जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

प्रकाशित मिति : २०७३ मङ्सिर ७ मंगलबार , १,९९२ पटक हेरिएको
तस्वीर – एजेन्सी
सोलुखुम्बु । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६÷७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन् । 
 
चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर मङ्सिरमा भित्र्याउने समयमा निकै सप्रियो भने बढीमा आठ पाथी उत्पादन हुन्छ नत्र पाँच÷छ पाथी मात्रै हो । 
 
छेस्काम–९ बाछित्तोमा धुमधामसँग रोपाइँ गरिएको खेतबाट बीउ बराबर मात्र उत्पादन भएपनि रोप्नैपर्ने बाध्यता छ । यसको कारण हो वर्षभरिका लागि चाहिने अक्षता । 
 
कुलुङको कुलदेवता बुझाउन र बिरामी परेमा झारफुक गर्नका लागि स्थानीय उत्पादनकै धान÷चामल चाहिने विश्वास रहेकाले अक्षताकै लागि उनीहरु रोपाइँ गर्छन् । 
 
“कुनै बेलामा त बीउ आउन पनि मुस्किल पर्छ” छेस्काम–६ का सरला कुलुङले भन्नुभयो, “बर्सेनि पाँचपाथी धानको बीउ रोप्छु, एकपटक धेरै सप्रिँदा आठ पाथी भित्राएँ, नत्र छ सात पाथी मात्रै हो ।” 
 
छेस्काम–६ कै विष्णुमाया कुलुङ पनि रोपाइँमा त्यत्तिकै श्रम खेर गइरहेको भएपनि अक्षताकै लागि रोपाइँ आवश्यक रहेको बताउँछन् । भन्छन्, “खानको लागि चामल त देउसाको बुढीडाँडाबाट किनेर ल्याइन्छ, तर वर्षभरिका लागि अक्षता त चाहियो नि ! चार पाथी रोप्दा छ, सात पाथी फल्छ, त्यसबाट चारपाथी त अर्को साललाई बीउ चाहिन्छ, बाँकीले वर्ष दिनलाई अक्षता पु¥याउनुपर्छ ।” 
 
उत्पादन निकै कम हुने भएपनि अक्षताका लागि उनीहरुले अहिलेसम्म धान रोप्न छाडेका छैनन् । कुलपूजा, बिरामी पर्दा अक्षताजस्ता काममा स्थानीय उत्पादनकै धान÷चामल अनिवार्य चाहिने भएकाले धान रोप्नु उनीहरुको बाध्यता हो । 
 
उनीहरु धानको पराललाई घाँस तथा गुन्द्री बन्न प्रयोग गरेर श्रमको मूल्य पाएको भन्दै चित्त बुझाउँछन् । रासस 
नयाँ