arrow

संविधान संशोधन नभए देशब्यापी आन्दोलन हुन्छः यादव

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
upendra-yadav-600x0.jpg.jpeg
राजविराज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्वोधन गर्न वर्तमान सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताएका छन् । 
 
सप्तरीको मल्हनियामा आयोजित पार्टी प्रवेश एवम् जनसभालाई सम्वोधन गर्दै उनले ‘मधेसको माग सम्वोधन गर्न सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प छैन, अब हुने सङ्घर्षको स्वरुप निर्णायक हुनेछ भने ।
 
अध्यक्ष यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सङ्घीय गठबन्धनको तर्फबाट दिइएको १५ दिने अल्टिमेटमको समयावधिसमेत सकिन लागेको चर्चा गर्दै आफूहरु शालिन भएर प्रस्तुत हुँदै आएकोमा ठूला भनाउने दलहरुले मधेसको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको आरोप लगाए ।
 
मधेस आन्दोलन र मधेसको माग अन्तर्राष्ट्रियस्तरमासमेत स्थापित भइसकेको बताउँदै उनले भने – ‘मधेसी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जान दिने छैनौँ, मधेसको हक अधिकार संविधानमा उल्लेख नभएसम्म यो संविधान औचित्यहीन हुनेछ ।’ 
 
कार्यक्रममा फोरम नेपालका वरिष्ठ नेता अशोक राईले अस्तित्व, स्वाभिमान र पहिचानका लागि मधेसबाट सुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने धारणा व्यक्त गरे ।  
 
‘मधेस आन्दोलनलाई दुनियाको कुनै पनि ताकतले रोक्न सक्दैन, माग पूरा नभएसम्म आन्दोलन चलिरहन्छ’ उनले भने ‘मधेसको माग आदिवासी, जनजाति, दलित तथा शोषित उत्पीडित सबैको माग हो ।’ 
 
वरिष्ठ नेता राई सङ्घीय गठबन्धनको माग सम्बोधन गर्न दलहरुले आनाकानी गरिरहेकाप्रति आक्रोश व्यक्त गर्दै माग सम्बोधन नगरे राज्यले यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुने बताए । 
 
‘यो आन्दोलन मधेसको मात्र हो भने ठान्नु शासकहरुका लागि ठूलो भूल हुनेछ’ उनले भने –‘यो आन्दोलन मधेस, पहाड र हिमालका शोषित उत्पीडित एवम् विभेदमा पारिएकाहरुको आन्दोलन हो, माग सम्बोधन नभए अबको आन्दोलनलाई राष्ट्रियव्यापी रुपमा भयावह एवम् निर्णायक आन्दोलनको रुपमा अगाडि बढाउने छु ।’ 
 
पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् दुई नम्बर प्रदेश प्रमुख रेणु यादवले अझैं पनि आफूलाई ठूला भनाउने दलहरुले संविधान संशोधन गर्न आनाकानी गरेर नौटङ्की गरिरहेकाले सशक्त आन्दोलनको आवश्यकता औँल्याइन् ।  रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ