arrow

राष्ट्रपतिबाट आममाफी पाएकी निशाको जन्मदर्ता कीर्ते प्रकरणमा वडा सचिव तिवारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
omnath-tiwari-wada-sachiv.jpg

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ ग्वाल्डुबाका वडा सचिव ओमनाथ तिवारी पक्राउ परेका छन् । जन्म दर्ता कीर्ते प्रकरणको आरोपमा वडा सचिव तिवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

सरकारी छाप र दस्तखत कीर्ते गरी स्थानीय निशा माझीको जन्म दर्ताको प्रतिलिपी बनाएको भन्दै उक्त कार्यमा कैफियत देखिएपछि उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविनकुमार साहले जानकारी दिएका छ्न् ।

तिवारीलाई मंगलबार बिहान १०ः३० बजे कार्यालय परिसरबाटै पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका तिवारीलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
वडा सचिव तिवारीले २०७६ सालमा कर्तब्य ज्यान मुद्दाकी दोषीलाई आम माफी दिलाउन जन्ममिति घटाएर जन्म दर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा पक्राउ गरिएको श्रोतले जनाएको छ ।

साविक जुरोपानी गाविस वडा न ९ की ११ वर्षीया बालिका अस्मिता राजवंशीको २०७१ जेठ ३० गते भएको हत्या घटनामा अदालतबाट दोषी ठहर भइ जेल सजाय भोगिरहेकी निशा माझीलाई घटनाको बखत नाबालक रहेको देखाइ २०७९ सालको संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा आममाफी दिलाउन वडा सचिव तिवारीले दोषी माझीको उमेर ३ वर्ष घटाएर जन्मदर्ताको प्रतिलिपि जारी गरेको अभियोगमा पक्राउ परेको बुझिएको छ ।

माझीको सक्कली जन्म दर्तामा जन्म मिति २०५२ कार्तिक ४ गते उल्लेख भएकोमा २०७६ सालमा वडा सचिव तिवारीले उनको उमेर ३ वर्ष घटाएर जन्ममिति २०५५ साल उल्लेख गरी  प्रतिलिपि जारी गरेको श्रोतले बताएको छ । 

माझीको उमेर ३ वर्ष घटाउँदा हत्याको घटनाको समय अभियुक्तको उमेर १६ वर्ष मात्र देखिने भई माझी नाबालक रहेको देखाइ २०७९ सालमा राष्ट्रपतिबाट बाँकी जेल भुक्तानको सजाय आममाफी दिलाएको श्रोतले बताएको छ ।

घटनाअनुसार २०७१ जेठ ३० गते विद्यालयबाट घर फिर्किने क्रममा ११ वर्षीया बालिका अस्मिता राजवंशी अपरान्ह ४ बजेदेखि बेपत्ता भएको र दुई दिनपछि दमक गौरीगञ्ज सडक खण्ड अन्तर्गत पर्ने जुरोपानी खण्डको सिसौ घारीमा घाँसले छोपेको अवस्थामा उनको शव फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ