arrow

विद्युत्भार कटौती अन्त्यका लागि नवीकरणीय ऊर्जा: मन्त्री जोशी

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
joshi.jpeg
काठमाडौँ। जनसङ्ख्या तथा वाातावरणमन्त्री जयदेव जोशीले विद्युत्भार कटौती अन्त्य गर्ने सरकारको लक्ष्य हासिल गर्न सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 
 
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको १६औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उनले भारतबाट विद्युत् आयात गरेर गरिने विद्युत्भार कटौती दिगो नहुने भएकाले सौर्य ऊर्जाबाट ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकिने बताए। मन्त्री जोशीले सरकार, निजी क्षेत्र र सहयोगी दातृ संस्थाको सामूहिक प्रयासबाट मात्रै देशको ऊर्जा विकास सम्भव हुने छ भने । 
 
जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विश्वव्यापी रुपमै वातावरणमैत्री ऊर्जाको विकासमा जोड दिइएको उल्लेख गर्दै नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनका लागि सरकार नवीकरणीय ऊर्जा नीति ल्याउन लागेको जानकारी दिए । 
 
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वर्तमान ऊर्जा अभावको दिगो समाधानका लागि ठूला क्षमताका सौर्य विद्युत् प्रणालीमा जोड दिँदै साँझको समयका लागि मात्र नभएर दिउँसोको समयमा पनि सोलारबाट विद्युत् उत्पादन गरी नेट मिटरिङ प्रणालीमा जानुपर्ने बताए ।
 
कार्यक्रममा ऊर्जाविद् प्रा डा जगन्नाथ श्रेष्ठले हालको विद्युत् अभावलाई पूर्ण गर्न सहरी क्षेत्रका घरका छतमा ठूला क्षमताका सौर्य प्रणाली जडान गर्न सकिने प्रशस्त सम्भावना नहुँदा बचत भएको भनिएको रु १६ अर्बबाट ८० मेगावाट जलविद्युत् र ३० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने तथ्याङ्क प्रस्तुत गरे । 
 
सङ्घका अध्यक्ष उत्तम सिटौलाले सरकारले हालै गरेको विद्युत्भार कटौतीलाई सफल पार्न नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्न सोलार व्यवसायी तयार रहेको र सरकारले पनि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार हुनुपर्ने बताए । 
 
सो अवसरमा सङ्घका पूर्व अध्यक्ष दीपकबहादुर शाही, नवीन भुजेल, नवीकरणीय ऊर्जा समन्वय समितिका संयोजक गुणराज ढकाललगायतले बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले समयमा अनुदान वितरण गर्न नसकेको, निजी क्षेत्रलाई बेवास्ता गरेको, साना तथा घरेलु सौर्य प्रणालीको क्षमता वृद्धिसम्बन्धी कार्यक्रम ल्याउन नसकेको, सौर्य पम्प जडानमा सहुलियत दिन नसक्दा व्यवासयी पलायन हुने गरेको र आयातित इन्धनमा निर्भर रहनुपरेको भन्दै चिन्ता व्यक्त गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ