arrow

प्रधानमन्त्रीको बोली : महाविद्यावारिधि पाउने मुखर्जी एसियाकै उच्च नेता

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
PM-boli-mukharji.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन् ।

काठमाडौं विश्वविद्यालयले विहिबार भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन मुखर्जीले निर्वाह गरेको भूमिकाको स्रहाना गर्दै त्यसो भनेका हुन् ।

प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गरे ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि गुणस्तरीय शिक्षामा केन्द्रित काठमाडौँ विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो ।

प्रधानमन्त्रीले भने, ‘नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।

जीवनमा पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुग्नुुभएकामा मुखर्जीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले मुखर्जीको राष्ट्रपतीय कालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास गरे ।

स्थापनाको २५ वर्षे यात्रामा सो विश्वविद्यालयले यसअघि नेपालका संस्कृतिविद् सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ करण सिंहलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ ।

मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरेलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि पाइसकेका छन् ।

दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट आफू मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताए । सो विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रुपमा सम्बोधन गर्दै मुखर्जीले नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान गरे ।

मुखर्जीले भने, ‘नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो । मैले काठमाडौँ विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर ममाथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु ।’

विसं २०४८ मा निजी क्षेत्रको पहिलो विश्वविद्यालयका रुपमा काठमाडौँ विश्वविद्यालयको स्थापना भएको हो । सो विश्वविद्यालयबाट सयौँ भारतीय विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ