arrow

राष्ट्रपति भण्डारीले बाबा रामदेवको योग शिविरको उद्घाटन गर्दै, सुरक्षा व्यवस्था कडा

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
ramdev.jpeg
वीरगन्ज । वीरगन्जमा बिहीबारदेखि सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार अपरान्ह यहाँ आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । 
 
वीरगन्ज नगर प्रवेश गर्ने नाका, टोल र चोकमा प्रहरीले चेकजाँच र सतर्कता बढाएको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । 
 
राष्ट्रपति भण्डारी र योगगुरु बाबा रामदेवको वीरगन्ज आगमनलाई लक्षित गरी जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी संयुक्त सुरक्षा योजना बनाएर सुरक्षाकर्मीलाई परिचालन गरिएको हो । 
 
पाँच दिनसम्म चल्ने योग शिविर अवधिभर सुरक्षालाई दृष्टिगत गरी वीरगन्जमा रहेका होटलमा पनि निगरानी बढाइएको छ । 
 
वीरगन्जसँग जोडिएका भारतीय नाकामा समेत चेकजाँच बढाइएको छ । योग शिविर उद्घाटन गर्न बुधबारै राष्ट्रपति भण्डारी यसतर्फ आई बारा जिल्लाको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले बताए । 
 
योगगुरु स्वामी रामदेव र आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यको उपस्थितिमा बीरगन्जको आदर्शनगर रंगशालामा बिहीबार हुने योग शिविर र बाराको प्रसौनी–२ मा रहेको पतञ्जलि आयुुर्वेद प्रालिको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
 
उद्घाटन कार्यक्रम सम्पन्न भएपछि राष्ट्रपति भण्डारी बिहीबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । 
 
राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने योग शिविरको सम्पूर्ण तयारी पूरा भएको शिविर तयारी समितिका संयोजक विजय सराबगीले बताए । 
 
विभिन्न स्थानमा ३५ वटा स्वागतद्वार बनाइएको छ भने तीनसय ५० वटा फ्लेक्स बोर्ड राखिएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ