arrow

एक वर्षसम्म उखुको भुक्तानी नपाएपछि उखुखेती छोड्दै किसान

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
ukhu-kheti-news-aa.jpeg

विराटनगर । एक वर्ष वित्न लाग्दासम्म पनि भुक्तानी नपाएपछि मोरङ र सुनसरीका किसान उखु खेतीबाट विमुख हुन थालेका छन् । उखु मिलले समयमा भुक्तानी नदिएका कारण किसान फस्टाउँदै गएको उखुखेती चटक्कै छोड्न बाध्य भएका छन् ।

सुनसरीमा रहको इस्र्टन सुगर मिलले मोरङ र सुनसरीका सयौँ किसानलाई भुक्तानी दिन सकेको छैन । चिनीको माग बढेपनि  किसानलाइ मिल मात्र नभई सरकारले समेत बेवास्ता गरेकै कारण  धेरै किसानले उखु खेती छाडेर अन्य बालीहरु लगाउन थालेका छन् ।

मिलले दशै तिहार तथा छठ पर्वमा किस्ताबन्दीमा थोरै थोरै मात्र भुक्तानी  दिँदै आएको किसानहरुको गुनासो छ । मकै, धान, गहुँ तथा अन्नपात विक्रिगर्दा तत्काल भुक्तानी दिइन्छ । तर, उखु विक्रि गर्दा विक्रि गरेको रकम समेत सहज रुपले पाइँदैन ।

उखु काट्दा पुर्जी लिन लाइन बस्नु पर्ने र काटेर उखु विक्रि गर्दा पनि भुक्तानी लिन लाइन बस्नुपर्ने समस्याका कारण किसानहरुको आकर्षण घट्न थालेको छ  ।

सुनसरी भिमपुर–७ का उखु किसान जयनन्दन यादवले मिलले उखु विक्रि गरेको रकम समेत चुक्ता नगरेकाले अवदेखि उखु नलगाउने बताए । साहु महाजनसंग तीन रुपैँया सैकडामा ब्याज लिएर उखु खेती गरेकोमा ९ महिना वित्न लाग्दा पनि मिलले रकम भुक्तानी नगरेकाले बाध्य भएर यो खेती छाडनुपर्ने अवस्थामा पुगेको उनको  भनाइ छ  ।

यादवको मात्र होइन रामगन्ज बेलगाछी–५ का परमेश्वर साहको गुनासो समेत उस्तै छ । उनले ईस्टन चिनी मिललाई ८ सय क्विन्टल उखु विक्रि गरेकामा दुई सय क्विन्टलको मात्र रकम पाएको बताए । फागुनमा बिक्रि गरेको उखुको भुक्तानी छठ पछि मिलले भुक्तानी दिने जनाएको उनको भनाई छ ।

विराटनगर–७ का सगुनलाल कामतले पनी आफुले गत वर्ष डेढ विघामा उखु खेती गरेकामा भुक्तानी पाउन नसकेको बताए । बैंकबाट लिएको ऋणको ब्याज बढेको बढ्यै छ तर मिलले भुक्तानी नदिदा समस्या भएको कामतको भनाई छ ।

किसानहरु बैंक तथा साहु महाजनसंग ऋण लिएर उखु रोप्ने तथा गोडमेल गर्ने मजदुरलाई ज्याला दिने गरेका छन् । यसैगरी मल विउपानी तथा गोडमेल खर्च समेत ऋण लिएर दिने गरेको किसानहरुको भनाई छ ।

किसानहरुले समयमा भुक्तानी नपाएका कारण मोरङ र सुनसरी जिल्लाका उखुको क्षेत्रफल समेत घटने अवस्थामा पुगेको छ । मंसिरमा काटेर लाइनमा वसेर पुष माघमा धकेल्दा मिलले एक वर्ष सम्ममा किस्तावन्दीमा भुक्तानी दिने, लागत अनुसारको भुक्तानी नपाउनु जस्ता कारणले पनी उखु किसान निराश भएका हुन् ।

४, ५ वर्ष अघि मोरङ र सुनसरीमा १० हजार हेक्टरमा उखु खेती हुने गरेकोमा अहिले ४ देखी ५ हजार हेक्टरमा मात्र उखु खेती हुदैँ आएको छ ।

उखु खेतीप्रति किसानलाई प्रोत्साहित गर्न मिलले समेत विभिन्न कार्यक्रम ल्याएको थियो । जसका कारण उखु खेतीमा अन्यबाली रोपेर किसानले मिश्रित बाली समेत गर्दै आएका थिए । जसका कारण उखु खेतीको क्षेत्रफल समेत बढ्दै गएको थियो । धानबाली छाडेर उखु खेती लगाउने लहर नै थियो ।

तर, अहिले आएर दुई तीन वर्ष अघिको उखुको भुक्तानी रकम अहिले पाउने तथा लगानी अनुसकारको मूल्य नपाउने जस्ता कारणले उखु खेतीप्रति किसान बिमुख हुँदै गएको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ