arrow

मनुस्मृति : धर्मग्रन्थ कि राजनीतिक ग्रन्थ ?

यस्ता छन् धर्मको नीति भित्र राज्य व्यवस्थाको मीठो स्वाद

logo
डा‍ प्रकाश ढकाल,
प्रकाशित २०७३ मंसिर ११ शनिबार
Manusmriti_Book.jpeg
विषय प्रवेश
 
प्राचीन वैदिक संहिताको रूपमा रहेको ऋग्वेदले विश्वका सबै शासनादि घटनालाई ‘ऋत’ मानेको छ । ‘ऋत’ सार्वभौम नियम हो । यसैमार्फत् ब्रह्माण्डीय नियमान्तर्गत सम्पूर्ण विश्व घटना व्यवस्थित हुन्छ भनी मानेको छ । ऋत भनेको सार्वभौम ब्रह्माण्डीय नियम व्यवस्थाको अभिव्यक्ति हो । यसै ईश्वरीय सार्वभौम व्यवस्थाद्वारा सामाजिक ढाँचा निर्माण हुन्छ र सामाजिक राजनीतिक स्थिति निर्माण गर्दै औचित्य स्थापना गर्दछ ।
 
यसरी नै देशमा सार्वभौम, ब्रह्माण्डीय व्यवस्था(ऋत)लाई सृष्टिको व्यवस्थाको रूपमा  स्थापित गर्ने काम भयो । धर्म शब्द कानून, नियम, कर्तव्य आदि अर्थमा परिभाषित गरिएको देखिन्छ । 
 
हिन्दु परम्परामा राज्य सञ्चालन गर्नको निमित्त आवश्यक पर्ने विभिन्न नीति र नियमको सृजना गर्ने अनेकौ मनिषीहरू छन् । राज्यको सञ्चालनार्थ आवश्यक पर्ने राजा(तत्कालीन राष्ट्रप्रमुख), मन्त्री, जनपद, दूर्ग, कोश, दण्ड आदिको विषयमा लिखित रूपमा नियम बनाउने परम्परा थियो । 
 
सोही मुताविक हिन्दु राजा(तत्कालीन राष्ट्रप्रमुख)हरूलाई विभिन्न ऋषि महर्षिहरूले विधान बनाएर दिएका थिए । सोही विधानहरू नै पछि गएर स्मृत्यादि शास्त्रहरूका नामले परिचित भए । हिन्दु वैचारिक ग्रन्थहरूका ग्रन्थकार एवं ग्रन्थको राजनैतिक विवेचक मनु हिन्दु राजनैतिक परम्पराका प्रमुख अनि विशिष्ट साधक हुन् । 
 
मनु
मनुको जन्म एवं जन्मस्थानको विषयमा कुनै ऐतिहासिक जानकारी पाइँदैन । पूर्वीय चिन्तनमा विचारकले आफ्नो परिचयसम्बन्धी विवरण नराख्ने गरेकाले मनुको मात्र होइन सबै चिन्तक र उनका कृतिका बारेमा यथार्थ विवरण, तिथि, मिति, स्थान आदि प्राप्त गर्न कठिन छ । मनुलाई ब्रह्माका मानसपुत्र पनि भनिएको  छ । 
 
मानव धर्मका प्रस्तोता तथा भारतीय चिन्तनका जनकका रूपमा मनुको स्थान अत्यन्त माथि छ । याज्ञवल्क्य, गौतम, आपस्तम्व, परासर, शंख आदि स्मृतिमा मनुलाई आदि धर्मका प्रणेताको रूपमा राखिएको छ । प्रायः सबै स्मृतिमा मनुले गरेको व्यवस्थालाई मान्यता दिई मनुस्मृति अनुकूल गराउने काम भएको हुँदा उनलाई अत्यन्त महत्व दिएको कुरा स्पष्ट छ  । 
 
यस ग्रन्थमा राजनीतिसँग सम्बन्धित अनेक विषयमा विशेष व्याख्या रहेको छ । यसमा अराजकताको स्थिति, राज्यको उत्पत्ति, राजा (तत्कालीन राष्ट्रप्रमुख)को सर्वोच्चता, राजा(तत्कालीन राष्ट्रप्रमुख)का कार्य, गुरु, न्याय व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषय राजनीतिक रूपले महत्वपूर्ण छन् । 
धर्मप्रधान राजनीति
मनुको राजनीतिक तथा सामाजिक विचार धर्ममा आधारित रहेका छन् । मनुले राजनीति र धर्मलाई अलग मानेका छैनन् । मनुस्मृतिमा राजनीति बारेमा खालि दण्ड अध्याय छ । अरु अध्यायमा बढी धर्म भएकाले नै मनुस्मृति मुख्य रूपले धर्म ग्रन्थ हो । राजनीतिक शास्त्रको स्रोत पनि वेद हो । मनुले उल्लेख गरेको सामाजिक व्यवस्था पनि धर्ममय छ । मनुमाथि धर्मको प्रभाव अत्यन्त व्यापक रूपमा परेकाले उनलाई धर्मशास्त्रका प्रणेता मानेका छन् । मनुस्मृतिमा जगत् कल्याणका लागि ब्रह्माले धर्मशास्त्रको रचना गरी मनुलाई दिएको उल्लेख छ । मनुको राज्य व्यवस्था पनि धर्म नै हो ।
 
राजनीतिलाई पनि मनुले राजधर्मको रूपमा उल्लेख गरेका छन् । मनुस्मृतिको महत्वपूर्ण योगदान राजधर्मसम्बन्धी सिद्धान्त हो । धर्मलाई मनुले देव उपासनाको रूपमा नलिई कार्यमा प्रयोग गर्ने भन्ने नै रहेको छ । अर्को शब्दमा कर्तव्य पालनको प्रक्रियालाई उनले धर्मको रूपमा उल्लेख गरेका छन् ।
 
राजा (तत्कालीन राष्ट्रप्रमुख)
सृष्टिको प्रारम्भमा कुनै राज्य थिएन । राजा (तत्कालीन राष्ट्रप्रमुख) र राज्य नभएकाले दण्डको प्रश्नै थिएन । राज्य तथा व्यवस्थाको अभावमा मानिसलाई असुरी प्रवृत्ति खुलेर प्रयोग गर्ने स्वतन्त्रता थियो । मत्स्य न्यायको स्थिति थियो । जसरी माछाले पानीमा निर्बल माछाको हिंसा गर्दछन् त्यसैगरी बलवान्ले निर्बललाई हिंसा गर्दथ्यो । यसको परिणामस्वरूप अराजकताको साम्राज्य थियो । चारैतिर डर, त्रास र असुरक्षाको व्यवस्था थियो । त्यसैले सबै दुःखी थिए । कोही मानिस आफ्नो कर्तव्य पालन गर्ने स्थितिमा थिएनन् । परमेश्वरले यसै स्थितिको अन्त गर्नका लागि राजाको उत्पत्ति गरेका हुन् ।
 
राजालाई धर्मको अधीनमा राखिएको छ । देवत्वको अंश मानिए पनि उसलाई मनपरी अधिकार प्रयोग गर्न सो देवत्व प्रदान नगरी प्रजाका रक्षा र पालनका लागि प्रदान गरिएको आफ्नो देवत्व दुरूपयोग नगरी यसैका लागि गरिनुपर्दछ । दैवी गुणका आधारमा प्रजाको पालना गर्नुपर्दछ । राजाले जहिले पनि धर्मको नियमअन्तर्गत आफूलाई ठान्नुपर्दछ । राजालाई धर्म विरुद्ध केही गर्न अधिकार छैन । धर्मले राजा (तत्कालीन राष्ट्रप्रमुख)र जनतालाई समान शासन गर्दछ । राजाले धर्म विरुद्ध वा मूर्खतापूर्ण तरिकाले शासन गर्दछ भने राज्यच्युत गर्न सकिन्छ । 
 
मनुस्मृतिमा व्यवस्था गरिएको राजधर्मले सबै व्यक्तिलाई धर्म पालनका लागि प्रवृृत्त गर्नेछ । जो धर्मच्युत दण्डको शक्तिको आधारमा हुन नदिनु नै मुख्य हो । जनताको रक्षा तथा पोषण गरिनु पनि क्षत्रीयको कर्तव्य हो । राजधर्मलाई निम्नानुसार हेर्न सकिन्छ । 
 
१. कर असुली   २. पुरस्कार वा दान ३. मन्त्री आदिलाई उचित आदेश दिने ४.अनुचित काम रोक्ने ५. संदिग्ध विषयमा निर्णय लिने ६. व्यवहार हेर्ने ७. दण्ड व्यवस्था गर्ने  ८. पापको प्रायश्चितको व्यवस्था गर्ने, पञ्च वर्ग कार्य — कापटिक, उदास्थित, गृहपति, व्यापारी र तापसको गुप्तचरी व्यवस्था गरी गुप्तभेद र शत्रु छिद्र पत्ता लगाउनु,  अनुराग र अपराग तथा राज्य मण्डलको प्रचारको कार्यका लागि सधैँ चिन्तन गर्नुपर्दछ भनिएको छ । सेना, कोष र दूतको राम्रो प्रबन्ध गर्नुपर्दछ । सबैको आफुप्रतिको धारणा थाहा पाइराख्नुपर्दछ भन्ने राजाको कार्य निर्धारण गरेका छन् । 
 
मन्त्रिपरिषद
मनुले राज्यलाई स्थायी राज्यको सप्तांगको दोस्रो स्थानमा राखेका छन् । सत्ता सञ्चालनका लागि अनेक विशेषज्ञको आवश्यकता पूर्तिका लागि मनुले मन्त्रिपरिषद्को व्यवस्था गरेका छन् । राज्य सञ्चालन गर्नका लागि ब्राह्मण र क्षत्रीय शक्तिको समन्वय आवश्यक मानी मनुले ब्राह्मण र क्षत्रीयको सहयोगबाट राज्य सञ्चालनमा बल दिएका छन् । 
 
मनुले आफ्नो सप्ताङ्ग सिद्धान्तमा उल्लेख गरेको अमात्य सामान्य मन्त्री नभएर प्रधानमन्त्री वा मुखियालाई मानेका छन् । विशेष योग्यता भएका उच्च वंशका व्यक्तिलाई महत्व दिँदै वंश परम्पराअनुसार षड्गुणले युक्त मन्त्री नियुक्ति गर्नुपर्दछ । वंश परम्परा भएका मन्त्रीमा राजाप्रति अघाध स्नेह, तत्परता, देशभक्ति आदि तत्व विद्यमान हुन्छ ।
 
मन्त्रिपरिषद्का सदस्यहरूमा शास्त्रको ज्ञान हुनुपर्छ । राज्यमा उत्पन्न हुने गम्भीर समस्यको सामना गर्नका लागि मन्त्रीले शान्त, धैर्य, विवेक, दृढता तथा स्थिर बुद्धिले काम गर्ने संकटमा पनि साहस् नछोड्न दृढ निश्चयी, निश्चल र अडिक हुने गुणको आवश्यकता रहन्छ । कुलीन व्यक्ति आफ्नो वंश, परम्परा र वातावरणले जन्मजात गुणबाट परिपूर्ण हुने, यथोचित व्यवहार कुशलता, विनम्रता, सुशीलता तथा शिष्टाचार भएको आदर्श व्यक्ति हुने धारणा मनुको छ । त्यसबेला प्रतियोगितात्मक परीक्षा र साक्षात्कारको प्रथा नै प्रचलन थियो । 
 
परराष्ट्रसम्बन्धी विचार 
मनुले परराष्ट्र नीति तथा परराष्ट्र सम्बन्धलाई पनि विशेष महत्व दिएको देखिन्छ । राजा )तत्कालीन राष्ट्रप्रमुख)गृह प्रशासनमा निपुण भएर पुग्दैन, विदेश नीतिमा पनि दक्ष हुनुपर्छ भनेर परराष्ट्र नीतिको सञ्चालन मन्त्रिपरिषद्को सल्लाहबाट सञ्चालन गर्नुपर्ने धारणा अघि सारेका छन् । परराष्ट्र नीतिलाई मनुले षड्गुण नीति भनेका छन् ।  षड्गुणमा सन्धि, विग्रह, यान, आसन, द्वैधिभाव तथा संश्रय रहेका छन् ।
 
राज्य शक्ति विकास गर्न र प्रगति गर्नका लागि राजाले अरू राजाहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित हुनुपर्दछ ।  राजाले अन्य राजासँग आफ्ना शत्रु तथा मित्र तटस्थ राज्यको वृद्धि नहुने गरी सम्बन्ध राख्नुपर्छ । उनी शक्ति सन्तुलनको पक्षमा छन् । स्थिति, सामथ्र्य तथा पारस्परिक व्यवहार आदिको दृष्टिले मनुले राज्यहरूलाई चार श्रेणीमा बाँडेका छन् ।
 
यस्ता राज्यमा विजिगिषु राज्य, अरि राज्य, उदासीन राज्य र मध्यम राज्य नै हुन् । विजिगिषु राज्य आफ्नो सेना र क्षमताको आधारमा सीमा विस्तार गर्न चाहने राज्य हो, अरि राज्य शत्रु राज्य हो, यस्ता राज्यले विजिगिषु र अरि राज्यको सहायता र विरोध गर्ने राज्य हो भने उदासीन राज्य तटस्थ राज्य हो । चार अरि राज्य र चार मित्र राज्य गरी मनुले आठ प्रकारका राज्यको उल्लेख गरेका छन् । विजय चाहने राजाले मण्डलको सबै प्रकृतिको ज्ञान राख्नुपर्ने तथा उचित उपायद्वारा राज्यले आय वृद्धि गर्न प्रयास गर्नुपर्ने कार्य गर्नुपर्ने र साम, दाम, दण्ड र भेदको उपाय परराष्ट्र सम्बन्धमा अपनाउनुपर्ने सल्लाह मनुको छ । 
 
दण्ड 
दण्डलाई मनुले राज्यको आवश्यक अंग मानेका छन् । उनले दण्डलाई विधिको रूपमा लिई राज्यको व्यवस्था यसैमा निर्भर रहने कुरा गरेका छन्  । सम्पूर्ण प्राणीहरूको रक्षार्थ ब्रह्माको तेजबाट निर्मित दण्ड धर्मस्वरूप हो । अर्कोतिर दण्डलाई शक्ति वा सेनाका रूपमा लिएका छन् ।सेनालाई उनले ६ अंगको रूपमा र युद्धको सन्दर्भमा पाँच प्रकारको सेनाको उल्लेख गर्दछन् । सेनाका पाँच अंगमा रथ, हात्ती, घोडा, नौ सेना, पैदल सेना पर्दछन् । युद्ध भूमिमा रथ वा अश्व सेनाको प्रयोग, जल भएको ठाउँमा हात्ती तथा नौ सेनाको प्रयोग, रूख तथा लहराले घेरेको ठाउँमा धनुको प्रयोग गर्नुपर्ने तथा कोठा आदि नभएको ठाउँमा पैदल सेनाद्वारा खड्ग,चमादी आयुधले युद्ध गर्नुपर्ने कुरा उल्लेख छ । राजालाई युद्धसम्बन्धी पूर्ण ज्ञान  हुनुपर्ने धारणा मनुको छ । 
 
न्यायिक व्यवस्थासम्बन्धी विचार 
मनुस्मृतिमा न्याय व्यवस्थाका सम्बन्धमा विशेष व्यवस्था गरेको वर्णन रहेको छ । मनुले वेद, स्मृति, शिष्ट पुरुषको आचार तथा आत्मसन्तुष्टिलाई कानुन वा विधिको आधार मानेका छन् । मनुले व्यवहारको अठार मार्ग उल्लेख गर्नका साथै न्यायका लागि धर्म सभाको व्यवस्था गरेका छन् । यस धर्मसभामा राजाले ब्राह्मणको परामर्शमा न्याय गर्दथे ।
 
मनुले ऋण नतिर्नु, नासो फिर्ता नगर्नु, अर्काको वस्तु बेचिदिनु, साझा व्यापारमा बेइमानी, करार तोड्न, किन बेचमा बेइमानी, नोेकरलाई तलब नदिने, पशेको मालिक पशुपालकको विवाद, सीमा विवाद, गाली बेइज्जती, मारपिट, स्वामी पुरुषको धर्मको व्यवस्था, चोरी, जबर्जस्ती धन खोस्ने, परस्त्रीसम्बन्धी विवाद, धनको भागबण्डा, जूवा र पशु लडाइँको हारजीत बारेको विवाद तथा ऋण वापसीको विवाद गरी अठारवटा अपराधको उल्लेख गर्दै यस्ता अपराधका वर्गीकरण गरी यसको निराकरणको जिम्मा राजालाई दिएको छ ।
 
न्यायाधीशले न्यायका समयमा धर्मलाई ध्यानमा राख्नुपर्ने राय दिएका छन् । धर्मको न्यायाधीशले पालना नगरे उनीहरूलाई दोषी मान्नुपर्ने कुरा उल्लेख गर्नुका साथै न्यायाधीशले सत्य बोल्नु अनिवार्य छ । प्रमाण बुझ्ने कुरालाई पनि व्यवस्थित रूपमा प्रतिपादित गर्दै लेख्य प्रमाण, साध्य प्रमाण, भोग प्रमाण, दिव्य प्रमाणको उल्लेख छ ।
 
यसरी मनुले प्राचीनकालमा राज्यको सम्पूर्ण सञ्चालनका सिद्धान्त,व्यवहारलगायत विषयमा विषद व्यवस्था गरेको देखिन्छ । यसले लामो कालसम्म पूर्वीय क्षेत्रमा मात्र प्रभाव पारेन, अन्य विश्वमा समेत प्रभाव परेको कुरा प्राचीनकालका अन्य राजनीतिक चिन्तकहरूको चिन्तनलाई हेर्दा थाहा हुन्छ । अहिले पनि मनुको विविध क्षेत्रमा प्रभाव देख्न सकिने हुँदा उनको रचना कालजयी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ