arrow

रामदेवको आगमन पछि के होला मल्लकालीन ‘सिंहदरबार बैद्यखाना’को अवस्था ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
singhdurbar-baidhya-khana.jpeg
काठमाडौं । मानव जातिको सृष्टिहुनुपूर्व नै ब्रह्माले एकलाख श्लोक र एक हजार अध्याय भएको श्लोक औषधिउपचारको लागि काम लाग्ने गरी रचना गरेको पूर्वीय इतिहासमा उल्लेख गरिन्छ । जे भएपनि व्यवहारिक रूपमा कुरा गर्दा प्रकृतिको विकास र मानव प्रजातिको विकाससँगै प्रकृतिमा पाईने झारपातहरुबाट आफूलाई लागेको रोगको औषधि मूलो गर्न थालियो । यसरी प्रयोग गरिएको जडिबूटीले रोग विसेक भएको खण्डमा त्यसलाई औषधि भनियो र निको नभएको खण्डमा अर्काे औषधिको विकल्प खोजियो । 
 
यही प्रवृत्ति अहिलेसम्म पनि चलिरहेकै छ । अहिले २१औं शताव्दीको दोस्रो दशकसम्म आईपुग्दासम्म पनि आयूर्वेद विश्वमा एउटा दीगो र विश्वासिलो औषधिमूलोको रुपमा जनजनको मनमा बस्न सफल भएको छ । 
 
नेपालमा पनि आयुर्वेदिक औषधिको प्रयोग प्राचीनकालदेखि नै सुरु भएको भएपनि राजकाजबाट नै यसलाई मान्यता दिने प्रचलन भने भने मल्लकालदेखि मात्रै सुरूभएको मान्यता छ । अहिलेसम्मको प्राप्त इतिहासलाई आधारमान्दा करिब ४०० वर्ष अगाडि राजा प्रताप मल्लको पालामा हनुमानढोका दरबारमा स्थापना गरिएको बैद्यखाना राणा शासनको सुरुवात भएपछि जंगबहादुर राणाले यसलाई थापाथलीमा स्थानान्तरण गरेका थिए । 
 
त्यहाँबाट जुद्ध शम्शेरको पालामा सिंहदरबारमा सारिएपछि भने यसको नाम पनि सिंहदरबार बैंद्यखाना राखिएको त्रिवि अन्तर्गत्को आयुर्वेद क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र राज सापकोटा बताउँछन् । 
 
यो बैद्यखाना दक्षिण एशियाकै सबैभन्दा पुरानो प्राचिनतम संस्था हो । शास्त्रीय ढङ्गबाट सदीयौंदेखिको परम्परालाई धान्दै आएको सिंहदरबार बैद्यखाना अहिले गठन आदेश २०५२ अनुसार सिंहदरबार बैद्यखाना विकास समितिको नामबाट सञ्चालनमा आईरहेको छ । 
 
उता, इतिहास बोकेको र जनताको विश्वास पनि बटुलिरहेको संस्थाले प्रभावकारी रुपमा औषधि उत्पादन गर्न नसक्दा ऐतिहासिक संस्थाको भर पर्न सक्ने अवस्था नरहेको गुनासाहरु पनि आउने गरेका छन् । पछिल्लो समय खुलेका विभिन्न औषधि उद्योगका प्रकृति बैद्यखानाको भन्दा भिन्न त रहेको छ तर पर्याप्त मात्रामा औषधि प्रयोग गर्न नसक्दा मानिसहरु पूर्ण रुपमा यसलाई भरोषा गर्नसक्ने अवस्थामा भने रहेका छैनन् । 
 
कस्तो छ समितिको अहिलेको अवस्था 
समिति अहिलेसम्म पूर्ण सरकारी निकायको रुपमा कामगर्दै आएको संस्था हो । यसलाई चाहिने रकमहरु सरकारी कोषबाट नै जाने गरेको छ । सरकारले गत आर्थिक वर्षको लागि यस समितिको लागि कूल ५ करोड ७२ लाख ५३ हजार विनियोजन गरेकोमा समितिले कूल ३ करोड १५ लाख ६ हजार रुपैयाँ खर्च गरेको समितिका प्रबन्धनिर्देशक डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए । 
 
उनका अनुसार थोरै जनशक्तिमा इतिहासदेखिको जनमानसमा रहेको विश्वास जोगाउने चुनौती समितिसामू रहेको भन्दै गिरीले कुनै निर्णय गराउन लामो प्रक्रिया पूरा गर्नुपर्ने समस्याकै कारण समितिले समयमा नै विभिन्न किसिमका औषधिहरु निकाल्न नसकिरहेको जानकारी दिए । 
समितिमा अहिले अधिकृत तह, सहायक तह र सहयोगी गरी कूल ६४ जना रहेको समितिले जनाएको छ । जसमध्ये पनि प्राविधिक तर्फ जम्मा ४६ जना र प्रशासनिक तर्फ जम्मा १८ जना रहेका छन् । 
 
नेपाली आयुर्वेद जगतमा रामदेवको उदय 
नेपाली आयूर्वेद जगतमा अहिलेसम्म नेपालमा त्यस्ता ठूला लगानीमा सञ्चालन हुने आयुर्वेद सम्बन्धि संस्थाहरु खुलेका छैनन् । जसका कारण पनि सिंहदरबार बैद्यखानाका उत्पादनहरुले बढी प्रभावकारी नभएपनि बजारमा स्थान पाउने गरेको छ । 
 
एक हिसावले भन्दा आयुर्वेदको बजारमा राम्रै हिस्सा पनि छ । तर, दक्षिण एशियाकै जेठो आयुर्वेद संस्थालाई टक्कर दिनको लागि रामदेवले यसै क्षेत्रमा एक खर्ब लगानी गर्ने घोषणा गरेका छन् । 
 
योगबाट आफ्नो औषधिको ब्राण्ड बनाएका रामदेवको आयुर्वेदिक औषधिले नेपालमा पनि राम्रै बजार हिस्सा ओगटेको छ । रामदेवले मंगलबबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रामदेवले यस्तो बताएका हुन् । उनको पतञ्जलि ब्राण्डका विभिन्न उत्पादनहरुको नेपालमा बजारहिस्सा वार्षिक एक अर्बभन्दा बढी रहेको आकलन गरिएको छ । 
 
उनले ५÷१० वर्षमा नै २० हजारलाई प्रत्यक्ष रोजगारी र एक लाखलाई अप्रत्यक्ष रोजगारी दिने गरी आयुर्वेदको ठूलो उद्योग खोल्ने बताएका छन् । जवकी अहिलेको सिंहदरबार बैद्यखानामा जम्मा ६४ जनाको दरबन्दी रहेको छ । 
 
यस्तो अवस्थामा के होला अवस्था ? 
यो सबैको लागि चिन्ताको विषय हो कि नेपालमा ठूला लगानीमा आयुर्वेदिक उद्योगको स्थापना हुने र सरकारी लगानीको यो उद्योगलाई भने विकास पनि नगर्ने हो भने यो मल्लकालीन आयुर्वेदिक औषधालयको हविगत के होला ? 
 
दक्षिण एशियामा नै सबैभन्दा पुरानो आयुर्वेदिक संस्थाको रुपमा रहेको यो संस्थाको अहिलेसम्मको ऐतिहासिक सेवा रोकियो भने मुलुकको लागि कत्तिको नोक्सानी होला ? यो रामदेवको घोषणासँगै धेरै मानिसको मनमा छाउन थालेको चिन्ताको विषय हो । 
 
डा. गिरी यसलाई सरकारले प्राथमिकतामा राख्न नसकेको बताउँछन् । अन्य प्रतिस्पर्धी उद्योग आए भनेर मात्रै होईन कि जनताको मनमनमा पुग्न सकेको यो उद्योगलाई दक्ष जनशक्तिको दरबन्दी थप गर्ने र प्रविधिको समयानूकुल व्यवस्था गर्दै जाने हो भने यसले नेपालको औषधि उत्पादनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँछन् । 
 
बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्ने हो भने यसको क्षमता अभिवृद्धि तर्फ सरकारले महत्वपूर्ण कदम चाल्नुपर्ने उनको भनाई थियो । 
 
उता जानकारहरु भने रामदेवको यो अभियानबाट सबैभन्दा पीडित हुने भनेको नै सिंहदरबार बैद्यखाना रहेको बताउँछन् । उनीहरू आयुर्वेदिक औषधालयको क्षेत्रमा रहेको एकमात्रै संस्था भनेपनि हुन्छ । 
 
तर यस्तो संस्थाको पनि उत्पादन र बजार व्यवस्थापन त्यति प्रभावकारी नभएको अवस्थामा रामदेवको पतञ्जलिको उत्पादन नेपालमा सुरू हुनु भनेको नेपालको ऐतिहासिक संस्थामाथिको प्रहार रहेको विश्लेषण गर्नेहरुको पनि कमि रहेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ