arrow

एक कलको शुल्क तीन सय !

logo
कमल खत्री,
प्रकाशित २०७३ मंसिर ६ सोमबार
beni-takam-bata-himal.jpeg
म्याग्दी। एक मिनेट फोन गरेको शुल्क कति लाग्ला  दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो । 
 
मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेटतीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो । त्यहाँ उनले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट तीन सय र नेपालीलाई  दुई सय शुल्क लिने गरेका छन् । 
 
स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ शुल्क काट्ने हुँदा आफूले प्रतिमिनेट तीन सयसम्म शुल्क लिने गरेको तिलिजाले बताए । तीन वर्षअगाडि  एक लाख ४५ हजारमा स्याटलाइट प्रविधिको फोन र  १२ हजार पाँच सयमा विदेशी नंम्बरको सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिए । “यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्,” तिलिजाले भने। 
 
उक्त स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरि पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ । बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गरेपनि  त्यो भरपर्दो छैन । मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ । 
 
धौलागिरि आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौँ पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीयवासीको भनाइ छ । सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ