arrow

देउवाले भने– ‘ओली सहमत हुनु भो, अब क्यालेन्डर बनाएर तीनै तहको चुनाव’

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
deuba-new-voice-aaja.jpeg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्रै तीन तहको निर्वाचन गराइने बताएका छन् । काँग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी सङ्घले सोमबार काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले भने, ‘निर्वाचन नभएर देश पछाडि परिसक्यो । देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुन्छ । चुनाव रोकिँदैन ।’


चुनाव छिटो गर्नुपर्छ भन्नेमा एमाले पनि सहमत रहेको भन्दै सभापति शेरबहादुर देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरे । एमाले निर्वाचनको पक्षमा रहेको र एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको देउवाले सुनाए । देउवाले भने, ‘उहाँ (ओली) चुनावका लागि तयार हुनु भएको छ । राष्ट्रिय सहमति हुनसक्छ । त्यसैले अहिलेकै संरचनामा चुनाव गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधन विधेयकप्रति असन्तुष्ट राखेर एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाए । देउवाले थपे, ‘पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ? ।’ नेविसङ्घ बलियो भए मात्र मुलुक बलियो हुने भन्दै देउवाले आगामी स्ववियुको निर्वाचनमा नेविसङ्घलाई जिताउन सबै विद्यार्थी एक भएर लाग्न निर्देशन दिए ।

संशोधनको विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी आउनु दुःखद : शशांक
काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी आउनु दुःखद भएको बताए ।

महामन्त्री कोइरालाले सबै दललाई मिलाएर राष्ट्रिय सहमतिका साथ मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । महामन्त्री कोइरालाले भने, ‘नेपाली जनताको लामो त्याग र बलिदानपछि संविधान निर्माण भएको छ । यसलाई गुम्न दिनुहुँदैन ।’

प्रकाशमानले के भने ?
पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नेपाली काँग्रेसकै अग्रसरतामा हुने बताए । नेता सिंहले पार्टीमाथि प्रतिबन्ध रहेका बेलासमेत नेविसङ्घले पार्टीको भूमिका खेलेको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि अहिले नेविसङ्घले दबाब सिर्जना गर्नुुपर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री प्रकाशशरण महतले संविधान संशोधन दलहरुको साझा एजेन्डा भएको बताउँदै क्षणिक फाइदाका लागि एमालेले संविधान संशोधन गर्न हुँदैन भनी अनर्गल प्रचार गरिरहेको आरोप लगाए । केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सडकमा बसेर राष्ट्रियताको कुरा गर्दैमा राष्ट्रियता बलियो नहुने बताए ।

अर्का केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एमालेले आफ्नो सरकार रहेका बेला संविधान संशोधन र कार्यान्वयनका कुनै चासो नदिएको तर अर्को सरकारले काम गर्न खोज्दा अनावश्यक भाँजो हालेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ