arrow

चौतर्फी घेराबन्दीमा प्रचण्ड

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
Sad-prachanda.jpeg
 
काठमाडौ। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत्, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री दाहाल घेराबन्दीमा परेको समाचार आजको अन्नपू्र्णपोस्टमा रेवती सापकोटाले लेखेकाछन्।
 
उनको पक्षमा वकालत गरिदिनेको संख्या न्यून छ भने आलोचना गर्नेहरू अधिक देखिएका छन् । लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री दाहालका पक्षमा देखिएका छैनन् ।
 
‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र र बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ', प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव' ले अन्नपूर्णसँग भने, ‘कोही योजनाबद्ध रूपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइनेछैन ।'
 
परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षमा देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउन नसकेको, कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री दाहालमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ।
 
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विपक्षमा महाभियोग प्रस्ताव दर्ता गराउन पार्टीमा एकमत गराउन नसकेको, भूकम्प प्रभावित क्षेत्रका जनतालाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्न नसकेको, पार्टी संगठनलाई अस्तव्यस्त बनाएको आरोप पनि उनीमाथि छ ।
प्रधानमन्त्री दाहालले अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव आफूले नल्याएको दाबी गरे पनि जनमत उनको भनाइलाई विश्वास गरिरहेको छैन । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री दाहालले भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको र अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने प्रस्ताव गरेकोमा सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन् ।
 
चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउन नसकेको, चीनसँग अघिल्लो सरकारले बनाएको सुमधुर सम्बन्ध कायम राख्न नसकेको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा आवश्यकताभन्दा बढी ‘भक्तिभाव' प्रस्तुत गरेको आरोप पनि दाहालमाथि लागेको छ ।
 
केही वर्षअगाडि मोहन वैद्य र बाबुराम भट्टराईले पार्टीभित्र आफूविरुद्ध अन्तरसंघर्ष चलाउँदा दाहालले आफूभित्र र बाहिरबाट घेराबन्दीमा परेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘अहिले पनि केन्द्रीय समितिमा आउन चाहनेको सूची करिब पाँच हजार पुगेको छ तर अप्ठ्यारो पर्दा नेतृत्वको रक्षा गर्ने कोही देखिँदैन', दाहालको सचिवालयका अर्का सदस्यले भने ।
 
शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन, संविधान कार्यान्वयनमा स्वीकार्यता बढाउन र राष्ट्रिय एकता कायम राख्न एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपरेको तर्क दाहालले आफू निकटका नेताहरूसँग व्यक्त गर्ने गरेका छन् । ‘तर त्यसलाई हाम्रै साथीहरूले बुझिदिएका छैनन्', दाहालले सहयोगी नेताहरूसँग भन्ने गरेका छन्, ‘मलाई पार्टीभित्रबाट र सचिवालयबाट पनि सहयोग भएन । मेरो स्पिरिटमा तपाईंहरू हिँडिदिनु भएन ।'
 
पार्टीभित्र र बाहिरबाट सहयोग नपाएपछि प्रधानमन्त्री दाहालले मंगलबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् । बैठकमा दाहालले आफू नेतृत्वको सरकार असफल हुँदा माओवादी आन्दोलन धरापमा पर्ने तर्क गर्दै आफूलाई सहयोग गर्न आह्वान गर्ने स्रोतले बतायो ।
 
दाहालको सचिवालयका अर्का एक अधिकारीले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री दाहाल कमजोर बनाउँदा माओवादी आन्दोलन कमजोर बनाउन सकिन्छ भन्ने मानसिकता भएका व्यक्तिहरूले प्रधानमन्त्रीविरुद्ध प्रचार अभियान छेडिरहेका छन् । प्रधानमन्त्रीको खुट्टा काटेर आफू अग्लो हुने मानसिकता दोस्रो तहका नेताहरूमा देखिएको छ ।'
 
प्रधानमन्त्री दाहालले आफूलाई सघाउन सक्ने क्षमतावान्हरूको समूह बनाउन नसकेको, प्रधानमन्त्रीको गति र सचिवालयमा रहेका उनका सहयोगीहरूको गतिमा मेल नखाएको, सचिवालयका सहयोगीमा विषयवस्तुको ज्ञान नरहेको, मन्त्रीहरूले निर्णय र कार्यान्वयनमा प्रभावकारिता देखाउन नसकेको, प्रधानमन्त्री र मन्त्री तथा प्रधानमन्त्री र आफ्नै पार्टीका नेताहरूबीच बुझाइमा एकरूपता नदेखिएको दाहालका सहयोगीहरूले पनि स्वीकारेका छन् । ‘एमाले र मिडियाले घेराबन्दी गर्न खोजेका हुन् ।
 
पार्टीभित्रबाट सरकारलाई सहयोग भइरहेको छ । एकाध व्यक्तिले विरोध गरेर केही हुँदैन', माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘माओवादीमा हिजो पनि घेराबन्दी थियो, आज पनि छ, भोलि पनि हुनेछ । पार्टी घेराबन्दीलाई चिरेर अगाडि बढ्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ