arrow

प्रदेशसभामा एमालेको पुग्यो ११ सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
damanbahadur-bhandari-bajha.jpg

काठमाडौँ । बझाङ प्रदेशसभा निर्वाचन ‘क’ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएसँगै एमालेको सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्य पुगेका छन् । 

बझाङमा रिक्त प्रदेशसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे ।

उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का प्रत्यासी जनक बुढाले तीन हजार आठ सय ३१ मतसहित तेस्रो स्थान र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह दुई हजार पाँच सय १४ मत सहित चौथौ स्थानमा रहे । विसं २०७९ मा भएको निर्वाचनमा यसै क्षेत्रबाट विजयी कांग्रेसका पृथ्बीबहादुर सिंहको गत वर्ष गाडी दुर्घटनामा निधन भएपछि रिक्त यो क्षेत्रमा यही वैशाख १५ गते उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा निकटतम रहेका अभिषेक गाडि दुर्घटनामा निधन भएका कांग्रेसका पृथ्बीबहादुर सिंहका छोरा हुन् । 

तत्कालीन गठबन्धन दलका तर्फबाट कांग्रेसका पृथ्बीबहादुर सिंह यसै क्षेत्रमा प्रदेशसभा सदस्यका प्रत्यासी भएर निर्वाचित भएका थिए । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ विसं २०७९ मा एमालेबाट चुनावको प्रत्यासी भएकामध्ये डोटीबाट चक्रबहादुर मल्ल, बैतडीबाट सुरेन्द्रबहादुर पाल र कञ्चनपुरबाट वीरबहादुर थापा मात्रै निर्वाचित भएका थिए । यी तीन जना प्रत्यक्ष निर्वाचित र सात जना समानुपातिकसमेत गरी प्रदेशसभामा सो पार्टीका १० प्रदेशसभा सदस्य रहेकोमा उपनिर्वाचनपछि एक सिट थपिएको हो । 

 त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेसका १८ सदस्यमा सीमित भएको छ । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ