arrow

मन्त्रिपरिषद् बैठक : के–के भयो निर्णय ?

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
cabinet-aaja-nnn.jpeg

काठमाडौँ । सरकारले नागढुंङ्गा—सीतापाइला सुरुङमार्गका लागि जापानसँग १७ अर्ब ऋण लिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जापानबाट प्राप्त हुने उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताए । बैठकले सडक क्षेत्र विकास आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५ अर्ब ८८ करोड रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन इकाइका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १३ अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । कार्कीले भने, ‘बैठकले स्थानीय, प्रदेश र सङ्घीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।’

सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यस्तै, जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

आमरण अनशनरत डा. गोवन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, सहसचिव कृष्णप्रसाद देवकोटालाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरिएको छ ।

सरकारले सट्टाभर्ना दिने गरी पर्सा र शुक्लागण्डकी नगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिका नाममा जग्गा दर्ता सम्बन्धी गठन आदेशलाई स्वीकृत गरेको छ । बैठकमा संविधान संशोधनको प्रस्ताव पारित गर्ने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण त्यस बारेमा छलफल हुन नसकेको सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ