्रतिवेदनमा प्रस्तुत गरेको बताइएको छ। 
 
 
विभिन्न स्रोतहरुबाट प्राप्त जानकारी र विश्लेषण पछि भारतीयहरुले यो समयमा नेपालमा भारत विरोधी भावना सडकमा वा सामाजिक सञ्जालमा देखिनसक्नेतर्फ भारतीय पक्ष नि सतर्क रहेको देखियो। सडकको सुरक्षाको लागि नेपाल सरकारलाई गरिएको आग्रह अनुसार सबै बन्दोबस्त मिलाइएको उनको आगमन अघी देखिको तयारीले पुष्टी गरेको थियो। आफ्नो बशमा नरहेको सामाजिक सञ्जालमा पनि भारत विरोधी गतिविधीलाई मत्थर बनाउन भारतीय पक्षबाट नेपाललाई नै मख्ख पार्ने कुनै गतिविधी गर्नुपर्ने थियो। फरक रुपमा नेपालीहरुमाझ बहश खडा गर्नु थियो। कसरी, किन, के लगायतका प्रश्नमा नेपाली इन्टरनेट प्रयोगकर्ताहरुमाझ प्रश्न खडा गर्नु सायद भारतीय उद्धेश्य हुनुपर्छ। त्यसैले पनि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यादेखि तरकारीवाली कुशुम ट्वीटरमा ट्रेन्ड नै बन्न थालिन। 
 
भारत विरोधी गतिविधी इन्टरनेटमा आउने वित्तिकै कतिपय नेपालीहरुले शुरु गरेका ट्रेन्ड एक नम्वर ट्रेन्ड भएका छन् ट्वीटरमा। नेपालीहरुले शुरु गरेपनि भारत विरोधी संसारका विभिन्न ठाउँमा यसमा जोडिदा यसले इन्टरनेटमा तहल्का नै मच्चाउने गरेको पुराना तथ्यहरु पनि छन्। यो अवस्थामा नेपाली एक आम युवतीलाई एकाएक इन्टरनेटमा भाइरल बनाउँदा बहुसंख्यक नेपाली इन्टरनेट प्रयोगकर्ताको ध्यान यता तान्न सकिने विश्लेषण सायद भारतीय कुटनीतिक बिश्लेषकहरुले गरेका हुन्सक्छन। सायद उनीहरुले योजनाबद्ध रुपमा गरेका थिए भनेपनि उनीहरु सफल भने भएका छन्। भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत छैन भन्ने ट्रेन्ड ट्वीटरमा चलाउन प्रयास भएपनि त्यसमा तरकारीवाली ट्रेन्ड नै हावी भयो। 
 
पाकिस्तानका एक सामान्य चियावाला अरसद खान भारतीय मिडियामा छाए झै गोर्खाकी कुशुम श्रेष्ठ इन्टरनेट ब्रेक गर्नेगरि कसरी एकाएक चर्चामा ल्याइयो भन्ने कुरा मुखर्जीको नेपाल भ्रमणको लागि भारतीय कुटनीतिको एक हिस्साको रुपमा बुझ्नुपर्ने देखिएको छ। भारतीय मिडियामा उनकै राष्ट्रपतिको नेपाल भ्रमणबारे उतिसारो चर्चा नहुँदा यो तरकारीवाली कुटनीति अहिले निकै चर्चामा हुनुलाई त्यसरी जोडेर हेर्नुपर्ने बिश्लेषण छ। 
 
भारतीय सञ्चारमाध्यमले ट्वीटर प्रयोगकर्ताहरुले उनको बारेमा प्रशंसाको फूल बर्साइरहेको जनाएका छन् । उनको सरलपना, सुन्दर अनुहार र मिलेको शरीरका कारण उनलाई 'आदर्श युवती' को स‌ंज्ञा पनि दिइरहेको हिन्दुस्तान टाइम्सले समेत जनाएको छ। आफ्ना मानिसका बारेमा राम्राकुरा सुनेपछि कुनचाहि आफन्त खुसी हुँदैन र ? यतिखेर योजनाबद्ध झै लाग्ने यो समाचारका पात्र कुशुमका बारेमा भारतीयहरुले प्रशंसाको फुल विच्छ्याएर नेपालसँगको सम्वन्धलाई जनस्तरबाट सुधार्न चाहेको संकेतको एउटा पाटोबाट बुझ्न सकिन्छ। अर्कोतर्फ नेपाल भ्रमणमा रहेका आफ्ना राष्ट्रपतिको भ्रमण धेरै विवादित नहोस भन्ने चाहना पनि छ। तर जेसुकै योजना भएपनि अचानक पेश भएका कुनै पात्रमार्फत दुई देशको सम्वन्धलाई सुमधुर बनाउन सानै भए भनेपनि योगदान भयो भने त्यो दुवै पक्षका लागि फाइदाकारी हुनेछ। भलै यसमा रणनीतिक चातुर्यता अपनाइएको किन नहोस। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ