हात्तीको उट्पटयाङले खानेपानीको हाहाकार, पाइप नै उखेल्यो

प्रकाशित मिति : २०७३ मङ्सिर २ बिहिबार , ३,०४२ पटक हेरिएको
बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ । 
 
एक सातादेखि बर्दिवासको चुरे काछका बस्तीमा पसेका चारवटा हात्तीले बुधबारसाँझ पानी उर्रा खोल्सीमा बिछ्याइएको खानेपानी पाइप उखेलेपछि रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको हो । 
 
हात्तीले खानेपानीको तीनसय मिटर पाइप उखेलेर टुक्र्याइ दिएपछि खानेपानी लिन खोला झर्न परेको रजवासका बासिन्दाको भनाइ छ । 
 
यसअघि गत आइतबार बस्ती पसेको हात्तीले बस्तीका रामबहादुर बुजई र पाण्डव बुजईको घर भत्काएको र ३५ मुरी अन्न खाएर नोक्सानसमेत गरेको सो बस्तीका सामाजिक कार्यकर्ता हस्तबहादुर आलेले बताए । 
 
बस्ती पसेको हात्तीले सयौँ केराका बोट लाछेर क्षति पु¥याएको छ । जङ्गली हात्ती बस्ती पसेपछि स्थानीय बासिन्दा डरले घर छाड्न थालेका सोही बस्तीका रामबहादुर थापा बताउँछन् । सिन्धुलीको कमलाखुँजतिरबाट चुरे कटेर झरेका हात्तीले बर्दिवास नपाका पर्साहीधाप, पाटु, कालापानी, भुल्के, वरडाँडा लगायतका बस्तीमा दिनहुँजसो बालीनाली नोक्सान गरिरहेको छ । 
 
यसैबीच, हात्ती लघार्न ती बस्तीमा पुगेको प्रहरी टोली दिउँसो हात्ती नदेखिएपछि क्षति विवरण मात्र लिएर फर्किएको सर्वसाधारणले बताएका छन् । 
 
हात्ती दिनभरि घना जङ्गलभित्र पस्ने र रात परेपछि मात्र बस्ती पस्ने गरेको कालापानीका बासिन्दा इन्द्रबहादुर पुलामीले बताए । रासस 
नयाँ