arrow

पेरिस ओलम्पिकको सुरक्षा चुनौतीका लागि विदेशी प्रहरी र सेनाको सहयोग माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
china-olympic.jpeg

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको आयोजक फ्रान्सले शताब्दीमा राजधानी पेरिसमा हुने पहिलो खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ । 

यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी अधिकारीलाई पठाउन सक्ने हो कि होइन भनी ४६ मुलुकलाई सोधेको बताएको छ । प्रतियोगिता जुलाई २६ देखि अगस्ट १५ सम्म हुँदैछ ।

गृह मन्त्रालयले विदेशी सुरक्षा सहायताका लागि जनवरीमा अनुरोध गरिएको बताएको छ । यसमा करिब दुई हजार एक सय ८५ सुदृढीकरणको माग गरिएको थियो । मन्त्रालयका अनुसार अधिकारीहरूसँग खेलहरूको सुरक्षा, ‘दर्शकहरूको अनुभव’ र ‘अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन’ सहयोग मागिएको हो । 

“यो प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि आयोजक देशहरूको क्लासिक दृष्टिकोण हो”, मन्त्रालयले भनेको छ । फ्रान्सले सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगितामा आफ्ना दुई सय जवानलाई पठाएको र गत वर्ष फ्रान्सले आयोजना गरेको रग्बी विश्वकपका लागि अन्य युरोपेली सुरक्षा बलका एक सय ६० अधिकारीलाई स्वागत गरिएको मन्त्रालयले बताएको छ । 

सेनाका जनरल स्टाफका प्रवक्ता कर्णेल पियरे गौडिलियेरले भने, “फ्रान्सेली रक्षा मन्त्रालयले खोजी कुकुरहरूको टिमसहित खेलहरूमा ‘अत्यन्त विशिष्ट’ कार्यमा सहयोग पुग्न सकोस् भनेर विदेशी मुलुकहरूबाट ‘सानो सङ्ख्या’ मा सैन्यकर्मीहरूको माग गरेको छ ।”

पोल्यान्डका रक्षामन्त्रीले आफ्नो मुलुकले पेरिस खेलकुदमा सैनिक पठाउने बताए । पोलिस सशस्त्र बलको प्रतिनिधिमण्डलमा कुकुर ह्यान्डलरलाई पनि समावेश गरिने भन्दै मन्त्री भ्लाडिस्लाभ कोसिनिक–कामिजले सामाजिक सञ्जाल एक्समा भने, “यसको मुख्य लक्ष्य भनेको विस्फोटकहरू पत्ता लगाउने र आतङ्कवादी घटनाहरूको प्रतिरोध गर्न सम्बन्धित गतिविधिहरू सञ्चालन गर्नु हो ।”

इस्लामिक चरमपन्थीहरूद्वारा बारम्बार घातक हमलाबाट प्रभावित र एक करोड ५० लाख आगन्तुकहरू आउने अपेक्षा गरिएको सहर पेरिसमा ओलम्पिक खेल आयोजकहरूका लागि सुरक्षा सबैभन्दा ठूलो चुनौती हो । उद्घाटन समारोहका लागि सुरक्षासम्बन्धी चिन्ता विशेषरूपमा धेरै छ । उद्घाटन समारोहमा सिन नदीको किनारमा डुङ्गाहरू र तटबन्धनबाट हेर्नेको ठूलो भीड हुनेछ । 

हालै रुसको एक कन्सर्ट हलमा भएको घातक हमला र हमलाको इस्लामिक स्टेटले जिम्मेबारी लिएपछि फ्रान्स सरकारले आफ्नो सुरक्षा सतर्कतालाई उच्चतम स्तरमा बढाएको छ । 

फ्रान्सेली प्रधानमन्त्री ग्याब्रियल अटालले सामाजिक सञ्जाल एक्समा निर्णयको घोषणा गर्दै भने, “मस्को हमलाका लागि इस्लामिक स्टेटको जिम्मेबारी र दाबी तथा हाम्रो मुलुकमा मडारिरहेको खतरालाई अधिकारीहरूले ध्यानमा राखिरहेका छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ