arrow

भ्रमणपछि उद्योगीहरुले भने–राजनितिक गतिरोध अन्त्य भए चीन लगानी गर्न आतुर छ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
biranagar-udhogi-news.jpeg

 विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा चीन भ्रमणमा गएको सात सदस्यीय प्रतिनिधि मण्डल १० दिनको भ्रमण सम्पन्न गरि फर्किएको छ ।

भ्रमण अत्यन्त फलदायी भएको र आफुहरुसँगको भेटघाटमा चिनियाँ पक्ष नेपालमा लगानी गर्न इच्छुक रहेको आफुले पाएको उनीहरुको भनाई छ । भ्रमणको बारेमा जानकारी गराउन भएको पत्रकार सम्मेलनमा विभिन्न जानकारी दिइयो ।

नेपाल चाइना काउन्सिलको विषेश समन्वयमा भएको भ्रमण दौरान कार्तिक १८ गते, चाइनाको औद्यौगिक शहर छेन्दुमा आयोजित कार्यक्रममा नेपाली प्रतिनिधि मण्डल सहभागि भयो ।

विभिन्न २० मुलुकको सहभागिता रहेको उक्त सम्मेलनमा आपसी व्यवसायिक हितका विषयमा छलफल भएको र संगठनका तर्फबाट नेपालमा लगानीका लागि अवसर र लगानीका सम्भावित क्षेत्रका बारेमा प्रस्तुती राखिएको पत्रकार सम्मेलनमा सुनाइयो । सोही कार्यक्रममा नेपालका तर्फबाट त्यहाँस्थित नेपाली राजदूतावास र नेपाल–चाइना काउन्सिलबाट समेत कार्यपत्र प्रस्तुत भए ।

कार्यक्रममा उद्योग संगठन मोरङ र काउन्सिलबीच समझदारी पत्रमा  हस्ताक्षर भयो । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र काउन्सिलका अध्यक्ष लि जोङले हस्तक्षर गरेको समझदारी पत्रमा आपसी व्यापार अभिवृद्धि गर्ने, दुवै संस्थाबीच निरन्तर सम्पर्क र समन्वय गर्ने, राजश्व दर, भन्सार दर लगायत व्यवसाय सम्बन्धि सूचना आदान प्रदान गर्ने, दुवै मुलुकमा हुने औद्योगिक प्रदर्शनीमा सहभागि हुने, लगानीका अवसरबारे जानकारी गराउने लगायतका विषय उल्लेख गरिएको छ ।

यस्तै, छलफलका क्रममा जलविद्युत, कृषि पर्यटन, खनिजजन्य क्षेत्रमा चीनका उद्योगीहरु नेपालमा लगानी गर्न ईच्छुक रहेको र यसको अध्ययन एवं संगठनद्धारा निकट भविष्यमा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा भाग लिन उक्त चेम्बरबाट एक प्रतिनिधि मण्डल नेपाल आउने तय भएको छ ।

यस्तै, २०७३ कार्तिक २५ गते वेईजिङस्थित नेपाली दूतावासमा संगठनका प्रतिनिधि मण्डल एवं कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरे, इकोनोमिक मिनिस्टर विनोद प्रसाद घिमिरेका साथ नेपाल चीन व्यापार प्रवद्र्धन, नेपालमा लगानीको वातावरण र अवसरका विषयमा छलफल गरिनुका साथै किमाथांका नाका र विगतमा नेपाल चीन सरकारबीच भएका सम्झौता कार्यान्वयनका लागि दुतावास सक्रिय रहनु पर्ने विषयमा समेत छलफल भएको छ ।

दश दिने भ्रमणमा संगठनको प्रतिनिधि मण्डलमा संगठनका अध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, उपाध्यक्षहरु सुयश प्याकुरेल, प्रदीप मुरारका, राजकुमार गोल्छा, कार्यकारिणी समिति सदस्य सुशील रिजाल एवं संगठनका महानिर्देशक सोमनाथ अधिकारी संलग्न थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ