arrow

उद्योग मन्त्रालयकै १० संस्थान बन्द अवस्थामा

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Govt-logo.png
काठमाडौं । उद्योग मन्त्रालयले बन्द रहेका सरकारी उद्योग सञ्चालनको घोषणा गरिरहेका बेला मन्त्रालय मातहतका १४ संस्थानमध्ये दुई उद्योग मात्रै सञ्चालनमा रहेको पाइएको छ । मन्त्रालय मातहतमा हेटौंडा र उदयपुर सिमेन्टबाहेक कुनै पनि उद्योगहरू सञ्चालनमा छैनन् । 
 
जनकपुर चुरोट कारखाना र कृषि औजार कारखाना खारेजीमा गइसकेका छन् भने बाँकी १० संस्थान बन्द अवस्था छन् । यसले बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने उद्योगमन्त्री नवीन्द्रराज जोशीको घोषणा कार्यान्वयन चुनौतीपूर्ण रहेको देखिएको छ । 
 
सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धाका लागि नभई उनीहरूलाई सिन्डिकेट तथा मूल्यमा कार्टेलिङ गर्न नदिन उद्योग स्थापना गरे पनि सञ्चालन नहुँदा उद्देश्य पूरा हुन सकेको छैन । 
 
यसले अर्बौंबराबरको सरकारी लगानीसमेत खेर गएको छ । बन्द भएका संस्थानमा रहेका कर्मचारीको तलब–भत्ता तथा अन्य लागतलगायत अन्य खर्चको भार सरकारले बेहोर्दै आएको छ । 
 
उद्योगमन्त्री जोशीले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै बन्द उद्योगहरू सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेका थिए । 
 
उनले पहिलो पटक नेपाल औषधि लिमिटेड र हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।  उद्योग मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख यमलाल भुसाल बन्द रहेकामध्ये केही उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँछन् । 
 
कतिपय उद्योग रुग्ण भए पनि सञ्चालनका लागि सरकारले अध्ययन गरिरहेको उनले बताए । गत असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले औषधि लिमिटेड सञ्चालनका लागि १४ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गर्ने निर्णयसमेत गरिसकेको छ । 
 
यस्तै, हेटौंडा कपडा उद्योगमा सेना, प्रहरी तथा निजामती सेवाका लागि पोसाक तयार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याउन लागिएको छ ।
 
 हेटौंडा कपडालाई पहिलो चरणमा सरकारी पूर्वाधारमै उद्योग सञ्चालन गर्ने र पछि निजी लगानीकर्तालाई सहभागी गराउने लक्ष्य राखिएको छ । 
 
उद्योगमन्त्री जोशीले विगतमा जुनसुकै कारणले बन्द भए पनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताएका छन् ।
 
 साना उद्योगको संरक्षण र ठूला उद्योगमा लगानीका लागि प्रोत्साहन गर्ने उनको कार्ययोजना रहे पनि लगानीको स्रोत जुटाउन भने गाह्रो पर्ने जानकारहरू बताउँछन् । 
 
औषधि लिमिटेडपछि, कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना, ओरिण्ड म्याग्नेसाइट, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने तयारी सरकारको छ । 
 
सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्टमध्ये उदयपुर सिमेन्ट पनि पटक–पटक बन्द हुँदै आएको छ । 
 
बन्द उद्योगबाट सरकारलाई बर्सेनि करोडौं रुपैयाँ घाटा थपिँदै आएको छ भने भएका पूर्वाधारहरू पनि काम नलाग्ने भएका छन् । 
 
बन्द भएका अधिकांश उद्योग राजनीतिक भर्तीकेन्द्र बनेपछि घाटा थेग्न नसकेर बन्द भएका हुन् । 
 
देशको सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिल २०७१ असोज तेस्रो सातादेखि बन्द छ । विराटनगर–२२ स्थित ६० विघामा स्थापित यो उद्योग पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा बन्द भएको हो । उद्योगको आफ्नै विद्युत् टर्वाइन हाउस, जोगवनी रेल्वे स्टेसनलाई जोड्ने यार्ड पनि छ । 
 
पटक–पटक बन्द हुँदै सञ्चालन हँुदै आएको यो उद्योग २०४६ पछि राजनीतिक भर्ती केन्द्र बनाइएको थियो । सरकारले पटक–पटक सञ्चालनका लागि विज्ञ समिति गठन गरे पनि प्रयास सफल हुन सकेन । 
 
यस्तै, वीरगन्ज चिनी उद्योग २०५९ देखि बन्द छ भने गोरखकाली रबर उद्योग ०७२÷७३ मा उत्पादन शून्य अवस्थामा छ । बुटवल धागो उद्योग पनि ०६६ बाटै बन्द भएको छ । 
 
हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । यो उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भई २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो । 
 
०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन थियो । 
 
०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले हेटौंडा कारखानाको सम्पत्ति सेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । 
 
बन्द उद्योगहरू
 
नेपाल ओरिण्ड म्याग्नेसाइट
नेपाल मेटल कम्पनी
नेपाल औषधि लिमिटेड
विराटनगर जुट मिल्स
बुटवल धागो कारखाना
गोरखकाली रबर 
वीरगन्ज चिनी कारखाना
हेटौंडा कपडा उद्योग (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ