arrow

काठमाडौंमा यस्ता सुन्दर पुल थपिदै

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
bridge-ktm.jpeg
काठमाडौं। माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना, अर्धवृत्ताकार संरचनामा बलिया तार जडान। बीचमा न कुनै पिलर। सवारी गुड्ने भागमा चिल्ला र आकर्षक कालोपत्रे। सँगै पैदलयात्रु हिँड्ने छुट्टै फुटपाथ। टाढैबाटसुन्दर र आकर्षक देखिने सजावटसहितका चारवटा पुल राजधानीमा छिट्टै निर्माण हुँदैछ।
 
नेपालमै पहिलोपटक तीनकुने–माइतीघर सडक खण्डअन्तर्गतको धोबिखोला र बागमतीमा बनाउन सुरु गरिएको नयाँ प्रविधियुक्त पुलको विवरण हो। आठ लेन फराकिलो उक्त सडकमा नेपालमै पहिलोपटक आर्क (अर्धवृत्ताकार संरचना) प्रविधिमा 'नेटवर्क आर्क ब्रिज' निर्माण सुरु भएको छ। यो पुल हेर्दा अन्य पुलभन्दा छुट्टै देखिन्छ।
 
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले धोबिखोलामा दुई र बागमतीमा दुई गरी चारवटा आर्क प्रविधिका पुल बनाउन लागेको हो। आयोजनाका अनुसार हालसम्म नेपालमा यो प्रविधिका पुल बनाइएको छैन। आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार पुल निर्माणको काम धोबिखोलामा सुरु भइसकेको छ भने बागमतीमा बनाइने पुलको अन्तिम डिजाइन स्वीकृतिकै क्रममा रहेको प्रविण ढकालले नागरिकमा लेखेका छन्।
 
'नयाँ प्रविधिअनुसार बनाइने यस्तो पुल निर्माणको लागत सस्तो पर्नुका साथै बलियो र सुन्दरसमेत हुनेछ,' उनले भने, 'बंगलादेश तथा अन्य देशमा यो प्रविधि लोकप्रिय भए पनि नेपालमा बल्ल सुरु भएको हो।'
 
पुल डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर राधाकृष्ण मल्लिकका अनुसार अन्य पुलमा जस्तो पिलर नहुने यस्तो पुलमाथि सवारीसाधन गुड्दा त्यसको भार अर्धवृत्ताकार संरचना (आर्क) र त्यसमा जोडिएका तार हुँदै पुलकै दुवै किनारमा बनाइएको संरचना ( एब्युटमेन्ट) माथि पर्ने गर्छ।
 
'लामा–लामा पुल बनाउन यो प्रविधि प्रयोग गर्ने गरिन्छ,' उनले भने, 'यस्ता पुल बलियो हुनुका साथै छोटो समयमा निर्माण गर्न सकिन्छ।'
 
धोबिखोलामा पुल निर्माणको जिम्मा जेई कन्स्ट्रक्सन प्रालिले पाएको छ। उक्त कम्पनीले पुल निर्माणको काम अगाडि बढाइसकेको छ। धोबिखोलाको हाल सञ्चालनमा रहेको पुलको तल्लो भाग र माथिल्लो भागमा आर्क पुल बनाउन सुरु भएको हो।
 
धोबिखोलामा बनाइने पुलको लम्बाइ ५०.३ मिटरको हुनेछ। पुलको चौडाइ भने तीन लेनको १२ मिटर हुनेछ। सवारी गुड्ने चौडाइसहित पुलमा दुई मिटर चौडाइको फुटपाथसमेत हुनेछ। जेई कन्स्ट्रक्सनका सिनियर प्रोजेक्ट म्यानेजर राधाकृष्ण देवका अनुसार पुलको आर्क सिमेन्ट, कंक्रिट र रडबाट निर्माण हुनेछ। प्राविधिक रुपमा आर्कमा प्रयोग हुने सामग्रीलाई रेनफोर्स सिमेन्ट कंक्रिट (आरसिसी) भनिने उनले जानकारी दिए।
 
उनका अनुसार 'आर्क' लाई पुलको तल्लो भाग (सवारीसाधन गुड्ने संरचना) सँग बलिया तारले जोडिएको हुन्छ र ती तारलाई पुलको दुवै किनारमा बनाइएको एब्युटमेन्टसम्म लगेर जोडिन्छ जसले पुलको सम्पूर्ण भार दुवै किनारमा बनाइएको एब्युटमेन्टमा पर्न जान्छ। पुल र सवारीको भार थाम्ने गरी एब्युटमेन्टको निर्माण हुने देवले जानकारी दिए।
 
धोबिखोलामा बनिरहेको पुलको अनुमानित लागत १३ करोड १३ लाख २५ हजार छ। पुल निर्माणको काम धमाधम अघि बढे पनि खानेपानीका पाइप र बिजुलीको पोलका कारण काममा अवरोध भइरहेको देवले जनाए।
 
'यो आर्थिक वर्षभित्र धोबिखोलाको एउटा पुलको रुपरेखा तयार गरिसक्ने गरी काम अघि बढाइरहेका छौँ,' उनले भने, 'तर पुलको जग तथा दुवै किनारामा संरचना निर्माण अगाडि बढाउन खानेपानीका पाइप र बिजुलीका पोलले समस्या पारिरहेको छ।' उनले तल्लो भागको पुलको रुपरेखा तयार पारेपछि माथिल्लो भागमा बनाइने पुलको काम अघि बढ्ने जानकारी दिए।
 
धोबिखोलाको पुलभन्दा बागमतीमा बनाइने पुलको लम्बाइ भने बढी छ। बागमतीमा बनाइने दुवै पुलको लम्बाइ ८५.२२ मिटरको हुनेछ। तीनकुनेको बागमतीमा बन्न लागेको पुलको अनुमानित लागत २१ करोड १३ लाख २५ हजार रहेको आयोजनाले जनाएको छ। धोबिखोलाको झैँ बागमतीको पुल पनि १२ मिटर चौडाइको हुने र दुई मिटर फराकिलो फुटपाथ हुनेछ। बागमतीमा बनाइने पुलको अन्तिम डिजाइन पास हुन बाँकी रहे पनि धोबिखोलाकै झैँ आर्क प्रविधिमै बनाइनेछ। चारवटै पुल निर्माण काम दुई वर्षभित्र सक्ने आयोजनाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ