arrow

स्वास्थ्य मन्त्रालयको अनुगमनले क्लिनिक ‘दर्ता–नविकरण’ गर्नेको थेगिनसक्नु भीड !

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन सुरु गरेपछि दर्ता तथा नविकरणका लागि निवेदन दिने क्लिनिक तथा फार्मेसीहरुको संख्या अधिक बढेको छ ।

अवैध रुपमा सञ्चालन हुँदै आएका क्लिनिक तथा फार्मेसीहरुलाई धमाधम सिलबन्दी गर्न थालेपछि अहिले जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा दर्ता तथा नविकरणका लागि निवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले खटाएको स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय प्रहरी लगायतका विभिन्न निकायको संयुक्त टोलीले गत कात्तिक २९ गते देखि काठमाडौ र ललितपुर जिल्लामा अनुगमन गरिरहेका छन् ।

६ दिनमा झण्डै दुई सय क्लिनिक तथा फार्मेसीको अनुगमन गर्दा झण्डै ४० वटा अवैध भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अवैध ठहर ती क्लिनिक र फार्मेसीहरुमा सिलबन्दी नै भएको छ । सिलबन्दी हुनेमा अधिकांश क्लिनिक छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौमा अनुगमन सुरु भएपछि दर्ता तथा नविकरणका लागि निवेदन दिने क्लिनिकहरुको संख्या झण्डै १० गुणा बढेको छ ।
 
कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठले पहिला पहिला हप्तामा ४, ५ ओटा मात्रै निवेदन आउने गरेकोमा अहिले दैनिक २० ओटासम्म आउने गरेको जानकारी दिए । उनले भने, ‘कार्यालयमा अहिले क्लिनीक सञ्चालकहरुको भिड लाग्न थालेको छ, खुट्टा टेक्ने ठाउ छैन । अनुगमनले निकै प्रभाव पारेको देखिएको छ ।’

पूर्वाधार निर्माणका लागि स्विकृति लिन, पूर्वाधार अवलोकन गरेर संचालन अनुमती लिन र नविकरणका लागि निवेदन दिनेहरुको सख्या अधिक रहेको श्रेष्ठले बताए । प्रमुख प्रशासक श्रेष्ठले पूर्वाधार निर्माण गरेर संचालनका लागि स्विकृति माग्नेहरुको पूर्वाधारको अनुगमन गर्नु पर्ने काम पनि एकाएक बढेकाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई भ्याई नभ्याई भएको सुनाए ।

स्रोत साधन र जनशक्ति अभावले निवेदन दिएकाहरुलाई तत्काल स्विकृति दिन सकिने अवस्था समेत नरहेको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा पनि अनुगमन हुन थालेको खवर पाएपछि त्रसित भएका क्लिनिकहरु अहिले दैनिक झण्डै १३ बढी संख्यामा आउन थालेका छन् ।

‘दर्ता तथा नविकरणका लागि आउनेहरुको संख्या थामिनसक्नु भएको छ’,  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले भने । क्लिनिकहरु दर्ता भएर नियममा बाधिएपछि जनताले गुणस्तरीय सेवा पाउनुका साथै राजश्य संकलनमा पनि टेवा पुग्ने पौडेलले बताए ।

मन्त्रालयलाई सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार  काठमाडौमा ४१५, ललितपुरमा १७१ र भक्तपुरमा २१ अस्पताल, क्लिनिक  र पोलिक्लिनिक मात्र दर्ता भएका छन् । काठमाडौं उपत्यकामा झण्डै १६ सयको हाराहारीमा दर्ता नभएका क्लिनिक रहेको मन्त्रालयको अनुमान छ ।

मन्त्रालयले अहिले जारी अनुगमन दुई सातासम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधार छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वयंसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ । कुनै निजी स्वास्थ्य संस्था स्वीकृत र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ