भिजेको तन !

सन्ध्या सुवेदी प्रकाशित मिति : २०७३ मङ्सिर २ बिहिबार , ३,६०९ पटक हेरिएको
तस्वीर : वेभ
काठमाडौ । पानी दर्केको छ ।  म  सानो छाता ओढेर हिंडेकी छु तर म भिजेकी छैन । तैपनि भिज्छु कि , भन्दै  हिँड्दै थिए । एकाएक मेरा आँखा बाटो पारी  गयो । एउटा जोडी सानो छाता ओढेर हिँडिरहेका छन् । जानी जानी केटी भिज्न खोज्दैछे ! केटाले तानेर ल्याउँछ आफुतिर अनि बेसरी कँस्छ । लजाउँछे केटी । लाग्छ, उनीहरूलाई सारै मजा आएको छ भिज्नमा । गाडीले उछिट्टाएको पानीले भिजे उनीहरू । तापनि बेमतलब भएर अँगालिएर हिँडेका छन् । 
 
म फेरी सम्हालिन खोज्छु, म भिजें कि? भनेर, तर छैन भिजेकी । बाहिरी तन त ठूलो छाताले ओबानो नै राखेको छ । तर मेरो भित्री तन कता कता भिज्यो । उनीहरूलाई देख्दा !
 
छचल्कियो, पुरानो क्यानभास  । तिजको अघिल्लो दिन नारायणस्थान मन्दिरबाट फर्किँदा यस्तै ठूलो पानी परेको थियो । श्री कृष्णको कथा सुनेर फर्केकी म । कृष्णको पराक्रमी कथाले म रनभूल थिएँ । गोकर्ण र धुन्धुकारीका कथाले मलाई घुमाइरहेको थियो । मनमा तिनै कथा नाचेका छन् । 
 
ऊ र म संगै छौं । उसंग छाता थिएन,  मैले आग्रह गरेँ ,मेरो छाता ओढाएँ , तर उसले पर्दैन भन्दै थियो ,तैपनि ओढाएँ । म होँची ऊ अग्लो । मैले उसलाई ओढाउन सकिन । छाता उसलाई समाउन दिए । एउटा हातले छाता अर्को हातले हल्कासंग मलाई समायो । मैले पनि उसको हात तान्दै मतिर छाता ढल्काउन भन्थें !त्यसबेला अलि जोडले च्याँप्थ्यो मलाई । तर पनि मलाई भिज्न मन लागिरहेको हुन्थ्यो । 
 
तिमी मात्र ओढ भनेर भिज्न खोज्थे, उसको माया जाँच्न । तर ऊ जोडले तान्थ्यो र आफूसंगै टाँस्थ्यो । उस्को तातो स्पर्श भेट्थे मैले । लाग्थ्यो आज एउटा राम्रो ,न्यानो छहारी पाएकी छु ।
 
उसको स्पर्शले मनमा काउकुती लागेको छ । तरक्क तर्किएर नछोईकन हिँड्न खोज्छु । फेरी चुम्बकझैँ तान्छ, उसैले बिना स्पर्श  । म अचम्म पर्छु । छाता ओडाउँदै पकेट बाट रूमाल झिकेर मेरो निधारमा तर्केको पानी पुछ्दै भन्छ । 
 
लाटी भिज्नु हुँदैन, बिरामी भईन्छ ! त्यसो त उ पनि निथ्रुक्क थियो । मैले भनेँ, तिमी पनि भिजेको छौनी । ऊ हाँस्दै भन्थ्यो म भिजेर केही हुदैन ! तिमी भिज्नु भएन नि । गालामा चिमोट्यो र भन्यो  तानसेनको चिसोले सताउला फेरी ।  
 
बाटो काटेको थाहै नपाई कति छिटो मेरो घर आईपुगेछ । उसको घर अलि पर थियो । पानी थामिएकै थिएन । उसलाई छाता लैजाउ भनेको मानेन । म घर पुगेँ । 
 
“यत्रो ठूलो पानीमा किन भिज्दै आको ?आजकालका छाताले पानी छेक्तैनन् ओत लागेर नबसेर । ” भन्दै हुनुहुन्थ्यो आमा । आमालाई भन्न नि नभ्याको मन तात्यो आमा आज भनेर ।
 
के थाहा आमालाई, ऊ संग त्यो पानीमा भिज्नुमा कति आनन्द आएको थियो भनेर । म त्यो पानीले भन्दा पनि उसको न्यानो स्पर्शले भिजेकी थिँए । मेरो तनलाई छाताको बाछिटोले र मनलाई उसको स्पर्शले  निथ्रुक्क पारी भिजाईदिएको थियो ।
 
आज म उनीहरू भिजेको हेर्दा मेरो तन ओबानो भए पनि  हुरी बतास असिना आएको आभास भयो । लाग्यो “यस्तो ओबानो जिन्दगी भन्दा त त्यो भिज्नुमा कति मजा थियो है ।”
 
अहिले भिज्दा निधारमा तर्केको पानी पुछिदिने ऊ छैन । त्यसैले ठूलो छाता बोकेर हिँड्छु । ताकी पानीले नभिजाओस् । बाछिटाले पनि नछोओस् । किनकि न त निधारमा तर्केको पानी पुछिदिने उसको रुमाल  छ , न त भिजेको मनलाई सुकाउने स्पर्श ।
 
 
नयाँ