arrow

नेपालमा राजनीति सबैभन्दा भ्रष्ट क्षेत्र : भरत थापा

नीतिगत भ्रष्टाचार नरोकिए खतरा

logo
प्रकाशित २०७३ मंसिर २४ शुक्रबार
bharat-bahadur-thapa.jpeg
काठमाडौं । डिसेम्बर ९ । अर्थात् अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । हरेक वर्ष यो दिवसमा भ्रष्टाचार घटाउने प्रतिवद्धता गरिन्छ । तर यसको गति बढ्दो छ । नेपालमा त दिन दुई गुना र रात चौगुना भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नका लागि संवैधानिक निकाय पनि छ । विभिन्न संघसंस्था पनि लागेकै छन् । र, पनि समस्या झन् बल्झिँदो छ । किन त ? यसै विषयमा हाम्राकुरासंग भ्रष्टाचार विरुद्धको अभियानमा रहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल टी आइ नेपालका पूर्व अध्यक्ष भरत थापाले कुराकानी गरेका छन् –
 
नेपालमा भ्रष्टाचारको स्थिति के छ ? 
संयुक्त राष्ट्रसंघले यो अभिसन्धी पारित गरेपछि विश्वका धेरै राष्ट्रहरुले डिसेम्बरमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरेका छन् । नेपालले पनि बर्सेनि मनाउँदै आएको छ । तर यो औपचारिकजस्तै भएको छ । यो दिवस मनाउनुको मतलव हो भ्रष्टाचार नगर्न उत्प्रेरित गर्ने, सुशासनमा सुधार गर्ने । तर नेपालमा भ्रष्टाचार बढ्दो छ । सुधार न्यून छ । सबै क्षेत्र भ्रष्टाचारले ब्याप्त छ । भ्रष्टाचार मुक्त हुने अवस्था तत्काल देखिदैन । 
 
सबैभन्दा बढी भ्रष्टाचार कुन निकायमा छ ? 
त्यो त पक्कै पनि राजनीतिमा । राजनीतिले धेरै क्षेत्रलाई ओगटेको हुन्छ । हरेक क्षेत्रमा असर पु¥याउँछ । 
 
भ्रष्टाचार बढ्नुको कारण के होला ? 
राजनीतिक प्रतिवद्धता नभएकाले नै भ्रष्टाचार बढेको हो । नेताहरु नै भ्रष्ट भए । जसले भ्रष्टाचार रोक्नुपर्ने हो उनीहरुनै भ्रष्टाचारमा लिप्त हुन थाले भने त्यसमा अन्य कारण खोज्नै जान परेन । यहाँ त शुद्धीकरण नै भएन । उदासिनता बढ्यो । 
 
के गर्नुपर्ला त सुधारका लागि ? 
राजनीतिक प्रतिवद्धता आउनु प¥यो । नेताहरुलाई घच्घच्याउनु पर्छ । निरन्तर घच्घच्याउने हो भने पक्कै पनि उनीहरुलाई दबाब पर्छ । उनीहरु जनताप्रति बफादार बन्नुपर्छ । यति हुन सके भ्रष्टाचार रोकिन्छ । 
 
भ्रष्टाचार त कर्मचारीले बढाउँछन् भन्छन् नि हैन ? 
उनीहरुले त खाए पनि थोरै खान्छन् । यहाँ त नीतिगत भ्रष्टाचार भइरहेको छ । कर्मचारी पनि खान्छन् होला । तर नीतिगत भ्रष्टाचार खतरा हुन्छ । 
 
तर नेताले भ्रष्टाचार गर्न सिकाए भन्ने गुनासो सर्वसाधारणमा छ नि ? 
होला । उनीहरुले भोलि फोहर खान सिकाउलान् । खाने ? त्यसो भए नेता भनेको के त ? नेता भनेको देश हाँक्ने लाइसेन्स पाएको व्यक्ति । उसंग भिजन हुन्छ । देश बनाउने जिम्मा लिन्छ । त्यस्तो व्यक्ति भ्रष्टाचारमा लिप्त हुन मिल्छ ? कर्मचारी भनेको त जागिर खाने जात हो । 
 
भ्रष्टाचार बढ्दा पनि कार्वाही गर्ने निकाय किन चुप लागेको होला ? 
कार्वाही गर्ने निकाय सुस्त छ । कतिपय नीतिगत भ्रष्टाचारमा उनले कार्वाही गर्न सक्दैन । त्यसभित्र छिर्नै सक्दैन । जस्तो कि राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हुन्छ । उसलाई सल्लाह दिने प्रधानमन्त्री हुन्छ । तर आफ्ना मान्छेलाई जागिर दिने निहुँमा राष्ट्रपतिले अनावश्यक दर्जनबढी सल्लाहकार नियुक्त गरेको हुन्छ । त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवदेखि सचिव हुन् । तर प्रधानमन्त्रीले पनि छुट्टै सल्लाहकार नियुक्त गर्छ भने त्यो नीतिगत भ्रष्टाचार हो । यहाँ नैतिकता पनि जोडिएको हुन्छ । भ्रष्ट मानसिकता त्याग्नुपर्छ । भ्रष्ट मानसिकताले देश डुबाउँछ । अहिले भुकम्प पीडितको अवस्था पनि त्यस्तै । पुनर्निर्माणका लागि गरिएका काम कार्वाही पनि नीतिगत भ्रष्टाचारमा पर्छन् । पुनर्निर्माणमा यत्रा कर्मचारी नियुक्त भएका छन् । काम भएको छैन । यो नीतिगत भ्रष्टाचार हो । नीतिगत भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्छ । 
 
तपाई टीआइको पूर्व अध्यक्ष । के गर्छ यो संस्थाले ? 
यो संस्थाले नागरिकमा जागरुकता ल्याउने काम गर्छ । भ्रष्टाचार के हो भन्नेबारे चेतना दिन्छ । नियन्त्रणका लागि सरकारलाई झक्झक्याउँछ । सरकारलाई भ्रष्टाचार नियन्त्रणको विषय पनि प्राथमिकतामा पार्न लगाउँछ । तर अहिलेसम्म त्यो माहोल नै बनेन । 
 
के नेपालमा भ्रष्टाचार अन्त्य होला ? 
हुन सक्छ । नेताहरु प्रतिवद्ध भए भने सम्भव छ । हुनुपर्छ । नत्र देश एक दिन बर्बाद हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ