arrow

‘मेलम्चीमा सुन हुनै पर्छ’ भनेर स्थानीयले जिद्दी गरेपछि...

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
melamchi-ko-sun.jpeg
काठमाडौं । गत बिहीबार मेलम्ची आयोजनाको सुरूङ मार्ग खन्ने क्रममा सुन जस्तै एउटा धातु भेटिएपछि काममा संलग्न कामदारहरुमा एकाएक हंगामा सुरु भयो । कामगर्दै जाँदा सुन खानी भेटियो भनेर धेरैले यसलाई संवेदनशीलरुपमा लिए । कतिले त्यतिबेला नै नयाँ सपना पनि देख्न थाले । एककान दुईकान मैदान भयो । उनीहरुको कुरा सुन्दा त त्यो परीक्षण अगावै सुन खानी भएको पुष्टि भए सरह कुरा गरियो । तत्कालै काम गरिरहेका कन्ट्रक्सन कम्पनीका हाकिमहरुलाई जानकारी पनि गराईयो । 
 
सुन भेटिएको कुरा ठेकेदारले आयोजना प्रमुख कहाँ कुरा पुर्‍याए । आयोजना प्रमुखलाई पनि सुनखानी भेटिएको भएपनि नभएपनि परीक्षणपूर्व त सुरक्षा दिनै पर्‍यो । उनले पनि थप सुरक्षा माग गरेर तत्कालै काम रोकेर त्यो बस्तुको पहिचान तिर लागे । 
 
कुरा जब काठमाडौंका मिडियाले छाप्न थाले त्यसपछि त्यो राष्ट्रिय स्तरसम्म हल्लाको विषय बन्यो । केही मिडियाले यसलाई आशंका भनेर लेखे त केहीले सुन भेटियो भनेर ठोकुवा नै पनि गर्न समेत भ्याए । तर, प्रमाणित गर्ने निकाय खानी तथा भूगर्भ विभागमा भने सुन भेटिएको ठोकुवा गर्दा सम्म पनि उक्त स्याम्पल पुगिसकेको थिएन । 
 
उक्त बस्तु भेटिएको तेस्रो दिन दिउँसो ११ बजे उक्त बस्तु परीक्षणको लागि खानी तथा भूगर्भ विभागमा ल्याईयो । उक्त टोलीमा पनि थोरै मान्छे त कहाँ थिए र ? पुग नपुग २५ जनाको टोलीले स्याम्पल बोकेर आएका थिए । 
 
यसरी सबैले स्याप्ल बोकेर आफैं आएपछि विभागले पनि पठाउने भनेको स्थलगत अध्ययनटोली पनि केही समयको लागि रोकियो । विभागले पनि परीक्षणको लागि प्रयोगशालामा हेर्ने र त्यहाँबाट सुन भएको पुष्टि भयो भने थप अध्ययनको लागि टोली पठाएर स्थलगत अध्ययन गर्ने भनेर टोली पनि गठन गरिसकेको थियो । 
 
उता, सिन्धुपाल्चोक हेलम्बू गाविसका मानिसहरुमा सुन भेटिएको जानकारी पाएकै दिनदेखि खुशीले भुईमा खुट्टा नै थिएन । कतिले आफ्ना घर छोडेर गएका परिवारका सदस्यलाई फोन गरेर सुनाउन थाले त कतिपयलाई बाहिर गएकाले नै फोन गरेर जानकारी दिए । जसरी भएपनि उनीहरुमध्ये अधिकांशले ‘मनको लड्डु घिउँसँग’ खान थालिसकेका थिए ।
 
उनीहरुमा आशासँगै नयाँ उत्साह पनि उब्जिन थालिसकेको थियो । कतिपयले त अब ‘हेलम्बूबासीले सुन लगाईसके’ भनेर गफ चुट्न पनि भ्याएका थिए । अपसोच नै भन्नु पर्छ उनीहरुको सपनाको घर एकैदिनमा हावाले उडाएपछि उनीहरु आक्रोशित बन्न पुगेका छन् । 
 
खानी विभागको प्रारम्भिक रिपोर्टले यो सुन नभएको जनाएपछि स्थानीय विभागमा नै कुर्लिन थाले । ‘हामीले त्यहाँ देखेको पदार्थ र यसमा पूरै फरक छ । बीचैमा त्यो बस्तु साटेर अर्कै ल्याईए जस्तो लाग्यो ।’ विभागका मानिसहरु र अन्य प्रतिनिधिहरु पनि एक पटक त हाँसे । तर, त्यो कुरा फेरि दोहोरिन थालेपछि भने विभाग र आयोजनाका व्यक्तिहरु पनि चिन्तित बन्न थाले । 
 
विभागका एक अधिकारीले भने हामीले त प्रयोगशालाले सुन नभएको पुष्टि गरिसकेकाले स्थलगत अध्ययनको लागि नजाने तयारी गरिरहेका छौं । तर, स्थानीयहरु अझै यसमा सन्तुष्ट छैनन् । स्थानीयले मानेन् भने हामी स्थलगत अध्ययनमा जाने तयारी पनि गरिरहेका छौं। 
 
बिहीबार सुरूङमार्गमा पर्ने ‘हेडोक्स एरिया’मा सुन जस्तै पहेँलो बस्तु भेटिएपछि आयोजनाले काम समेत रोकेको थियो । तत्कालको लागि सो क्षेत्रमा काम रोकेर सुरक्षा व्यवस्था कडा बनाईएको आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए । आयोजनाको काम अझै पनि सुरू हुन सकेको छैन । 
 
सिन्धुपाल्चोकको हेलम्बू गाविस स्थित ‘रि वर्मा’ भन्ने खोल्सामा पहरो काट्ने क्रममा त्यस्तो बस्तु भेटिएको हो । आयोजनाको ‘पाईराईट वे’ मा भेटिएको यस्तो धातु भएको खण्डमा सो क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषाणा गरियो भने त्यसपछि काठमाडौ बासीको वर्षौदेखिको आशाको केन्द्र मेलम्ची आयोजनाको भविष्य के होला भन्ने आम मानिसको चासोको विषय बनेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ