arrow

सिक्किममा नेपाली कलाकारहरुको मेला लाग्दै

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
nepali-artist-sikkim.jpeg
काठमाडौं। भारतको पूर्वोत्तर राज्य सिक्किमको गान्तोकमा कात्तिक २४ मा आयोजना हुने चौथो इनास अवार्डका लागि नेपाली कलाकारहरुको टोली सिक्किम पुग्ने क्रममा रहेको छ। नेपाली चलचित्र क्षेत्रका हस्तीहरु यतिखेर सिक्किममा हुने अवार्डका लागि झापा आइपुगेका छन्। नेपाल भारत सीमाबाट नेपाली कलाकार संगितकर्मी र पत्रकारहरुलाई सिक्किम सरकारले उच्च सम्मानका साथ सिक्किम पुर्‍याउँदै छ। 
नेपाली चलचित्र क्षेत्रको ठूलो कार्यक्रम भएको कारणले पनि नेपाली भाषी बाहुल रहेको सिक्किम सरकारले इनास अवार्डलाई महत्वका साथ लिएको छ। यतिखेर भारतको दार्जिलिङ, सिक्किम लगायत ठाउँका नेपाली भाषी कलाकारहरु पनि उत्साहका साथ अवार्ड सफल बनाउन लागि परेका छन्। आयोजक संस्था इनास ग्लोवलका अध्यक्ष पुष्प वरुवालले समग्र भारतमा रहेका नेपाली भाषी र उत्तर पूर्वी भारतका नेपालीहरुमा अवार्ड कार्यक्रमप्रति ठूलो उत्साह रहेको बताए । 
नेपाली भाषीहरुको वाहुल्य रहेको सिक्किममा हुने अवार्ड कार्यक्रममा बलिउडकी नायिका मनिषा कोइराला, नेपाली चलचित्रका महानायक राजेश हमाल, नेपाली चलचित्रका सदावाहर नायिक करिश्मा मानन्धर, वरिष्ठ अभिनेता नीर शाह, कलाकारहरु आर्यन सिग्देल, सञ्चिता लुइटेल, एनी कुँवर, शंकर विसी, लोकप्रिय कलाकारहरु धुर्मस सुन्तली, ऐतिहासिक सफल चलचित्र छक्का पञ्जाका निर्देशक तथा निर्माता दिपाश्री निरौला, दिपकराज गिरी, वरिष्ठ कलाकारहरु तुलसी घिमिरे, रमेश बुढाथोकी, सम्पादक बनिष शाह, सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान लगायतका दर्जनौ कलाकारहरु सहभागि हुँदै गरेको अन्तरा इन्टरनेशनलका अध्यक्ष सुदिप रेग्मीले बताए।  
संगितकार संघ नेपालका अध्यक्ष तथा जुरी सदस्य लक्ष्मण, शेष संगित रोयल्टी संकलन समाजका महासचिव महशे खड्का, कोषाध्यक्ष लोकराज अधिकारी, लोकप्रिय संगितकार राजनराज शिवाकोटी, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, मोडल सुजन रेग्मी र‌ग पत्रकारहरु सोमबार नै झापा आइसकेका थिए।  अर्वाड कार्यक्रमका निर्देशक विदुर खतिवडाले अभिनेत्री मनिषा कोइराला पनि सिक्किम पुग्ने क्रममा रहेको उनैले पोष्ट गरेको फेसबुक स्टाटस देखाउँदै जानकारी दिए। समग्रमा नेपाली कलाकारहरुको सिक्किममा मेला नै लाग्ने भएको छ। 
चौथो इनास अवार्डका लागि गत शुक्रबार विधागत उत्कृष्ट तीनको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आयोजना गर्दै आएको उक्त अवार्डको चौथो संस्करणमा १९ विधाका उत्कृष्टहरुको छनौटको लागि प्रत्येक विधाबाट तीनजनाको मनोयन गरिएको छ। मनोनयमा ‘पशुपति प्रसाद’, ‘क्लासिक’ र ‘कबड्डी कबड्डी’ फिल्मबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यी तीनै फिल्मबाट उत्कृष्ट निर्देशकका लागि दीपेन्द्र के खनाल, रामबाबु गुरुङ र दिनेश राउतबीच प्रतिस्पर्धा हुने भएको छ। उत्कृष्ट अभिनेताका लागि खगेन्द्र लामिछाने, दयाहाङ राई र आर्यन सिग्देल भिड्ने पक्का भएको छ । अवार्डमा जुरी र पपुलर एक–एक विधासमेत राखिएको छ ।
त्यसैगरी, अभिनेत्रीका लागि ‘क्लासिक’ बाट नम्रता श्रेष्ठ, ‘सुन्तली’ की प्रियंका कार्की र ‘भाग सानी भाग’ की केकी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । नव–अभिनेत्रीतर्फको अवार्डका लागि साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स), वर्षा राउत (नाइँ नभन्नु ल ४) र आश्मा डिसी (आभास) भिड्ने भएका छन् । नव–अभिनेताका लागि भने ‘होस्टेल रिटर्न्स’ बाटै सुशील सिटौला र सुशील श्रेष्ठ परेका । उनीहरु दुवैले ‘अधकट्टी’ का प्रदीप बास्तोलासँग भिड्नुपर्ने भएको छ । पटकथा लेखनतर्फ भने ‘पशुपति प्रसाद’ का खगेन्द्र लामिछाने, ‘कबड्डी कबड्डी’ का रामबाबु गुरुङ र उपेन्द्र सुब्बासहित ‘ड्रिम्स’ का सामीप्यराज तिमिल्सेनाबीच सर्वोत्कृष्टताको लागि प्रतिष्पर्धा हुनेछ । मनोनयनमा ‘क्लासिक’ नौ विधा, ‘कबड्डी कबड्डी’ ६ र ‘पशुपति प्रसाद’ ५ विधामा मनोनयनमा परेका हुन् ।
सन् २०१५ देखि यस वर्षको अप्रिल १५ सम्म रिलिज नेपाली फिल्मबाट नौ सदस्यीय निर्णायक समूहले गरेको मूल्यांकनका आधारमा उत्कृष्ट तीनको नामावली सार्वजनिक भएको हो । अवार्ड इनास सिक्किम च्याप्टरको सहकार्यमा अन्तरा इन्टरनेसनल प्रालिको व्यवस्थापनमा हुन लागेको हो । इनास अवार्डमा केही नेपाली फिल्ममा समेत अभिनय गरिसकेका अभिनेता डेनी डेञ्जोङ्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने रेग्मीले जानकारी दिए। 
नेपाली भाषा साहित्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई विश्व सम्मानद्वारा विभूषित गरिन लागिएको इनासले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ