arrow

उपचारमा चरम लापरबाही

logo
प्रकाशित २०७३ मंसिर २५ शनिबार
birami.jpeg
काठमाडौ । स्तरीय र सुरक्षित उपचारका लागि आफ्नो आर्थिक हैसियतबाहिर गएर सुविधासम्पन्न तथा महँगा अस्पतालमा जानेको संख्या बढ्दो छ । रोगबाट मुक्तिको त्यो चाहनामा चिकित्सक भगवान् र अस्पताल एकमात्र आस्थाको केन्द्र बन्न जान्छ, बिरामी र उनका परिवारका लागि । तर लापरबाहीयुक्त उपचारको घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ । त्यही क्रममा कति अपांगताको सिकार हुन पुगेका छन् भने केहीको मृत्युसमेत भएको छ ।
 
बुटवलका ३० वर्षीय सुदिव बिष्टको धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएपछि अस्पतालको लापरबाहीले ज्यान गएको आरोपसहित उनको परिवारले मुद्दा हालेको छ, जिल्ला प्रशासन कार्यालयमा, १० करोड रुपैयाँको क्षतिपूर्ति माग्दै ।उपभोक्त हित संरक्षण मञ्चको कानुनी सहायतामा उक्त परिवारले बिष्टको उपचार प्रक्रियामा लापरबाही गर्ने चिकित्सक र अस्पतालविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । अचानक छाती दुखेपछि हृदयाघातको आशंकासहित गत कात्तिक ७ गते दिउँसो साढे ३ बजे अस्पतालमा भर्ना भएका बिष्टलाई चिकित्सकले जाँच गरी साँझ करिब ७ बजे आईसीयूमा भर्ना गरेका थिए । अस्पतालले हृदयरोग विशेषज्ञबाट बिष्टको उपचार हुने विश्वास दिलाए पनि त्यसो नहुँदा उनको ज्यान गएको परिवारको दाबी छ ।
 
बिष्टकी आमा चूडाकुमारी उच्च रक्तचाप नियन्त्रणको औषधि खाइरहेको छोरालाई हृदयाघात भएको हुन सक्ने संकेत गर्दा पनि चिकित्सकले ग्यास्ट्रिकको उपचार गर्नु, स्वास्थ्य अवस्थाबारे समयमै सही सूचना नदिनु र मृत्युबारे रिपोर्ट लुकाउन खोज्नुलाई अस्पतालको लापरबाही भएको बताउँछिन् ।
 
चिकित्सकीय लापरवाहीका दुई सय भन्दा बढी उजुरी उपभोक्ता हित संरक्षण मञ्चमा परेका छन् । ती मध्ये थोरैले मात्रै न्याय पाएका छन् । 
‘हाम्रोजस्तो पीडा अन्य परिवारले भोग्न नपरोस् भनेर पनि हामीले दोषीलाई सजाय मागेका हौं', उनले भनिन् । उनका अनुसार अघिल्लो दिन दिउँसो साढे ३ बजे अस्पताल भर्ना गरिएका सुदिवलाई भोलिपल्ट बिहान ८ बजे मात्रै हृदयरोग विशेषज्ञ आएर जाँच गरेका थिए, त्यतिन्जेल सुदिवको अवस्था नाजुक भइसकेको थियो । उपचारमा खर्च भएको ९४ हजार रुपैयाँ लिइसकेपछि सुदिवलाई मृत घोषणा गरेको परिवारको दाबी छ ।
 
अस्पताल भने बिष्टको उपचारमा कुनै लापरबाही नभएको र उजुरीविरुद्ध आफू पनि लड्न तयार भएको बताउँछ । ‘आफ्नै अस्पतालमा त्यस्तो घटना हुँदा हामी पनि दुखी छौं । चिकित्साविज्ञानमा सबै कुरा अनुमान गरिएअनुसार नहुन पनि सक्छ ।
उहाँलाई बचाउन उपचारमा खटिएका चिकित्सकले सक्दो प्रयास गर्नुभएको थियो', अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले अन्नपूर्णसँग भने, ‘तर हृदयाघातको लक्षण नभए पनि अस्पतालले एन्जियोग्राम गरेको भए मृतकका परिवार सन्तुष्ट हुने थिए जुन नगरिनु हाम्रो कमजोरी हो, त्यसलाई हामीले स्वीकार गरिसकेका छौं ।'
 
यो एक्लो घटना होइन । यस्तो दोष खेपेको अस्पताल ग्रान्डी मात्र पनि होइन । खानामा अरुचिसँगै टाउको दुख्न थालेपछि ललितपुरको बीएन्डबी अस्पताल पुगेकी इन्द्रकुमारी राईले त्यहाँका चिकित्सकले सिफारिस गरेको औषधि प्रयोग गर्दा आफ्नो अनुहार र शरीर कुरूप भएको भन्दै उक्त अस्पतालविरुद्ध एक करोड क्षतिपूर्ति मागसहित जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएकी छन् ।
 
अस्पतालका चिकित्सक कृष्णप्रसाद शर्मा र फार्मेसीविरुद्ध उजुरी दिएकी राईले उक्त अस्पतालले उपचारबापत १७ लाख ५८ हजार नौ सय ७० रुपैयाँ लिएको तर सही उपचार नगरेको आरोप लगाइएको छ । ‘रोगको पहिचानै नगरी अनुमानका आधारमा डाक्टरले औषधि दिएछन् । त्यसले पूरै शरीर कुरूप हुने गरी छाला बिगारेको छ,' राईका पति अञ्चलले भने, ‘पाटन अस्पतालबाट औषधि गलत हुँदा त्यस्तो असर भएको पुष्टिसमेत भएको छ ।'
उनको उपचारमा संलग्न भनिएका चिकित्सक कृष्णप्रसाद शर्मा भने राईको उपचारमा आफ्नो त्रुटि नरहेको दाबी गर्छन् । ‘राईको रोगअनुसार उपचार धेरैजना चिकित्सकबाट भएको छ । सबैजनाले चिकित्साविज्ञानको सिद्धान्तअनुसार उपचार गर्नुभएको हो', उनले भने, ‘उहाँहरूलाई चित्त नबुझे विरोध जनाउने अधिकार छ । उक्त घटना छानबिन गर्दा हामीलाई कुनै आपत्ति छैन ।'
 
यस्ता प्रकृतिका प्रतिनिधि घटना निजी अस्पतालमा ह्वात्तै बढेका छन् । यद्यपि सरकारी अस्पताल पनि त्यस्ता दोषबाट मुक्त छैनन् । जुम्ला अदालतका कर्मचारी देवीप्रसाद चौलागाईंले वीर अस्पताल आएर जाँच गर्दा मिर्गौलामा पत्थरी भएको पाइएको थियो । चिकित्सकले शल्यक्रिया गरे पनि पत्थर मिर्गौलामा छाडिदिएको भन्दै उनले वीरविरुद्ध १८ लाख रुपैयाँको क्षतिपूर्ति माग दाबीसहित सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।
 
 
चिकित्सकीय लापरबाहीका दुई सयभन्दा उजुरी उपभोक्त हित संरक्षण मञ्चमा परेका छन् । तीमध्ये थोरैले मात्रै न्याय पाएका छन् । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले आफूले सेवा दिन सक्ने हुँदाहुँदै निजी र महँगो ओम अस्पतालमा बिरामी बेचेको आरोप खेपेका छन् ।
घटनाको छानबिनपछि दुवै अस्पतालले संयुक्त रूपमा पीडित बिरामी वैकुण्ठ अधिकारीलाई ४२ लाख रुपैयाँ तिरेको तथ्य पुष्टि भएको छ ।
पाटन अस्पताल उपचारमा लापरबाहीबापत बिरामी दुर्गा घिमिरेलाई १५ लाख रुपैयाँ दिन बाध्य भएको छ ।
 
मञ्चका महासचिव एवं फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईंले निजी अस्पतालले गुणस्तरीय सेवाका नाममा बिरामीलाई ठगी खाने भाँडो बनाउन थालेको आरोप लगाए । ‘उपचारजस्तो संवेदनशील सेवा लिन आउने बिरामीले आफूमाथि शोषण र ठगी हुँदा पीडाबोध त गरेकै छन् ।
 
उनीहरूको जीवनसमेत धराममा पर्न थालेको छ । ‘तर पीडितले प्रतिकार गर्न नसक्दा यस्ता घटना झन् बढेका छन्', हुमागार्इंले भने, ‘मर्काकाविरुद्ध तत्काल सुनुवाइ, कारबाही गर्ने नियामक निकाय नहुनु र स्थापित निकाय पनि निष्क्रिय रहनुले पीडित बिरामीले न्याय पाउन सकेका छैनन् ।'
 
बिरामीको रोग पहिचानमै ढिलासुस्ती गर्नु, रोगअनुसारको उपचार प्रक्रिया अघि नबढाउनु, रोगबारे बिरामी र उनका आफन्तलाई पूर्ण जानकारी नदिनु, पैसाका लागि आफूले उपचार गर्न नसक्ने भए अयन्त्र रिफर नगरी जानीजानी बिरामीको जीवनलाई प्रयोगशाला बनाउने क्रम ठूला अस्पतालमा समेत बढेको छ ।
 
पैसाको लोभमा घटना छानबिन हुँदैन
चिकित्सकीय लापरबाही आरोप कति तथ्यमा आधारित र कति अतिशोक्तिपूर्ण छन्, त्यसको यथार्थ लेखाजोखा हुन सकेको छैन । उपचारका क्रममा कोही अंगभंग भएमा, रोग झन् बल्झिएमा वा कसैको मृत्यु हुनासाथ अस्पतालमा आफन्त तोडफोड र नाराबाजीमा उत्रने क्रम पनि त्यही अनुपातमा बढेका छन् । घटना साम्य पार्न अस्पताल घटनाबारे अनुसन्धान नगरी बिरामीका आफन्तलाई क्षतिपूर्ति दिन, उपचारमा लागेको शुल्क मिनाहा गर्न र मृतकका आफन्तलाई सहयोग गर्न हतारिन्छन् ।
 
नेपाल मेडिकल काउन्सिलजस्ता नियमन निकाय जतिसुकै ठूलो घटना भए पनि उजुरी नपरेसम्म छानबिन गर्न अघि सर्दैन । सुरु भएका छानबिन पनि बीचमै तुहिन्छन् । यता अस्पतालका लागि आरोपबारे छानबिन गराउनु भन्दा तत्काल आफ्नो प्रतिष्ठा जोगाउनु ठूलो प्राथमिकता बन्न जान्छ ।
 
‘मिडिया, खासगरी टेलिभिजनले बिरामीका परिवारको एकतर्फी आरोपका आधारमा तत्काल समाचार प्रवाह गर्दा अस्पताल बधशालाका रूपमा चित्रित हुन थालेका छन् । राम्रा चिकित्सकको छवि ध्वस्त भएको छ', एकजना नाम चलेका चिकित्सकले अन्नपूर्णसँग भने ।उपचारका क्रममा लापरबाही हुँदा आफन्तको ज्यान गएको भन्दै आन्दोलन चर्काउनेलाई लाखौं रुपैयाँ क्षतिपूर्ति दिएका दर्जनौं अस्पताल छन् । यस्ता घटना काठमाडौंमा मात्र सीमित छैनन् । शल्यक्रियापछि मृत्यु भएकी स्थानीय निर्मला श्रेष्ठको परिवारलाई तनहुँको लक्ष्मी अस्पतालले ५० लाख रुपैयाँ क्षतिपूर्ति दियो । तर चिकित्सक वा अस्पतालको गल्ती नभएको दाबी उनको छ ।
 
‘गल्ती नभए क्षतिपूर्ति किन दिन्छ अस्पतालले ? ' उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘भीडलाई शान्त बनाउन तत्कालै फाइदा पुग्ला तर त्यो दीर्घकालीन समाधानको उपाय होइन ।'भक्तपुरस्थित नागरिक अस्पतालमा केही महिनाअघि उपचारका लागि आएका सिन्धुलीकी मीना विश्वकर्माको ज्यान गएपछि विरोधमा उत्रिएका उनका आफन्तलाई अस्पतालले दुई लाख रुपैयाँ दियो ।
पेट दुखेर अस्पताल पुर्‍याएका पाँच घन्टासम्म नदुख्ने औषधि तेब्बर डोज दिएर चिकित्सक आउँदैछन् भन्दै रोकेका कारण उनको मृत्यु भएको आफन्तले दाबी गरेका थिए । तर घटना अनुसन्धान गर्न छाडी अस्पतालले रकम दिने प्रतिबद्धता जनाएपछि आफन्त पनि चुप भए ।
मृत्युबाट परिवारले नाफा कमायो र छानबिन दबाउन सहयोगी बन्यो । ‘कतिपय अस्पताल र त्यहाँ आबद्ध चिकित्सकको लापरबाही भएको हुन सक्छ । कतिपयले गल्ती नगरेका पनि हुन सक्छन् ।
 
मृतकका आफन्त तोडफोडमा उत्रिन थालेपछि अस्पतालमा थप क्षति पुग्ला या आफ्नो साख गिर्ला भन्ने डरमा पनि घटनालाई थम्थमाउन जति मागिन्छ त्यति रकम दिने चलन बढेको छ', एक अस्पताल सञ्चालकले भने, ‘यस्ता घटनाको सत्यतथ्य अनुसन्धान हुन सके मृतकका आफन्तको पनि चित्त बुभ्mथ्यो र हामी पनि सुरक्षित रहन सक्थ्यौं ।'
 
यसै साता भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्रसूति सेवाका लागि आएकी २५ वर्षीया सुनिता गुरुङको मृत्यु भएपछि आफन्त तोडफोडमा उत्रिए । तोडफोड नियन्त्रणमा खटिएका तीनजना प्रहरीसमेत घाइते भए । कलेजले एक्लामेसिया ‘उच्च रक्तचाप कारण उत्पन्न हुने समस्या' कारण गुरङको मृत्यु भएको स्पष्टीकरण दियो । उक्त समस्याबारे पहिल्यै महिलाका आफन्तलाई पूर्ण जानकारी दिएको भए सम्भवतः असमझदारी र तनावले त्यो रूप लिने थिएन ।
 
क्षतिपूर्ति माग्न गिरोह सक्रिय
अस्पतालमा हुने जुनसुकै मृत्युलाई पनि चिकित्सकको लापरबाहीको नाम दिएर शक्तिका साथ मैदानमा उत्रने र न्यायका लागि भन्दा पनि क्षतिपूर्तिका भिड्ने गिरोह पनि सक्रिय छ । पेसेवर गिरोहले अस्पताललाई नाफाका लागि निसाना बनाएको आरोप लगाउँछन् केही निजी अस्पतालका सञ्चालक नाम नबताउने सर्तमा ।
 
डरका कारण गल्ती नभए पनि कतिपय अस्पतालले तत्कालै क्षतिपूर्ति दिन्छन् । गल्ती गर्ने अस्पताल र चिकित्सक भने खुलेआम काम गरिरहेका छन् । चिकित्सकीय लापरबाहीका त्यस्ता घटनाको निक्र्योल नभई टुंग्याइएका छन् ।त्रासमा क्षतिपूर्ति दिने चलनले नेपाली स्वास्थ्य क्षेत्र सुधारका लागि ठूलो चुनौती थपिएको नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसी बताउँछन् । ‘यस्ता घटना अनुसन्धान गर्न भरपर्दो कानुन बन्नुपर्छ र त्यसका आधारमा स्वतन्त्र निकायले अनुसन्धान गर्नुपर्छ । दोषी भेटिए अस्पताल, चिकित्सक वा बिरामीका आफन्त सबैलाई कारबाही हुनुपर्छ । (अन्नपुर्ण पोष्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ