arrow

मुखर्जीसँगको भेटमा कांग्रेस नेताको कुर्ची तानातान्, प्रोटोकल मिच्दा भयो बेइज्जत

एमालेको भद्र भेट

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
nepali-kangresko-ijat-gyo.jpeg

काठमाडौं । पार्टीको महाधिवेशन सकिएको लामो समय भइसक्दा समेत कांग्रेसभित्रको तछाडमछाड रोकिएको छैन । पार्टीको वरियता क्रमलाई लिएर केही सदस्यले पार्टीका महत्वपूर्ण बैठकमा निर्णयमा हस्ताक्षर नगरेको कुरा अब नौलो रहेन । विहिबार पनि भयो त्यस्तै । १८ वर्ष पछि पहिलो पटक भारतीय राष्ट्रपतिको भ्रमणको शिष्टाचार भेट दौरान कांग्रेस नेताहरु आफ्नो इज्जत आफै फाले ।

विहिबार काठमाडौंको बौद्धस्थित हायात होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न पुगेका कांग्रेस नेताहरुले आफ्नो बेइज्जत आफैं गरेका हुन् । उनीहरु भेट कक्षमा प्रवेश गर्नु अघि प्रतिक्षा कक्षमा बसे । भित्र छिर्ने बेलामा पहिलो नम्बरमा पार्टी सभापति शेरबहादुर देउवा, दोस्रोमा बरिष्ठ नेता रामचन्द्र पौडेल अघि सरे । त्यसपछिको वरियताक्रम मिलेन । भित्र छिर्नै तछाडमछाड चल्यो ।

भित्र गएर बस्दा समेत त्यस्तै जात्रा । दायाँपट्टी मुखर्जीको भ्रमण दलका सदस्यहरु प्रोटोकल मिलाएर बसेका थिए । बायाँपट्टी बसेका कांग्रेस नेताहरु पनि प्राटोकल मिलाएर बस्ने अपेक्षा थियो । तर, त्यसो भएन । मुखर्जी सहित भ्रमण दलका सदस्यहरुको एकोहोरो ध्यान कांग्रेस नेताको कुर्ची तानातानतिरै खिचियो ।

कांग्रेसको छविनै धमिल्याउने गरी भएको चर्तिकला देशीले मात्र हैन विदेशीले पनि हेरे । वरियता क्रम अनुसार सुरुमा सभापति देउवा, दोस्रोमा नेता पौडेल, तेस्रोमा निर्वाचित महामन्त्री डा शशांङ्क कोइराला, चौथोमा कोषाध्यक्ष सीता देवी यादव, पाँचौमा पूर्व महामन्त्री प्रकाशमान सिंह, छैटौंमा पूर्व महामन्त्री कृष्णप्रसाल सिटौला, सातौंमा गोपालमान श्रेष्ठ, आठौंमा चित्रलेखा यादव, नवौंमा डा रामशरण महत र दशौंमा डा मिनेन्द्र रिजाल बस्नु पर्ने थियो ।

तर, त्यहाँ त्यसो हुनै सकेन । सातौं वरियतामा रहेका गोपालमान रामचन्द्र पौडेल पछि तेस्रो कुर्सीमा गएर बसे । उनले निर्वाचित महामन्त्री र काषाध्यक्षको ख्यालै गरेनन् । तेस्रोमा बस्नु पर्ने महामन्त्री शशांक सातौंमा पुगे । वरियता मिचिएपछि उनले अगाडि सर्ने आँट पनि गरेनन् । अघि हेर्न समेत सकेनन् । के गरौं कसो गरौंको संकटमा परे । नेताहरुले कुर्सीमा बस्न तछाँडमछाड गरेपछि कोषाध्यक्ष सीतादेवी यादव दोस्रो ‘रो’मा पर्ने भइन। त्यसपछि दोस्रो रोमा राखेको एउटा सेतो कुर्सी तानेर रामचन्द्र पौडेल र गोपालमानको बीचमा आएर बस्न खोजिन् । सीताले कुर्सी तान्दा भारतीय राष्ट्रपति पनि चकित खाँदै हेरिरहे । भ्रमण दलका अन्य सदस्यहरु पनि त्यतै हेरिरहे । सीतादेवीले कुर्सी तान्दा रामचन्द्र झस्किए । के गर्न थालिन् भन्दै घुरेर उतैतिर हेर्न थाले ।  देउवा पनि अक्क न बक्क मानेर हेरिरहे। 

पछि बसेका कांग्रेका कति नेताले त्यो हेर्न सकेनन् । गोपालमानपछि १३औं नम्बरका रामशण महत गएर बसिदिएपछि पाँचौ नम्बरका प्रकाशमान पनि उनी पछि धकेलिए । त्यति हुँदा पनि उनको ध्यान मुखर्जीतिरै थियो ।

त्यसपछि बसेका महामन्त्री शशांङ्कले मुखर्जीतिर हेर्नै सकेनन् । शशांङ्कपछि बसेका कृष्णप्रसाद सिटौला पनि चुपचाप थिए । उनले पनि केही गर्ने परिस्थिति रहेन् । गोपालमानकै पछि बसेकी चित्रलेखा यादव व्यङग्यको शैलीमा हाँसिरहेकी थिइन । दोस्रो ‘रो’मा उनीसंगै बसेका मिनेन्द्र रिजाल के गरौं कसो गरौंको छट्पटीमा ‘टाई’ समातेर बसे । मुखर्जी हेरेको हेरै थिए ।

अाङ कन्याएर छारो उडाउने काममा मुख्य हात प्रोटोकलकै विषयलाई लिएर पार्टीभित्र झगडा गरिरहेका गोपालमान श्रेष्ठ, रामशरण महत र प्रकाशमान सिंहकै रहयो । उनीहरुले पार्टीको इज्जतको ख्याल गरेनन् ।  पार्टी सभापति देउवा प्वाक्क परेर हेरिरहे । प्रोटोकललाई नै लिएर गोपालमानले अहिलेसम्म कुनै निर्णयमा हस्ताक्षर गरेका छैनन् । यस्तै, रामशरण महत र अर्जुननरसिंह केसीबीच समेत सोही विषयलाई लिएर विवाद छ । प्राटोकलबारे मुख्य कुरा उठाउने गोपालमान र रामशरण नै हुन् । तर, नेताहरुको अहिष्णु चरित्रका कारण कांग्रेसको छवि नराम्ररी धमिलिएको र आफुरुले आफ्नै इज्जत गएको रमिता हेरेर आएको भेटमा सहभागि नेताले हाम्राकुरालाई सुनाए ।

एमालेको भद्र भेट

मुखर्जीसँग एमाले नेताहरुले पनि भेट गरे । तर, उनीहरुको प्रोटोकलमा कुनै समस्या देखिएन । भद्र बसाई भद्र भेट रहयो । मुखर्जीलाई भेट्न अध्यक्ष ओलीसँग गएका एमाले नेता क्रमशः प्रोटोकल मिलाएर बसे । ओलीको भेट दल छरितो पनि । एमालेको क्रमशः अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र विदेश विभागका राजन भट्टराई बसेका थिए । एमाले नेताहरुले भद्र भेट गर्दा कांग्रेस नेताहरुले आफै इज्जत फालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ