arrow

तीन वर्षमा चालीस क्विन्टल रसायन तस्करी

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
crime.jpg.jpeg
काठमाडौं । टौरस फर्मा प्रालि र एसआर ड्रग ल्याबोरेटोरिज प्रालिले तीन वर्षमा करिब चालीस क्विन्टल स्युडोइफिड्रिन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 
 
दुवै कम्पनीले औषधि बनाउने भन्दै औषधि व्यवस्था विभाग र गृह मन्त्रालयसँग अनुमति लिएर ३ हजार ८ सय १० किलो स्युडोइफिड्रिन नेपाल भित्र्याएका थिए । 
 
लागूऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा भित्र्याइएको मध्ये ३ हजार ७ सय ६६ किलो स्युडोइफिड्रिन डाइभर्सन गरी लागूऔषध बजारमा पठाएको देखिएको छ । 
 
औषधि बनाउने नाममा नेपाल भित्र्याएर स्युडोइफिड्रिन भारत र चीन हुँदै लागूऔषधको अन्तर्राष्ट्रिय बजारमा तस्करी गर्ने गरेको आशंकामा लागूऔषध नियन्त्रण ब्युरोले औषधि उत्पादनको अनुमति लिएका दुवै कम्पनीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।
 
 अनुसन्धान सुरु भएलगत्तै दुवै कम्पनीका सञ्चालक अमित अग्रवाल, मधुसूदन अग्रवाल, सञ्जयकुमार गुप्ता, अक्षय अग्रवाल, आशिष अग्रवाल, अशोककुमार अग्रवाल, सुधा अग्रवाल, अमित अग्रवाल र श्रुति अग्रवाल फरार भएका थिए । 
 
फरारहरू एकै परिवारका सदस्य हुन् । यीमध्ये मधुसूदन पहिलो संविधानसभाका समानुपातिकतर्फका सभासदसमेत हुन् ।
 
नेपाल भित्रिएको स्युडोइफिड्रिन तस्करीको आशंकामा ब्युरो टोलीले आर्यफर्माबाट अनुसन्धान अगाडि बढाएको थियो । 
 
पवन संघाई सञ्चालक रहेको सो कम्पनीका अर्का सञ्चालक रतनलाल संघाईलगायतका ५ जना पक्राउ परेपछि टौरस र एसआरका सञ्चालक फरार भएका थिए । 
 
उनीहरू भागेको सूचनापछि प्रहरीले दुवै कम्पनीमाथि समेत अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा आर्यले १ अर्ब ९१ करोड रुपैयाँ बराबरको स्युडोइफिड्रिन तस्करी गरेको खुलेको थियो । 
 
आर्यका पवन, शंकरलाल हालनलगायतका फरार छन् । रतनलाई जिल्ला अदालत ललितपुरले धरौटी मागेको थियो भने मोहित हालनलगायतलाई पुर्पक्षका लागि थुना पठाएको थियो ।
 
दुई कम्पनीले औषधि बनाउन नेपाल भित्र्याएको स्युडोइफिड्रिन र उत्पादित औषधिको परिमाणमा मेल नखाएपछि अपराध दर्ता किताबमा मुद्दा दर्ता गरी ब्युरोले औपचारिक अनुसन्धान सुरु गरेको छ । 
 
२ महिनाको अनुसन्धानपछि तयार भएको प्रतिवेदनमा टौरस र एसआर ल्याबोटोरीले औषधि बनाउने भन्दै नेपाल भित्र्याएर दुरुपयोग गरेको स्युडोइफिड्रिनबाट बनेको मेथएमफेटाइम लागूऔषध खुद्रा बजारमा पुग्दा ३८ अर्ब ५५ करोड रुपैयाँ पर्ने खुलाइएको हो ।
 
‘दुवै कम्पनीले औषधि बनाउने भन्दै ल्याएको सहायक रसायन डाइभर्सन गरी लागूऔषध बजारमा पठाएको सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान गरिरहेका थियौं,’ ब्युरोका एसएसपी गणेश केसीले भने, ‘अनुसन्धानमा उनीहरूले सहायक रसायन डाइभर्सन गरेको पुष्टि भएपछि मुद्दा दर्ता पुस्तकमा मुद्दा दर्ता गरी औपचारिक अनुसन्धान अगाडि बढाएका छौं ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ