arrow

सार्क स्थापनाको ३१औँ वार्षिकोत्सवः विकासका लागि सहयोग अपरिहार्य – प्रधानमन्त्री

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
SAARC-logo.jpeg
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क स्थापनाको ३१औँ वार्षिकोत्सव तथा सार्क बडापत्र दिवस विविध कार्यक्रम गरी सार्क राष्ट्रहरुमा मनाइँदै छ । दक्षिण एसियाका राष्ट्रबीच आपसी सद्भाव र विकासका लागि हातेमालो गर्दै अगाडि बढ्न ३१ वर्षअघि सार्कको गठन भएको हो । 
 
नेपालमा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य मुलुकबीच बृहत्तर सहयोग अपरिहार्य भएको बताएका छन् ।  
 
सार्कको वार्षिकोत्सवको अवसर पारेर दिएको सन्देशमा प्रधानमन्त्री प्रचण्डले दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने बताए । 
 
सार्कका अध्यक्षसमेत रहेका प्रचण्डले यस क्षेत्रका जनताको विकासका आकाङ्क्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाए ।
 
सार्कका विगतका निर्णय र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिएका छन् ।  तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एसियामा गरिबी निवारण, शान्तिको प्राप्ति, स्थायित्व र समृद्धि भएको चर्चा गर्दै उनले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।  
 
प्रधानमन्त्रीले सन्देशमा भनेका छन् – “सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न हामीले पुनःप्रतिबद्धता जाहेर गर्नुपर्छ । गरिबी, आतङ्कवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन हाम्रा साझा चुनौती हुन् ।” 
 
सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य भएको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।  
 
सार्क दिवसका अवसरमा यसका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटूट प्रतिबद्धता दोहो¥याउँदै सार्कको संस्थापक सदस्यका नाताले नेपालले काम गरिरहने उनले बताए । 
 
दक्षिण एसियाली मुलुकका नागरिकप्रति हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बान्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ