arrow

उमे कामीहरुको सपनाको खोजी अर्थात् ‘कुलुङ्गाकी आमा’

logo
प्रकाश सिलवाल,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
kulung-ki-aama.jpeg
काठमाडौँ। आफ्ना बालसखा उमे कामीको खास नाम कुलुङ्गा हो भन्ने दीनानाथ शर्मालाई धेरै पछि थाहा भयो । समाजमा दलितका नाममा हुने गरेको विभेदबारे शर्माले उमे कामी साथी भएबापत् सानै उमेरमा भोगिसकेका थिए । दीनानाथसँगै माओवादी सशस्त्र युद्धमा होमिएका उमे कामी अहिले जनविद्रोहको विचार बोकिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)मा आबद्ध छन् भने शर्मा नेकपा (माओवादी केन्द्र) का नेता हुन् । 
 
बागलुङको दलित परिवारमा जन्मिएका दुवैले लिएको समाजवादको लक्ष्य त परै छ, प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रमा पनि जनताले अमनचैन पाएका छैनन् । राजनीतिज्ञ तथा साहित्यकार शर्माको नयाँ निबन्ध कृतिको मूल शीर्षक उनै उमे कामीको अर्को नामबाट बनेको छ – ‘कुलुङ्गाकी आमा’ । 
 
अभाव, गरिबी र विपन्नताभित्र पनि छुवाछूतको त्यो पीडालाई कुलुङ्गाले भन्दा उनकी आमाले बढी अनुभूत गरेको तथ्यलाई उक्त निबन्धमा मार्मिक रुपमा अभिव्यक्त गरिएको छ । आमा सबैका लागि सम्मानित र मायावी हुन्छन् । ‘कुलुङ्गाकी आमा’ ले संसारका तिनै महान् आमाहरुका भावनालाई सम्बोधन गरेको छ । 
 
वागलुङको दलित परिवारमा जन्मिएका तीनै उमे कामीले सशस्त्र युद्धकालमा रामबहादुर थापा (बादल)लाई आफ्नो घरमा एक साता लुकाएर पनि राखेका थिए । 
 
राजनीतिको रुखो र सुख्खा जीवनपछिको अर्को क्षेत्र सुन्दर संसारका रुपमा आफूले साहित्यलाई लिएको घोषणासहित शर्माको एघारौँ कृति ‘कुलुङ्गाकी आमा’ बजारमा आएको छ । उनका राजनीतिक र साहित्यिक दुवै क्षेत्रमा उत्तिकै पुस्तक प्रकाशित छन् । 
 
‘कुलुङ्गाकी आमा’ माथि शनिबार समी साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले राजनीतिक सुख्खाबारीबाट साहित्यको सुन्दर बगैँचामा विचरण गर्न अग्रसर शर्माको स्वागत गर्दै उनका निबन्धमा पाइने विविधता र मौलिकपनको प्रशंसा गरे। 
 
नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले भने – “राजनीतिक आग्रहमा लागेर कतिपय राम्रा लेखक बिग्रेका उदाहरण पनि छन् तर दीनानाथले राजनीतिका विकृतिलाई पनि साहित्यका माध्यमबाट व्यक्त गर्न आफूलाई साहित्यमा अग्रसर गराएकाले त्यसलाई स्वागत गर्नुपर्छ ।” 
 
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पनि ‘कुलुङ्गाकी आमा’ ले समाजको चित्रण मात्र नभई अग्रगमनको पक्षपोषण पनि गरेको बताए । संस्कृतिविद् तेजेश्वरबाबु ग्वङले पनि ‘कुलुङ्गाकी आमा’ मा निबन्धको प्रखर उडान पाइने र यो एक प्रयोगमूलक कृति भएको टिप्पणी गरे। 
 
त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख डा देवीप्रसाद गौतमले निबन्धको परम्परागत परिभाषा भत्कँदै गएको सन्दर्भमा ‘कुलुङ्गाकी आमा’ एक अलग पहिचान बोकेको पुस्तक हो भने। 
 
अर्का समीक्षक श्रीओम श्रेष्ठ ‘रोदन’ ले आफ्नो राजनीतिक आस्था र उचाइलाई पर राखेर निबन्धको संसारमा शर्माको आगमन नयाँ पुस्ताका लागि प्रेरणाप्रद भएको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ