- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले गरेको लगानी सम्मेलनलाई शेयर बजारले सकारात्मक रुपमा लिएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक र कारोबार रकम समेतले यो वर्ष सुधारको बाटो लिएको हो ।
यो साता शेयर बजारमा चार दिन मात्रै कारोबार भयो । बुधबार अन्तराष्ट्रिय श्रम दिवस भएका कारण शेयर बजार बन्द भयो । चार दिनको कारोबारमा पहिलो तीन दिनको कारोबारमा सुधार देखिएको शेयर बजार अन्तिम दिन भने घटेर बन्द भएको हो ।
समग्रमा बजार परिसूचकमा ३३ अंकको सुधार हुँदै गर्दै बजार १ हजार ९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ । यो वृद्धिपछि शेयर बजारको कुल पूँजीकरण ५२ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको नेप्सेको तथ्यांक छ ।
यो अवधिमा शेयर बजारमा परिसूचकका आधारमा मात्रै नभएर कारोबार रकममासमेत सुधार देखिएको छ । चार दिनको कारोबारमा झण्डै साढे १४ अर्ब रुपैयाँको शेयर कारोबार भएको हो । जुन अघिल्लो साताको भन्दा निकै बढी हो । अघिल्लो साता चार दिनमा ८ अर्ब ५० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।
तीन क्षेत्रमा सर्वाधिक वृद्धि, दुई क्षेत्र नकारात्मक
यो साता समग्रमा शेयर बजार सुधार हुँदा क्षेत्रगत उपसूचकहरुको अवस्था भने मिश्रित देखिएको छ । बजारमा रहेका १३ उपसूचकहरुमध्ये यो साता तीन वटा उपसूचकको ६ प्रतिशत भन्दा माथि वृद्धि भएको छ । त्यस्तै चार वटा क्षेत्रको वृद्धि एक प्रतिशतभन्दा धेरै हुँदा चार क्षेत्रको वृद्धि एक प्रतिशत भन्दा कम छ । दुई क्षेत्र भने नकारात्मक देखिएका छन् ।
एक साताको कारोबारमा सबैभन्दा धेरै वृद्धि विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त क्षेत्रले हासिल गरेको देखिएको छ । विकास बैंक ६.७६ प्रतिशत, फाइनान्स कम्पनी ६.५१ प्रतिशत र लघुवित्त ६.२६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
त्यस्तै होटल क्षेत्रले २ प्रतिशत भन्दा धेरैको सुधार हासिल गर्दा निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहले १ प्रतिशत भन्दा बढीको सुधार हासिल गरेका छन् ।
यो हप्ता हाइड्रो, उत्पादनमूलक व्यापारमूलक र म्युचुअल फण्ड समूहको सुचक सामान्य वृद्धि हुँदा बैंकिङ र अन्य समूहका परिसूचकमा गिरावट देखिएको छ । उपसूचकतर्फ भने सेन्सेटिभ, फ्लट र सेन्सेटिभ प्लट सबै परिसूचकहरु सकारात्मक देखिएको छ ।
विरोध कार्यक्रम घोषणा र चुपचाप स्थगन
शेयर बजारको तीब्र गिरावट र धितोपत्र बजारको सुधारका लागि सरकारले देखाएको उदासिनताको बारेमा शेयर बजारका लगानीकर्ताहरुले यो साता विरोध कार्यक्रमको योजना बनाएका थिए । काठमाडौँमा तेस्रो लगानी सम्मेलन शुरु हुँदै गर्दा सरकारलाई दबाब दिने उद्देश्यले यो हप्ता यस्तो कार्यक्रमको तय गरिएको थियो ।
देशमा लगानीको वातावरण छ भनेर सरकारले विश्वका लगानीकर्तासँग दाबी गर्ने तर अहिले भएको पूँजी बजारको सुधारको लागि चाहिँ बेवास्ता गर्ने गरेको भन्दै लगानी सम्मेलनकै समयमा उनीहरुले कार्यक्रम राखेका थिए । यसले नेपालमा लगानीको वातावरण छ भन्ने सरकारको दाबीलाई काउन्टर गर्ने विश्लेषण गरिएको थियो ।
तर लगानीकर्ता संघहरुले यो साता बाहिर देखिने गरी कुनै विरोधको कार्यक्रम गरेनन् । शुरुमा यो विरोधको कार्यक्रम कसरी बन्यो र पछि किन रोकियो भन्नेबारे लगानीकर्ता संघका नेताहरुले खुलेर बोल्न चाहेका छैनन् ।
तर निजी क्षेत्र नै सहआयोजक बनेर अगाडि बढाइएको सम्मेलनको विरोध गर्दा सकारात्मक सन्देश नजाने भनेर भनेपछि कार्यक्रम नगरिएको उनीहरुको भनाइ छ । विरोधको कार्यक्रम फिर्ता लिएको वा स्थगित गरेको औपचारिक जानकारी नगराउँदा अन्य सर्वसाधारण लगानीकर्ताहरु भने नेतृत्वप्रति सशंकित छन् ।
शेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भने विरोध कार्यक्रम र त्यसको पछिल्लो अवस्थाबारे आफू जानकार नरहेको बताउँछन् । लगानी सम्मेलनताका आफू उपत्यका बाहिर भएकोले यसमा आफू संलग्न नरहेको र पछिल्लो अपडेटसमेत नभएको उनको भनाइ छ ।