arrow

विद्युत्भार कटौतीमुक्त अभियान निरन्तर : मन्त्री शर्मा

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
urjajanardan.jpeg
काठमाडौँ । सरकारले परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा लागू गरेको विद्युत्भार कटौती मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको विद्युत्भार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप विद्युत् आयात गर्ने विषयमा छलफल जारी रहेको जनाएको छ । 
 
ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री जनार्दन शर्माले प्राप्त भएकै स्रोतलाई परिचालन गरेर परिक्षणका रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको र त्यसलाई जारी राख्ने तयारी गरिएको बताए । साँझको समयमा उपत्यकामा ३०० मेगावाट विद्युत् आवश्यक भएपनि राति र बिहानको समयमा माग आधाभन्दा कममा घट्ने भएकाले व्यवस्थापन नै प्रमुख विषय रहेको उमको भनाइ छ । 
 
कुलेखानीको पानी सिध्याउने र उपत्यका बाहिर विद्युत्भार कटौती थप गरेर काठमाडौँमा नियमित विद्युत् दिइएको भनेर गरिएको प्रचारमा समेत सत्यता नरहेको भन्दै मन्त्री शर्माले मागअनुसार विद्युत् वितरण गर्न प्राधिकरण सक्षम हुने दाबी गरे। हाल एक हजार ४०० मेगावाट विद्युत्को माग भए पनि केन्द्रीय प्रणालीमा आठ सय मेगावाट बढी विद्युत् उपलब्ध भइरहेको र आगामी एक महिनाभित्र ४५ मेगावाट विद्युत् थप हुने उनको भनाइ थियो । 
 
यस्तै लामो समयदेखि अवरुद्ध रहेको चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको जानकारी दिँदै उनले खिम्ती ढल्केबर प्रसारण लाइन र ढल्केबरमा रहेको सवस्टेसनको निर्माणले समेत गति लिएकाले आगामी हिउँदमा सहज रुपमा विद्युत् उपलब्ध हुने बताए । 
 
पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल तथा ऊर्जा आयोगका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो तीन महिनामा भएका कार्यप्रगतिका बारेमा जानकारी दिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ