arrow

संविधान संशोधन र निर्वाचनबारे संसद्को ध्यानाकर्षण

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
parliament.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सांसदहरुले स्थानीय निकायको निर्वाचन मिति तोक्न, संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिनमा जोड दिएका छन् । 
 
बैठकको विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले सरकार जुन गतिमा हिँड्नुपर्ने हो, त्यो गतिमा हिड्न नसकेको बताउँदै संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गरे। 
 
नेपाली काँग्रेसका दीपक खड्काले पुरानो संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन मिति समयमा तोक्नुपर्ने बताए । नेकपा (एमाले) का गङ्गालाल तुलाधारले सांसद् विकास कोषअन्तर्गत पाँच लाख विनियोजन गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। सोही पार्टीका डा गणेशमान गुरुङले विभिन्न विश्वविद्यालयमा तोडफोड र पदाधिकारीमाथि भएका आक्रमण रोक्न सरकारसँग माग गरे। 
 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रेशमबहादुर लामाले १७ हजार जनतासँग साटेर ल्याएको गणतन्त्रमा सुशासन नभएको भन्दै चिन्ता व्यक्त गरे। मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेलले वन संरक्षणमा ध्यान दिन सरकारलाई आग्रह गरे। तराई– मधेस लोतान्त्रिक पार्टीका नरसिंह चौधरीले सरकारले जनताका लागि ल्याइएका राहतमूलक कार्यक्रमलाई निरन्तरता दिन जोड दिए । 
 
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सांसदहरुको सुविधा सम्बन्धी विधेयक संशोधनमा सांसदहरुले नयाँ प्रस्ताव नल्याएको बताउँदै यसबारे संसद् सचिवालयले गतल सूचना बाहिर दिएको गुनासो गरे। नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले संसद्को मर्यादाका लागि सांसदहरु नियमित बैठकमा आउनुपर्ने बताए । 
 
यस्तै शून्य समयमा सांसदले सडक निर्माण, भूकम्पपछिको पुनःनिर्माण, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, जनस्वास्थ्य आदिबारे सदनको ध्यानाकर्षण गराए । सांसदहरु राजाराम स्याङ्ताङ्, राज्यलक्ष्मी श्रेष्ठ, रामअयोध्याप्रसाद यादव, रामवीर यादव, रामहरि सुवेदी, रामहरि खतिवडा, ललिताकुमारी रेग्मी, रीता रावल, लक्ष्मणप्रसाद पोखरेलले शून्य समयमा बोलेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ