arrow

जनताले नबचाए नेपाल भारतीय महासंघमा मिसिन्छ –केसी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ मंसिर १९ आइतबार
chitra-bd-kc.jpeg
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले नेपाललाई बचाउन नसके नेपाल भोलि गएर भारतीय महासंघमा मिसिने दावी गरेका छन् । संघीयताको विरोध गर्दै आइरहेका केसीले हाम्राकुरासंगको कुराकानीमा अब नेपाल बचाउने हो भने नेपाली जनता नै तात्नुपर्ने बताए । उनै केसीसंग गरिएको यो विशेष कुराकानीको सम्पादित अंश–
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सहभागी दलहरुलाई डाक्नु भएको छ, किन होला ? 
मलाई आइतबार अपरान्ह ४ बजेभित्र राष्ट्रपति कार्यालय शितल निवासमा छिर्नुहोला, राष्ट्रपतिले छलफलका लागि बोलाउनु भएको छ भनेर फोन आएको थियो । त्यसबाहेक मलाई केही थाहा छैन । 
 
पछिल्लो मुलुकको राजनीतिक अवस्थाले के भन्न खोज्दैछ ? 
के भन्नु नि जनमोर्चाले विगत ८ वर्षदेखि ‘संघीयता चाहिंदैन, देश टुक्रयाउन पाइँदैन’ भन्दै आएको छ । त्यही संघीयताका लागि यतिबेला बन्द, हड्ताल भइरहेका छन् । 
किन संघीयता नचाहिने ? 
संघीयताले नेपालजस्तो देशलाई राम्रो गर्दैन । यो त भारतलाईमात्र चाहिएको हो । नालायक नेताहरुका कारण नेपाललाई संघीयतामा ढालेर भारतले नाइजेरियाको हालत बनाउन खोजेको छ । 
के गर्छ भारतले ? 
भारतले नेपाललाई आफ्नो महासंघमा मिसाउन खोजिरहेको छ । संघीयतामा गएपछि नेपालमा जातीय द्धन्द्ध बढ्छ । क्षेत्रीय द्धन्द्ध बढ्छ । भारतले खोजिरहेको अहिले भएको छ । ठाउँठाउँमा देखिएको आन्दोलन त्यसको सुरुवात हो । 
तपाईं अहिले पाँच नम्बर प्रदेशबाट पहाडलाई छुटाउन खोज्नुलाई के भन्नुहुन्छ ? 
म त संघीयताकै विरोधी हुँ । के एक नम्बर के पाँच नम्बर । तर पनि यो पाँच नम्बरबाट पहाड छुट्टाउँदा भारतलाई अझ बढी सजिलो हुन्छ । 
अहिले आएर यस्तो मारकाटको स्थिति किन आयो ? 
यो त सत्तामा जान भ¥याङ बनाउने नेताहरुका कारण नै हो । शक्तिका लागि नेताहरु जे पनि गर्न सक्छन् भन्ने प्रमाण हो । उनीहरु भारतलाई रिझाएर सरकारमा टिकिरहन्छन् । होइन भने आफै सरकारमा रहेर अविश्वासको प्रस्ताव कसैले ल्याउँछ र ? यो सबै सत्ताको खेल हो । त्यसले नै मारकाट निम्त्यायो । 
तपाई पनि त सत्तामा पुग्नु भयो नि ?
सरकारमा पुगेपछि मलाई अझ बढी ज्ञान भयो । नेताहरुके कर्तुत थाहा भयो । मैले पनि महसुस गरें । 
मुलुक यो अवस्थामा गुज्रिरहँदा जनमोर्चाले के गर्छ ? 
जनमोर्चाले जहिले पनि संसदमा संघीयताको विरोध गर्छ । सडकबाट पनि गर्दै आएको छ । 
अब के होला त ? 
अब मुलुक जोगाउने जिम्मा नेपाली जनतामा आएको छ । जनताले बचाउन सके भने मुलुक बच्छ । होइन भने मुलुक भारतीय महासंघमा मिसिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ