arrow

प्रहरी बिटमा स्थानीयको आक्रमण : ‘घुसपैठ गर्नेले रिस पोखे’

मदिरा बेच्न नदिएको झोंक

logo
प्रकाशित २०७३ मंसिर २६ आइतबार
Police--Jorpati-Police--news.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिका –१३ नयाँबस्तीमा रहेको प्रहरी बिटमा स्थानीयले अन्धाधुन्द आक्रमण गर्दा सई सन्दीप नापितसहित ४ जना प्रहरी घाइते  भएका छन् ।

स्थानीयले प्रहरी बिटमा तोडफोड र बिट परिसरमा आगजनी समेत गरेका छन् । आक्रमणमा उत्रिएका मध्ये प्रहरीले २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई गौशाला बृत्तमा राखिएको बताइएको छ ।

कार्कीका अनुसार घाइते प्रहरीको अवस्था सामान्य छ । उनले भने, ‘बिटमा तोडफोड र आगजनी बढी नै भएको छ । तोडफोडमा उत्रिएकाहरुलाई तित्तरवित्तर पार्न प्रहरीले रबरका ६ बुलेट फायर गरेको हो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

ट्याक्सी चालक राजकुमार लामाको मृत्युको विषयलाई लिएर स्थानीयले प्रहरीमाथि रिस पोखेका हुन् । राजकुमार नजिकैको संगीता राईको रेष्टुरेन्ट अगाडि बेहोस अवस्थामा लडेको देखेपछि आफन्तहरुले नै अस्पताल लगेको र अस्पतालमा उनको मृत्यु भएको कार्कीले बताए ।

दोलखाका तामाङ मापसे गरेर अचेत अवस्थामा लडेको अवस्थामा आफन्तहरुले नै भेटेका थिए, कार्कीले भने, ‘उनले चलाउने ट्याक्सी नयाँबस्तीको फुटसल नजिक ठोक्किएको अवस्थामा सडकमै थियो । तामाङलाई बेहोस अवस्थामा भेटेपछि आफन्तले नै नेपाल मेडिकल कलेज अत्तरखेल लगे । अस्पताल लगिए लगत्तै उनको मृत्यु भएको थाहा भयो ।’

परिसर प्रवक्ता कार्कीले भने, ‘रेस्टुराँ सञ्चालक र प्रहरीको मिलेमतोमा कुटाइका कारण चालकको मृत्यु भएको भन्ने हल्ला फैलाइयो, तर प्रहरीको यसमा संलग्नता छैन । मृतक राजकुमारकी पत्नी र सालीले उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा नै चालक लामाको मृत्यु भएको समेत कार्कीले बताए ।

राजकुमारलाई प्रहरीले पक्राउ गरेको होइन कार्कीले भने, ‘स्थानीयले नजिकैको रेष्टुरेन्टवालाले कुटपीट गरेर वेहोस पार्दासम्म प्रहरी के हेरेर बसेको थियो भनि आक्रोश पोखेका हुन् । प्रहरीसँग अन्य कुनै रिस पनि होला । अहिले आक्षेप लगाउन मिल्दैन ।

उनीहरुको मान्छेको मृत्यु भएको छ ।’ चालकको मृत्यु र घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण चाँडै खुल्छ । यद्यपि, सो क्षेत्रमा प्रहरीले राति ८ बजेपछि मदिरा विक्रिवितरण गर्न नदिएका कारण राजकुमारको मृत्युको न्यू पारी घुसपैठमा प्रहरी बिट तोडफोड गरेको समेत खुल्न आएको छ ।

स्थानीयले संगीता राईको रेष्टुराँमा पनि तोडफोड गरेका छन् । आक्रोशित भीडले प्रहरी बीटको पार्किङमा रहेको प्रहरीकै चार मोटरसाइकलमा आगजनी गरिदिएका छन् । बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नम्बरको मोटरसाइकलमा आगजनी गरेको र बिटमा समेत ढुङ्गामुढा प्रहार गरी बिट क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ ।

यस्तै, बिटमा रहेका प्रहरीमाथि पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेका बताइएको छ । अन्धाधुन्द आक्रमण सुरु भएपछि केही प्रहरी जवानले झ्यालबाट फाल हालेका थिए । स्थानीयको आक्रमणपछि थप प्रहरी घटनास्थल पुग्न ढिलाई हुँदा क्षति बढी भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ